अशोक राईलाई जिताए धरानको समग्र विकास हुन्छ : ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अशोक राईलाई जिताए धरानको समग्र विकास हुन्छ : ओली


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने बताएका छन् ।

एमाले-जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा आज सम्बोधन गर्दै उनले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने पनि प्रस्ट पारे ।

दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षड्यन्त्रस्वरूप स्वतन्त्र अभियान चलाइएको उनको भनाइ थियो । उनले यो अभियानलाई दलीय व्यवस्था विरोधी अभियानका रूपमा परिभाषित गरे । ओलीले भने, ‘यस्तो अभियानको भ्रममा पर्नु हुँदैन, अहिले साथीहरू कोही भ्रममा नपर्नु होला, नेकपा एमाले एउटा अनुशासित पार्टी हो, राजनीतिक पार्टी हो ।’

ओलीले पार्टी कार्यकर्तालाई मतपेटिकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन निर्देशन पनि दिए । उनले एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि पुनः सम्भावना सुरु भएको बताए । एमाले–जसपा तालमेलबाट सुनसरी १ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका राई एमालेमा हुँदा पटक–पटक मन्त्री भएको उल्लेख गर्दै ओलीले एमालेसँग मिल्दा मात्रै पनि आगामी सम्भावना सुरु भएको बताए ।

उनले अशोक राईलाई विजयी बनाएर पठाए धरानको समग्र विकास हुने उल्लेख गरे । उनले मंसिर ४ पछि बन्ने एमालेको सरकारमा अशोक राई पुनःमन्त्री बन्ने सङ्केत पनि गरे । ओलीले धरानको खानेपानीको दिगो व्यवस्थापनका लागि तीन वटा अवसर रहेको बताए । कोसी नदीमा पम्पिङ गर्ने, तमोरबाट लिफ्टिङ गर्ने र मेलम्ची जस्तो भूमिगत सुरुङ निर्माण गरी खानेपानीको दिगो व्यवस्थापन गर्ने । ओलीले मंसिर ४ पछि सर्भे सुरु गर्ने जानकारी दिए ।

अध्यक्ष ओलीले एमाले विचार, सङ्गठन, आन्दोलन र बलिदानको इतिहास बोकेर आएको पार्टी भएकाले यसलाई छलछाम गरेर धोका दिएर कसैले सिद्ध्याउँछु भन्ने ठान्यो भने त्यो सम्भव नहुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस