राजनीति सम्भावनाको खेल हो, गल्ती कमजोरी बिर्सेर संवाद हुनुपर्छ : सुवास नेम्वाङ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राजनीति सम्भावनाको खेल हो, गल्ती कमजोरी बिर्सेर संवाद हुनुपर्छ : सुवास नेम्वाङ


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत विषयमा सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन्। 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनादेशअनुरूप टुङ्गोमा पुग्न विगतका सबै गल्ती कमजोरीलाई बिर्सेर सबै राजनीतिक दलसँग संवाद र छलफल सुरु गरेको बताए। 

राजनीति भनेको सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट विषय उठिरहेको उल्लेख गर्दै उनले सबै दलले एकअर्कामा पानी बाराबार गरेर अघि बढ्ने स्थिति अहिले नभएको बताए। 

‘अब त्यो चरण सकियो। हिजो कहीँकतै त्यस्तो भएको रहेछ भने पनि त्यो गल्ती कमीकमजोरी हो, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ,’ उनले भने।

उनले एमालेबाट विभाजन भई गठन भएका नेकपा (एकीकृत समाजवादी) सँग पनि सहकार्य हुनसक्ने सङ्केत गरे। 

प्रत्यक्षतर्फ काँग्रेस अगाडि भए पनि निर्वाचनको हालसम्मको परिणामले लोकप्रिय मत आफ्नो पार्टीलाई प्राप्त भएको जनाउँदै उनले हालको राजनीतिलाई सुझबुझपूर्ण ढङ्गबाट अघि लैजान जिम्मेवारीपूर्वक सबैसँग छलफल र सल्लाह गर्ने बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस