कोरोना बिमाका बिमितले पहिलो चरणमा पौने २ अर्ब भुक्तानी पाउने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोरोना बिमाका बिमितले पहिलो चरणमा पौने २ अर्ब भुक्तानी पाउने


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । कोरोना बिमाका बिमितले पहिलो चरणमा पौने २ अर्ब रुपैयाँ भुक्तानी पाउने भएका छन् ।

सरकारले एक अर्ब रुपैयाँ निकासा गरिदिएपछि बिमा समिति, पुनर्बिमा कम्पनी र बिमा कम्पनीहरूले सङ्कलन गरेको थप ८१ अर्ब रुपैयाँसहित कुल १ अर्ब ८१ करोड रुपैयाँ बिमितलाई भुक्तानी दिन लागिएको हो ।

बिमा कम्पनीहरूले कोरोना बिमाको भुक्तानी रोकेको करिब डेढ वर्षपछि त्यसमा पनि भुक्तानी दिन बाँकी रकमको १७ प्रतिशत मात्रै चुक्ता गर्न लागेका छन् । बिमा कम्पनीहरूले २०७८ चैतदेखि कोरोना बिमाको दाबी भुक्तानी रोकेका थिए । कम्पनीहरूले करिब सवा लाख जना बिमितलाई करिब साढे १० अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । त्यसमध्ये पहिलो चरणमा पौने २ अर्ब रुपैयाँ वितरण गरिने र सरकारले थप रकम दिएसँगै चरणबद्ध रूपमा बाँकी रकम पनि भुक्तानी गर्दै जाने बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘उपलब्ध रकम तिहारअघि नै वितरण गरिसक्ने हाम्रो तयारी छ । वितरण प्रक्रियाबारे अर्थ मन्त्रालयसँग परामर्श लिन बाँकी छ । अर्थ मन्त्रालयको समय पाइएन भने तिहारपछि पनि हुन सक्छ,’ उनले भने, ‘बाँकी बिमितलाई पनि बिस्तारै रकम भुक्तानी गर्नेछौँ ।’

बाँकी रकम भुक्तानीका लागि बिमा समितिले दुई वटा विकल्प अर्थ मन्त्रालय पठाएको थियो । त्यसमध्ये दोस्रो विकल्पमा बाँकी भुक्तानी रकमको ५५ प्रतिशत सरकारले र बाँकी ४५ प्रतिशत बिमा समिति, पुनर्बिमा र बिमा कम्पनीले व्यहोर्ने भन्ने छ ।

त्यही विकल्पअनुसार सरकारले दिएको रकम (एक अर्ब रुपैयाँ) लाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत रकम समिति, पुनर्बिमा र बिमा कम्पनीहरूले सङ्कलन गरी पहिलो चरणमा करिब पौने २ अर्ब रुपैयाँ भुक्तानी गर्न लागिएको हो । जसअनुसार १२ प्रतिशत रकम नेपाल पुनर्बिमा कम्पनी, २५ प्रतिशत बिमा कम्पनीहरू र ८ प्रतिशत बिमा समितिले योगदान गरेका छन् ।

उक्त रकमले सबै बिमितलाई भुक्तानी दिन नपुग्ने भएकाले पहिलो चरणमा सरकारी कर्मचारी र संस्थाले बिमा गरिदिएका बिमितलाई भुक्तानी नगर्ने सहमति समिति र कम्पनीबिच भएको छ । यसको अर्थ पहिलो चरणमा सर्वसाधारण बिमितले भुक्तानी पाउनेछन् । तीमध्ये पनि सबैभन्दा पहिलो कोरोनाको दाबी पेस गर्ने बिमितलाई भुक्तानीमा प्राथमिकता दिने समितिले जनाएको छ ।

कोरोना बिमामा भुक्तानी गर्न बाँकी करिब साढे १० अर्ब रुपैयाँमध्ये करिब ४ अर्ब रुपैयाँ सरकारी कर्मचारीको मात्र छ । यस्तै, ‘फस्ट कम फस्ट सर्भिस’ (पहिले आउनेलाई भुक्तानी दिने) पद्धतिअनुसार पहिले आवेदन दिएकालाई पहिलो प्राथमिकता हुने गरी रकम भुक्तानीको व्यवस्था मिलाइने बिमा समितिका कार्यकारी निर्देशक पौडेलले बताए ।

२०७७ जेठमा बिमा समिति, बिमा कम्पनी, पुनर्बिमा कम्पनी र सरकारबिच भएको सहमतिअनुसार कुल दाबीमध्ये १ अर्ब रुपैयाँसम्मको बिमा कम्पनीहरूले नै भुक्तानी गर्नुपर्ने व्यवस्था छ । १ अर्बदेखि २ अर्ब रुपैयाँसम्मको पुनर्बिमा कम्पनी र २ अर्बदेखि साढे २ अर्ब रुपैयाँसम्मको बिमा कम्पनीहरूको महाविपत्ति कोषबाट बेहोरिने सहमति थियो ।

साढे २ अर्बदेखि साढे ३ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बिमा समिति र साढे ३ अर्ब रुपैयाँभन्दा माथिको दाबी भुक्तानी सरकारले बेहोर्ने सहमति छ । सहमतिअनुसार बिमा समिति, पुनर्बिमा कम्पनी र बिमा कम्पनीहरूले तिर्नुपर्ने दायित्व करिब साढे ३ अर्ब रुपैयाँ मात्र हो ।

मापदण्डअनुसार बिमा समिति, कम्पनी र पुनर्बिमा कम्पनीले भुक्तानी गर्नुपर्ने दायित्व सबै तिरिसकेका छन् । अब भुक्तानी गर्न बाँकी रहेको रकम सबै सरकारको दायित्व भएको बिमा समितिले जनाउँदै आएको छ ।

कोरोना बिमा दाबीबापतको करिब साढे १० अर्ब तथा सरकारी कर्मचारीको बिमा गरेबापतको शुल्क र अरू बिमितलाई बिमा शुल्कमा ५० प्रतिशत अनुदान दिएको रकम पनि जोड्दा सरकारले करिब साढे ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सरकारले कुल साढे ११ अर्ब रुपैयाँ भुक्तानी दिनुपर्नेमा १ अर्ब मात्र निकासा भएकाले उक्त रकम निल्नु न ओकल्नुभएको बिमा कम्पनीहरूले बताएका छन् ।

कोरोना बिमामा बिमितलाई भुक्तानी दिन उच्च अदालत तुलसीपुर र विराटनगरले परमादेश दिएका छन् । कोरोना बिमाबापतको रकम दिन विपक्षी बिमा कम्पनीका नाममा ती अदालतले परमादेश जारी गरेका हुन् ।

लामो समयसम्म भुक्तानी नपाएपछि विराटनगर, सुर्खेत, नेपालगन्जलगायत जिल्लामा बिमितले दाबी भुक्तानीको आदेश माग गर्दै रिट दर्ता गराएका थिए । तीमध्ये विराटनगर र नेपालगन्जमा परेको रिटको फैसला भएको हो । बाँकी जिल्लामा परेका रिट पनि फैसलाको प्रक्रियामा रहेको बताइएको छ ।

कोरोना बिमा लेखअन्तर्गत १७ लाख ५८ हजार ३ सय ४३ जनाले बिमा गरेका थिए । बिमा लेख बिक्रीबाट कम्पनीहरूले करिब १ अर्ब ५ करोड रुपैयाँ मात्र बिमा शुल्क सङ्कलन गरेका छन् । बिमा गरेकामध्ये १ लाख ६२ हजार ३ सय ४६ जनाले बिमा दाबी गरेका छन् । यो परेको कुल दाबी १५ अर्ब ३५ करोड ६८ लाख रुपैयाँ हो ।

परेको दाबीमध्ये ५० हजार ४ सय ४७ जनालाई ४ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । भुक्तानी भएको रकममध्ये बिमा पुलबाट ३ अर्ब ५० करोड रुपैयाँ र बिमा कम्पनीहरूबाट १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ भुक्तानी भएको छ ।

कोरोना संक्रमण जोखिम सुरक्षणका लागि भन्दै बिमा समितिले जारी गरेको निर्देशनअनुसार २०७७ वैशाख ७ देखि कम्पनीहरूले कोरोना बिमा लेख बिक्री थालेका थिए । गत असारदेखि बिमालेखको परिपक्व अवधि सकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस