ह्याट्रिक गर्ने तामाङको लक्ष्य, रोक्ने दाउमा बस्नेत, यस्तो छ अङ्कगणित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ह्याट्रिक गर्ने तामाङको लक्ष्य, रोक्ने दाउमा बस्नेत, यस्तो छ अङ्कगणित


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर-२ मा मुख्य रूपमा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुँदैछ । सो क्षेत्रमा कांग्रेसबाट मोहनबहादुर बस्नेत र एमालेका शेरबहादुर तामाङबीच हुने प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ । सो क्षेत्रमा आफ्नो बलियो उपस्थिति बनाएको एमालेका तामाङ ह्याट्रिक गर्ने दाउमा छन् भने क्षेत्र फेरेर पहिलो पटक सिन्धुपाल्चोक-२ मा चुनाव लड्दै गरेका काँग्रेसका बस्नेत भने तामाङको ह्याट्रिक रोक्ने दाउमा छन् ।

सो क्षेत्रमा एमालेको तर्फबाट तामाङ एक्लै चुनावी मैदानमा छन् भने बस्नेतलाई सत्ता गठबन्धनका दलहरूको समर्थन छ । बस्नेत माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीसहितको लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।

सिन्धुपाल्चोक-१ बाट चुनाव लड्दै आएका बस्नेत यस पटक पनि सोही क्षेत्रबाट उम्मेदवारका लागि दाबी गर्दै आएका थिए । तर, सोही क्षेत्रमा सत्ता गठबन्धनको साझा उम्मेदवार बन्न माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले आफ्नो दाबी कसे ।

सिट बाँडफाँटमा सिन्धुपाल्चोक-१ माओवादी केन्द्रको भागमा परेपछि बस्नेत काँग्रेसको कोटामा परेको सिन्धुपाल्चोक-२ बाट उम्मेदवार बनेका हुन् । पूर्वसभामुख सापकोटाले युवालाई अवसर दिने भन्दै चुनाव नलड्ने घोषणा गरेपछि माओवादी केन्द्रले सापकोटाका भतिज माधवप्रसाद सापकोटालाई सिन्धुपाल्चोक-१ मा उम्मेदवार बनाएको छ ।

यता लामो समय माओवादी केन्द्रको राजनीति गरेका र हालैमात्र एमाले प्रवेश गरेका चौतारा साँगाचोकगढीका अमानसिंह तामाङ सिन्धुपाल्चोक-२ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । गठबन्धनका तर्फबाट सो क्षेत्रमा माओवादीका युवराज दुलाल ‘शरद’ साझा उम्मेदवार छन् । दुलाल यसअघि २०७४ मा पनि यसै प्रदेशसभा क्षेत्रबाट निर्वाचित सांसद हुन् भने उनी तत्कालीन एमाले–माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारमा सामाजिक विकास मन्त्री भएका थिए ।

यस्तै सिन्धुपाल्चोक-२ (ख) बाट प्रदेशसभाका लागि एमालेले हस्तबहादुर पण्डितलाई उम्मेदवार बनाएको छ । पण्डित २०७४ को निर्वाचनमा हेलम्बु गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेसका निमा ग्याल्जेन शेर्पासँग पराजित भएका थिए । उता सत्ता गठबन्धनका तर्फबाट काँग्रेसले कृष्णकुमार तामाङलाई

सिन्धुपाल्चोक-२ बाट अहिलेसम्म काँग्रेसले जितेको छैन । सो क्षेत्रमा २०१५ साल यताका चुनावमा काँग्रेस पराजित भएको छ ।

गत निर्वाचनमा सिन्धुपाल्चोक-२ मा काँग्रेसको उम्मेदवार नै थिएन । काँग्रेसले राप्रपासँगको चुनावी तालमेलका कारण राप्रपाका पशुपति शमशेर राणालाई सघाएको थियो । राणा एमालेका शेरबहादुर तामाङसँग पराजित भएका थिए ।

आगामी निर्वाचनमा सो क्षेत्रमा बस्नेतले एमालेका बलियो उम्मेदवार तामाङको ह्याट्रिक रोकेर काँग्रेसको खाता खोल्नु पर्नेछ । तामाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रबाट एमालेका तामाङले २०७० र २०७४ को निर्वाचन जितिसकेका छन् ।

हालसम्म जित निकाल्न नसकेको काँग्रेसका लागि यस पटक गठबन्धनका सहयात्री दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ छ । तर, बस्नेतलाई गठबन्धनका दलहरूले इमानदारीपूर्वक सघाउँछन् कि सघाउँदैनन् भन्ने प्रश्न उत्तिकै महत्त्वपूर्ण छ । यस अतिरिक्त कांग्रेसभित्रकै विवादले चुनौती भने पक्कै छ ।

संस्थापन पक्षका नेता बस्नेतलाई संस्थापन इतर पक्षको वर्चस्व रहेको यस क्षेत्रमा सबै पक्षको विश्वास जित्नुपर्ने चुनौती छ । सो क्षेत्रमा माओवादी केन्द्र पनि विभाजित भएको छ । जसले गर्दा आगामी निर्वाचनमा बस्नेतलाई समस्या पर्न सक्ने अनुमान गरिएको छ ।

यता एमालेका तामाङ भने बलियो सङ्गठनको बलमा बस्नेतविरुद्ध चुनाव जित्ने दाबी गर्दै आएका छन् । तर, उनलाई पनि पहिलेजस्तो सहज भने छैन ।

गत निर्वाचनमा माओवादी केन्द्रको पनि साथ पाएर वाम गठबन्धनको सहयोगमा जितेका तामाङ यस पटक एक्लै छन् ।

उनी एक्लामात्र होइन, उनको पार्टी पनि सग्लो छैन । एमाले विभाजन भइसकेको छ । गत भदौमा एमाले विभाजन पछि केही प्रभावशाली नेता तथा कार्यकर्ता माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा आबद्ध भएका छन् । आगामी निर्वाचनमा ह्याट्रिक गर्ने दाउमा रहेका तामाङलाई एमाले विभाजन महँगो पर्न सक्छ ।

तामाङलाई चुनावमा समस्या पर्न सक्ने अर्को पक्ष भनेको एमालेभित्रको विवाद हो । सो क्षेत्रमा एमालेभित्र चर्को विवाद छ । तामाङले उक्त विवाद समाधान गर्न नसक्ने हो भने थप समस्या पर्ने निश्चित छ ।

काँग्रेस नेता बस्नेत २०४८ कै आम निर्वाचनमा सिन्धुपाल्चोक-१ मा चुनाव लडेका थिए । आगामी निर्वाचन उनको पाँचौँ प्रतिस्पर्धा हो । प्रतिस्पर्धा गरेका निर्वाचनमध्ये उनले एउटा चुनाव जित्ने र अर्को हार्ने गरेका छन् ।

सिन्धुपाल्चोक-१ बाट २०४८ को निर्वाचनमा एमालेका अमृतकुमार बोहरासँग पराजित भएका उनले २०५६ को निर्वाचन भने जिते । २०५१ को निर्वाचनमा भने उनले टिकट नै पाएनन् । २०५६ मा टिकट पाएका उनले एमालेका बोहरालाई नै पराजित गरे । यो नै उनको पहिलो जित थियो ।

राज्य व्यवस्था परिवर्तनपछि २०६४ मा भएको निर्वाचनमा उनी माओवादी केन्द्रका उम्मेदवार राजकुमार श्रेष्ठसँग पराजित भएका थिए । २०७० को निर्वाचनमा भने उनले सिन्धुपाल्चोक-१ बाट चुनाव जिते ।

उक्त निर्वाचनमा बस्नेतले एमालेका अरुणप्रसाद नेपाललाई पराजित गरेका थिए । सङ्घीयतापछि भएको पहिलो संसदीय निर्वाचनमा भने उनी पराजित भए । वाम गठबन्धनका कारण उनी माओवादी केन्द्रका अग्नि सापकोटासँग पराजित भएका थिए ।

यता सिन्धुपाल्चोक–२ बाट चुनाव लड्दै आएका तामाङ पनि २ पटक पराजित भएका छन् भने २ वटा चुनाव जितेका छन् । तामाङले प्रतिस्पर्धा गरेको सुरुवाती दुई चुनाव हारेका थिए । मालेबाट पहिलो पटक २०५६ को चुनाव लडेका तामाङ तत्कालीन सिन्धुपाल्चोक-३ बाट पराजित भएका थिए । त्यसपछि उनी एमालेमा आबद्ध भए । तामाङ २०६४ को निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बने तर जित्न सकेनन् ।

पछिल्ला दुई वटा चुनाव भने तामाङले जितेका छन् । तामाङले २०७० मा सिन्धुपाल्चोक-३ बाटै पहिलो पटक चुनाव जिते । त्यसपछि भने सिन्धुपाल्चोकमा २ वटा निर्वाचन क्षेत्र कायम भयो । २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा तामाङ विजयी भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस