वामपन्थीलाई मिलाएर एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्छ : पृथ्वीसुब्बा गुरुङ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वामपन्थीलाई मिलाएर एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्छ : पृथ्वीसुब्बा गुरुङ


१६ मंसिर २०७९, शुक्रबार


 काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्ने बताएका छन् । 

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा आफूलाई बधाई दिन प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपमहासचिव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहल गर्नुपर्ने बताए ।

उनले सत्तारूढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिहरूलाई एकजुट बनाउँदै एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्ने बताए ।

मुलुकमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, मुलुकको स्वाधिनतामाथि धावा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्ने उनको तर्क छ ।

उनले सङ्घ र सातवटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियतमा रहेको दाबीसमेत गरे । तर, त्यसका लागि पार्टीले दिनरात खटेर पहल गर्नुपर्ने उनको भनाइ छ । 

‘प्रधानमन्त्री को होला, त्यो बेग्लै कुरा हो । तर हामीले सकारात्मक सोच भएका शक्तिहरूबीच सरकार बनाउनुपर्छ । यो दक्षिणपन्थी गठबन्धनलाई तोडिएन भने मुलुकमाथि आइरहेका जोखिमका कुराहरू, राष्ट्रिय स्वाधिनतामाथि धावा बोलिरहेको जुन स्थिति हो, यसको हामीले अन्त्य गर्न सक्दैनौँ । त्यसकारणले राष्ट्रिय स्वाधीनताका पक्षधर शक्तिहरू सबैलाई हामीले एकजुट बनाउनुपर्दछ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस