दार्चुला छाङरु र तिंकरको मतदान सदरमुकाम खलङ्गामा हुने, कर्मचारीसमेत परिचालन  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दार्चुला छाङरु र तिंकरको मतदान सदरमुकाम खलङ्गामा हुने, कर्मचारीसमेत परिचालन 


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका-१ छाङरु र तिंकरको मतदान सदरमुकाम खलङ्गामै हुने भएको छ। व्यासमा अहिले चिसो बढेका कारण जिल्ला सदरमुकाम खलङ्गाबाटै मतदान गर्ने गरी तयारी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

उनीहरूकै आग्रहमा वडा कार्यालयको सिफारिसका आधारमा निर्वाचन आयोगबाट अनुमति मागेर खलङ्गामै मतदान गर्ने व्यवस्था गरिएको प्रजिअ उपाध्यायले बताए।

छाङरुको मतदान केन्द्रमा तीन सय ८३ र तिंकरको केन्द्रमा दुई सय ३४ जना मतदाताले आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मताधिकार प्रयोग गर्नेछन्।

तिंकरका मतदाताले सदरमुकाम खलङ्गाको बंगाबगरमा रहेको मोती महिला सङ्घ आधारभूत विद्यालयमा मतदान गर्ने बताइएको छ भने छाङरुका मतदाताले कैलासपति आधारभूत विद्यालयमा मतदान गर्ने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।

वैशाख ३० गते भएको पालिका तहको चुनावमा यो क्षेत्रमा नेपाली भूमिबाट छाङरू र तिंकर जान बाटो नभएका कारण हेलिकोप्टरमार्फत चुनाव सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरू लगिएको थियो।

दार्चुलाका एक सय ४३ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन समेत गरिएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी चुनाव सामग्री बुझेर मतदान केन्द्रमा पुगेर तयारी गरिरहेका छन्।

दार्चुला जिल्लामा १४ वटा अति संवेदनशील, २३ वटा संवेदनशील र ७७ वटा सामान्य मतदान केन्द्र रहेको प्रजिअ उपाध्यायले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस