प्राधिकरणले व्यवसाय घटाएर खर्च बढाइदियो : निगम « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

प्राधिकरणले व्यवसाय घटाएर खर्च बढाइदियो : निगम


६ मंसिर २०७९, मंगलबार


नेपाल वायुसेवा निगम

काठमाडौँ । नेपाल वायुसेवा निगमले आफ्नो नियामक निकायका कारण व्यवसाय खुम्च्याउन बाध्य हुनुपरेको बताएको छ । वायुसेवा क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडान कटौती गर्न लगाएको कारण आफ्नो व्यवसाय खुम्चिएको निगमको भनाई छ ।

निगमले एक विज्ञप्ति जारी गर्दै प्राधिकरण विरुद्ध आफ्नो धारणा राखेको हो । निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हाल विभिन्न १० वटा गन्तव्यहरूमा उडान सञ्चालन गर्दै आएको छ । उक्त गन्तव्यहरूमध्ये भारतको नयाँ दिल्लीमा विगत लामो समयदेखि नियमित रूपमा दैनिक दुुईवटा उडान सञ्चालन गर्दै आएको छ । उक्त उडान निगमको व्यावसायिक दृष्टिकोणले मात्र महत्त्वपूर्ण नभई नेपालीलाई स्वास्थ्य उपचार, उच्च शिक्षा आर्जन, व्यवसाय प्रवर्द्धन तथा अन्य मुलुक प्रस्थानको लागि समेत महत्त्वपूर्ण गन्तव्यको रूपमा रहेको निगमको भनाई छ ।

निगमले गत १५ सेप्टेम्बरमा दिल्लीको लागि १४, दोहा, मलेसिया र दुबईका लागि सात/सात र रियादको लागि ६, मुम्बई, बैंग्लोर, हङकङ, बैंकक र नारिताको ३/३ गरी प्रतिहप्ता जम्मा ५६ वटा उडान तालिका प्राधिकरणमा स्वीकृतिको लागि पेस गरेको जानकारी दिएको छ । तर, प्राधिकरणले २३ अक्टोबरमा पत्र पठाउँदै उडान प्रतिहप्ता ४२ वटा मात्र स्वीकृत भई १४ वटा उडान कटौती भएको जानकारी दिएको थियो । हिस्टोरिकल स्लटको रूपमा सञ्चालन हुँदै आएको काठमाडौँ-दिल्ली-काठमाडौँ सेक्टरको साप्ताहिक १४ उडानमध्ये १० वटा उडान मात्र स्वीकृत भएको थियो ।

‘उक्त सेक्टरको उडान रद्द हुँदा निगमको आम्दानीमा सङ्कुचन हुनुकासाथै रद्द भएको उडानको यात्रुहरूलाई रिरुटिङ गर्दा त्यसबाट अतिरिक्त लागतको भारसमेत निगमले व्यहोर्नु परेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणको निर्देश अनुसार निगम व्यवस्थापनले निर्णय गरी सञ्चालक समितिको समेत स्वीकृति पश्चात् हप्ताको ४ वटा फ्लाइट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा (काठमाडौँ-दिल्ली-भैरहवा-काठमाडौँ) उडान गर्ने गरी स्वीकृतिको लागि प्राधिकरणमा पठाइसकिएको निगमले जानकारी दिएको छ । निगमको कटौती भएको उडान हिस्टोरिक स्लट/फ्लाइट पर्मिसन अनुसार नै यथावत सञ्चालन गर्ने र आवश्यकता अनुसार अन्य गन्तव्यमा उडान थप गर्नसमेत मन्त्रालय र प्राधिकरणलाई अनुरोध निगमको भनाई छ ।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको स्थापनाकालदेखि नै आफ्नो र अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई ग्राउण्ड ह्याण्डलिङ गर्दै आएको छ । निगमसँग ग्राउण्ड ह्याण्डलिङ कार्यमा लामो समयसम्मको व्यवस्थापकीय अनुभव, सोही अनुसारको दक्ष जनशक्ति र आवश्यक प्राविधिक र स्रोत साधनको उपलब्धता छ । निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा  अन्तर्राष्ट्रियस्तरको रहेकोले तथा आन्तरिक वायुसेवाको भूमिस्थ सेवासमेत गर्न सक्षम भएको भन्दै निगमले सो जिम्मेवारी पनि प्रदान गर्न प्राधिकरणसँग अनुरोध गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्य गर्दै आएको निगमले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्यसमेत निगमलाई नै प्रदान गर्न अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस