सचिव टेकनारायण पाण्डेको अनुभव : स्वास्थ्य उपचार र सङ्घर्ष « प्रशासन
Logo २१ माघ २०७९, शनिबार
   

सचिव टेकनारायण पाण्डेको अनुभव : स्वास्थ्य उपचार र सङ्घर्ष


२७ कार्तिक २०७९, आइतबार


काठमाडौँ । स्वास्थ्यको हिसाबले म आफूलाई सचेत नै मान्दछु। समय-समयमा सिङ्गो शरीरको स्वास्थ्य परीक्षण पनि गर्ने गरेको थिएँ। एक वर्ष र पाँच महिना पहिला नेपालकै विशिष्ट अस्पतालमा सिङ्गो शरीरको स्वास्थ्य परीक्षण गराउँदा सामान्य अवस्था नै थियो। पछिल्लो पटक परीक्षण र उपचारको लागि नेपाल प्रहरी अस्पताल उपयुक्त लाग्यो।

परीक्षणका क्रममा अरू सबै नर्मल देखियो। अल्ट्रा साउण्ड गर्दै गर्दा रेडियोलोजिष्ट डा. केदार खड्गीले बायाँ किड्नीमा केही शङ्का लागेपछि सिटी स्क्यान गराए। सिटी स्क्यान गरिसकेपछि उक्त शङ्का स्पष्ट भयो। अस्पतालको विशेषज्ञ समूहले यूरोलोजिष्टसँग परामर्श लिन सल्लाह दिए।

सेप्टेम्बर १७ मा अस्ट्रेलिया जाने र २७ मा फर्किने कार्यक्रम तय भइसकेकोमा ११ दिनको ढिलाइले केही हुँदैन जस्तो लाग्यो। फर्केपछि तत्काल उपचारमा लाग्ने सोचका साथ यात्रा निश्चित भयो।

फर्केपछि टिचिङ अस्पताल तथा ग्राण्डी अस्पतालका विज्ञ डा. भोजराज लुइँटेलसँग परामर्श भयो। उनले सम्भावित उपचार विधि बताए। दुई उपचार विधि रहेछन्। पहिलो, उनी आफैँले गर्ने उपचार विधि पेटमा १० सेन्टिमिटर काटेर हात नै छिराएर म्यानुअल्ली सिजरिङ गर्ने। यो विधि सुन्दा नै डरलाग्दो लाग्यो।

दोस्रो, उनी आफूलाई नै पर्‍यो भने पनि अवलम्बन गर्ने विधि रोबोटिक सर्जरीको विधि, जसको सफलताको दर पनि उच्च रहेको, निको पनि छिटो हुने हुँदा त्यसको लागि सिफारिस गरे।

डा। लुइँटेलसँगको परामर्श अनुसार दिल्ली जाने विचार गरेँ। घरमा सल्लाह गर्दा पनि जतिसक्दो छिटो दिल्ली जाने कुरा भयो र दसैँका दिन दिल्ली उडियो। दिल्ली पुगेर थप परीक्षण गर्दा पनि नेपालको परीक्षणसँग मेल खायो।

परीक्षणपश्चात् बिएलके म्याक्स अस्पतालका डा. भट्याल र डा. अंकुर आर्यसँग परामर्श भयो। डाक्टरहरूले यो स्टेजमा कसरी थाहा भयो भन्ने जिज्ञासा राखे। सामान्यतया कुनै लक्षणपश्चात् मात्र मानिसहरू परीक्षण गराउने र त्यो स्थितिमा रोगले जटिल अवस्था लिइसकेको हुने रहेछ। बिएलके म्याक्सका डाक्टरहरूले सिजरिङ र तत्पश्चातको निको हुने विषयमा आश्वस्त पारे। त्यही आश्वस्तताको आधारमा मंगलबार भर्ना भएर बुधवार सर्जरी भयो।

रोबोटिक सर्जरी भने पनि अपरेशनपश्चात् बल्ल बिरामी भएको अनुभूति भयो। होशमा आउँदा देब्रे हातमा तीनवटा र दायाँ हातमा एउटा एक्टेन्सन ट्यूब लगाइएको रहेछ। देब्रे हात त अचेत अवस्थामा थियो। आइतबारसम्मको अस्पताल बसाइ वास्तवमै जीवनमा बिरामीको रूपमा पहिलो तथा नौलो अनुभव थियो।

