निर्वाचनको ४८ घण्टा अघिबाट चुनावी प्रचारप्रसारका गतिविधि गर्न नपाइने    « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

निर्वाचनको ४८ घण्टा अघिबाट चुनावी प्रचारप्रसारका गतिविधि गर्न नपाइने   


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । मंसिर ४ गते हुने निर्वाचनको ४८ घण्टा अघिबाट कुनैपनि किसिमका चुनावी प्रचारप्रसारका गतिविधि गर्न नपाइने भएको छ । 

निर्वाचन आयोगले ४८ घण्टा अघि अर्थात् मंसिर १ गते राति १२ बजेपछि कुनैपनि उम्मेदवार र राजनीतिक पार्टीहरूले निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि गर्न नपाइने जनाएको हो । 

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आयोगले आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरूलाई पुनः सचेत गराएको हो । अघिल्ला निर्वाचनहरूमा आयोगले मौन अवधि तोक्ने गरेपनि यसपटक मौन अवधि नरहेकाले सो अवधिको समयलाई स्थिर समयको रूपमा प्रयोगमा ल्याएको आयोगको भनाइ छ । 

‘निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि निर्वाचनसँग सम्बन्धित कुनैपनि कार्यक्रमहरू गर्न पाइँदैन। सम्पूर्ण कार्यक्रम निषेध गर्दछ,’ निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको भनाइ छ । उनले विगतमा मौन अवधि समेत भन्ने गरिए पनि त्यसको सट्टा शून्य समयभन्दा उपयुक्त हुने भएकाले ४८ घण्टाको समय भनेको स्थिर समय भनेर सम्बोधन गर्न उचित हुने बताए । 

‘मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरू निषेध हुन्छ । त्यो समयमा कुनैपनि प्रकारको प्रचारप्रसार वा यसलाई मत देऊ, यसलाई नदेऊ भनेर निर्वाचनको सन्दर्भमा स्थिर समयमा कुनै दलका नेतालाई भोट देऊ, नदेऊ भन्न पाइँदैन,’ आयुक्त भण्डारीले भने, ‘यदि कसैले प्रचारप्रसार गर्‍यो भने यो निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस