राप्रपा सत्तामा आएपछि भ्रष्टाचारीहरूमाथि डोजर चलाउने इच्छा छ : राजेन्द्र लिङदेन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राप्रपा सत्तामा आएपछि भ्रष्टाचारीहरूमाथि डोजर चलाउने इच्छा छ : राजेन्द्र लिङदेन


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरूमाथि डोजर चलाउने बताएका छन्।

शुक्रबार काठमाडौँमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरूमाथि डोजर चलाउने बताएका हुन्।

उनले काठमाडौँ उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरू माथि डोजर चलाउने इच्छा रहेको बताए। उनले एक नागरिक आयोग गठन गरी वि.सं.२०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्चपदस्थहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने बताए।

अध्यक्ष लिङदेनले भ्रष्टाचारको विरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गरे। उनले आफू संसदमा एक्लो भएकाले आगामी निर्वाचनबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह गरे। आफूले पाँच वर्ष संसदमा खेलेको भूमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारहरूलाई पनि जिताउन उनले आग्रह गरे।

अध्यक्ष लिङदेनले पुराना दलहरुलाई फेरीपनि मतदान गर्नु देशलाई बर्बाद गर्नु भएको टिप्पणी गरे। उनले काँग्रेस र कम्युनिस्ट मतदाताहरूलाई आफ्नो पार्टी नछाडेपनि मत भने राप्रपालाई दिनका लागि आग्रह गरे। उनले काठमाडौं र धरानको स्थानीय तहको मत परिणामजस्तै गरी राप्रपाको पक्षमा परिणाम आउनुपर्ने बताए। उनले बाकस खोल्दामात्रै थाहा हुनेगरी हलो चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।

उनले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व असफल भइसकेकाले व्यवस्था र नेतृत्व परिवर्तन गर्नुपर्ने बताए। ठूला राजनीतिक दलहरूको विकल्पको रूपमा राप्रपा रहेको उनको भनाई छ।

Tags :
प्रतिक्रिया दिनुहोस