मंगलबार डाक्टरको फलो अप परामर्शपश्चात् सबै ठीकठाक छ भनेपछि बुधबार काठमाडौँ फर्किने तय भयो। बल्ल लाग्यो, ‘अब बाँचिन्छ।’

जीवन आफैँमा एउटा सङ्घर्ष हो। जन्म, सामान्य आयु जिउनु, रोगव्याधिबाट बाँच्नु र मृत्युको प्राप्ति समेत आफैँमा सङ्घर्ष नै रहेछ। जटिल प्रकृतिका रोग वा बिमार लागेमा त्यसको पहिचान, उपचार र निको हुनु हाम्रो सन्दर्भमा विशिष्ट सङ्घर्ष रहेछ। यही सङ्घर्षका बीचमा केही अनुभूति र अनुभवहरू हासिल भएका छन्, जुन सामयिक र प्रणाली सुधारका लागि समेत काम लाग्ने हुन सक्छन्।

स्वास्थ्य क्षेत्रको सुधार

अस्पताल स्थापना मात्रले गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति गर्दैनस गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुविधासम्पन्न भौतिक पूर्वाधार, दक्ष र सीपयुक्त जनशक्ति र आधुनिक, अद्यावधिक र प्रविधियुक्त उपकरण तथा प्रयोगशाला आवश्यक पर्दछ। आर्थिक रूपमा सम्पन्न व्यक्तिले महँगो लागतमा विदेशमा गएर उपचार गर्नुभन्दा आवश्यक पूर्वाधार, जनशक्ति र उपकरणले सुसज्जित अस्पताल बनाउन सकियो भने सर्वसाधारण पनि जटिल प्रकृतिका रोगबाट अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाबाट मुक्त हुनुको साथै स्रोत-साधन बाहिरिने समस्याबाट पनि छुटकारा मिल्छ।

गलत र कमजोर उपचारले बिमार र रोग घटाउने भन्दा झन् जटिलता बढाउने हुन्छ। पूर्वाधार, जनशक्ति र आधुनिक उपकरणको अभावमा हुने उपचार निको बनाउने भन्दा पनि थप बिमार बल्झाउने हुन्छ। तसर्थ जनताको स्वास्थ्य पहिलो प्राथमिकतामा राखेर अस्पतालको व्यवस्थापन हुनुपर्ने हुन्छ। प्रविधि र उपकरणले जनशक्तिको विशेषज्ञताका साथै विश्वसनीयता पनि वृद्धि गर्दछ। हाम्रो देशमा पनि विशिष्ट क्षमताका चिकित्सक छन्, तर उपकरणको पर्याप्त सहायता प्राप्त हुन नसक्दा जटिल उपचारमा उनीहरूप्रतिको विश्वास अभिवृद्धि हुनसकेको छैन।

मेडिकल हबको रूपमा विकास

दिल्लीमा उपचारको क्रममा धेरै विदेशी नागरिक उपचारको लागि आएको देखेँ। विशेषतः अफ्रिकी देशहरू, मध्यपूर्व र अरेबियन देशहरू, अफगानिस्तान तथा म्यान्मारबाट ठुलो संख्यामा मानिसहरू भारतीय अस्पतालमा उपचारका लागि आउने रहेछन्। नेपालमा पनि विशिष्टीकृत अस्पतालहरू उपत्यका र उपत्यका बाहिरका विभिन्न प्रादेशिक केन्द्र र आसपास व्यवस्थापन गर्न सकियो भने नेपाललाई चिकित्सा शिक्षा र उपचारको हबको रूपमा विकास गर्न सकिने सम्भावना देखिन्छ।

स्वास्थ्य बीमा

भारतमा उपचारको क्रममा भारतीय नागरिकसँग अस्पतालले भुक्तानीको विषयमा कुरा गर्दा कुन बीमा कम्पनीको बीमा छ भनेर सोध्ने र त्यही अनुसार भुक्तानीको व्यवस्थापन गर्ने रहेछ। यसको मतलब सबै नागरिकको स्वास्थ्य बीमा गरेको छ, उपचार अभावमा कसैले पनि अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई सरकारले अन्त्य गरेको छ।

त्यही अभ्यासलाई नागरिक सरकार साझेदारीका रूपमा र निर्धन वा विपन्नहरूलाई सम्पूर्ण रूपमा राज्यले व्यहोर्ने गरी स्वास्थ्य बीमा अनिवार्य गर्नुपर्ने सिकाइ प्राप्त भयो। जटिल र महँगो उपचार खर्च लाग्ने रोग वा बिमारको कारण जनताको घरबास उठिबास लाग्ने र ज्यान पनि नरहने अवस्थाको अन्त्य अनिवार्य छ।

भारत उपचार गर्दाका व्यावहारिक पक्ष

आफ्नो देशमा भरपर्दो उपचार नभएपछि गम्भीर अवस्थामा ज्यान बचाउन ऋण-धन गरेर भए पनि छिमेकी भारतमा उपचारको लागि जानुपर्ने बाध्यता नेपालीलाई अहिले पनि छ।

भाषिक, खानपान, आवतजावतलगायतका विषयमा नेपालीलाई भारतमा खासै समस्या नहुने भए पनि समग्र विषयमा सहयोग र सहजीकरण गर्ने कोही आफन्त वा सहयोगी भएमा सजिलो हुन्छ। भारतमा २५ हजारभन्दा बढी नगदमा भुक्तानी गर्न नमिल्ने र त्योभन्दा बढीको भुक्तानीको लागि अनलाइन बैंकिंग ट्रान्सफर, कार्डबाट भुक्तानी वा डलरबाट भुक्तानीको विकल्प रहेको हुँदा सोही अनुरूपको व्यवस्थापन गरेर जाँदा सहज हुन्छ।

बजारमा अर्कै चर्चा

उपचारको आकस्मिकताका कारण मुख्य सचिवलाई जानकारी गराएर दसैँको दिनमा दिल्ली जानुपर्ने अवस्था आयो। पछि अलि लामो समय लाग्ने भएपछि मुख्य सचिवलाई बिदाको लागि निवेदन समेत पठाएर उपचारमा लागेँ। सचिव आफ्नै उपचारको लागि जाँदा मुख्य सचिव बाहेक अरू कसैलाई जानकारी गराउनुपर्ने र अनुमति लिनुपर्ने निकाय छैन।

निजामती सेवाको २८ वर्षको अवधिमा कुनै पनि वर्ष नियमित पाइने बिदा समेत उपयोग नगरी कार्यालय, देश र जनताको सेवामा सेवारत रहेँ। त्यसको मूल्याङ्कन या त तत्तत् समयका निकटस्थ सुपरिवेक्षकलाई थाहा छ, या त भगवानलाई।

आफ्नो इमान, कर्म र धर्म सम्झेर जनता र देशको सेवाको भावनाले सेवा गर्ने हो भन्ने मूल ध्येयका साथ सेवारत रहँदा आफ्नो कर्म र धर्ममा सम्झौता हुने गरी कसैसँग नझुक्ने र कसैको निगाह नलिने गरी सेवारत रहन पाउँदा आफैंलाई विशिष्ट सन्तोष लाग्दछ।

प्रशासनिक वा राजनीतिक नेतृत्वको विवेकशून्यताको परिस्थितिलाई पनि सहज स्विकार्दा आफ्नो आदर्श जोगिन्छ भने त्यसमा नै आनन्द आउँछ। सेवा अवधिभर जनता र राष्ट्रको सर्वोत्तम हितमा निजामती आदर्शको कुनै कसर बाँकी नराखी राष्ट्रसेवामा समर्पित रहने मेरो प्रतिज्ञा छ। सेवामा रहँदाको सत्यता, निष्ठा र कर्तव्यपरायणता माथि कहिल्यै कसैबाट प्रश्न उठ्ने अवस्थाको सृजना हुन नदिने मेरो अठोट छ।

टेकनारायण पाण्डे उपराष्ट्रपति कार्यालयका सचिव हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस