एनपी साउद, रमेश लेखक बाजी मार्ने सम्भावना कति ? यस्तो छ अङ्कगणित ! « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एनपी साउद, रमेश लेखक बाजी मार्ने सम्भावना कति ? यस्तो छ अङ्कगणित !


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । कञ्चनपुरबाट लगातार संसदीय राजनीति गर्दै आएका नेपाली काँग्रेसका दुई नेता एनपी साउद र रमेश लेखक ०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारसँग पराजित भए । साउद नेकपा (एमाले)का नेता नरबहादुर धामीसँग हारेका थिए । लेखक एमालेकै दीपकप्रकाश भट्टसँग पराजित भएका थिए ।

यो पटक साउदसँग पुरानै प्रतिद्वन्द्वी धामी दोहोरिएका छन् । लेखकसँग नयाँ प्रतिद्वन्द्वी छन् । लेखकसँग एमाले नेत्री निरुदेवी पाल प्रतिस्पर्धामा छिन् ।

साउद प्रतिनिधिसभातर्फ कञ्चनपुर–२ र लेखक कञ्चनपुर–३ बाट प्रतिस्पर्धा गर्दै छन् ।

अहिले सत्ता गठबन्धनमा आबद्ध दल ‘साझा’ उम्मेदवारसहित निर्वाचनमा होमिएका छन् । यसले गठबन्धनलाई केही सहज हुने देखिन्छ छ । तर, चुनौती पनि छ ।

लेखकको तुलनामा साउद ‘सेफ जोन’मा देखिन्छन् । लेखकका लागि नेकपा (माओवादी केन्द्र)को भोट निर्णायक देखिएको छ ।

साउद र लेखक दुवै केन्द्रमा सभापति शेरबहादुर देउवा समूहकै हुन् । जिल्ला र प्रदेशमा भने उनीहरूका छुट्टाछुट्टै गुट छन् ।

गएको स्थानीय तह निर्वाचनको मत परिणामले लेखकभन्दा साउदलाई राहत दिएको छ । उनले पार्टीभित्रको असन्तुष्ट समूहलाई मात्र व्यवस्थापन गरे जित सहज हुने स्थानीय तहमा काँग्रेस उम्मेदवारले पाएको मतबाट अनुमान गर्न सकिन्छ ।

गएको स्थानीय तह निर्वाचनमा काँग्रेसका उम्मेदवारले पाएको मतलाई आधार मान्दा साउद विपक्षी गठबन्धनभन्दा २७ हजार २३१ मतले अगाडि देखिन्छन् ।

सो क्षेत्रमा स्थानीय तहमा काँग्रेस उम्मेदवारले ३२ हजार २७९ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवारले १२ हजार ५७२ र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारले चार हजार १६१ मत पाएका छन् । उनीहरूका कुल मत संख्या जोड्दा ४९ हजार १२ हुन्छ ।

सोही क्षेत्रमा एमाले उम्मेदवारले १८ हजार ८२८ मत पाएका छन् । एमालेसित चुनावी तालमेल गरेको राप्रपाका उम्मेदवारले दुई हजार ९५३ मत पाएका छन् । यो मत संख्या जोड्दा २१ हजार ७८१ हुन्छ ।

यसरी हेर्दा साउदको क्षेत्रमा गठबन्धन बलियो देखिन्छ । उक्त क्षेत्रमा सङ्घतर्फ साउद र प्रदेशतर्फ काँग्रेस र माओवादी केन्द्रका उम्मेदवार छन् ।

कञ्चनपुर-२ मा प्रतिनिधिसभातर्फ रमेश लेखक उम्मेदवार छन् । प्रदेशतर्फ काँग्रेस र माओवादीका उम्मेदवार छन् ।

कञ्चनपुर-२ ‘क’मा माओवादी केन्द्र र ‘ख’मा काँग्रेसका उम्मेदवार छन् । कञ्चनपुर–२ ‘क’मा एकीकृत समाजवादीका प्रकाश रावलले पनि उम्मेदवारी दिएका छन् । उनले उम्मेदवारी फिर्ता नलिए गठबन्धनका उम्मेदवारलाई थप समस्या पर्नेछ । उनी प्रदेश सरकारका अर्थमन्त्री समेत हुन् ।

उक्त क्षेत्रमा गएको स्थानीय तह निर्वाचनमा काँग्रेस उम्मेदवारले २१ हजार ७२७ मत पाएका छन् । सत्ता गठबन्धनकै माओवादी केन्द्रका उम्मेदवारले पाँच हजार ९८१ र एकीकृत समाजवादीका उम्मेदवारले तीन हजार १२ मत पाएका छन् । उनीहरूका कुल मत जोड्दा ३० हजार ७२० हुन आउँछ ।

एमाले उम्मेदवारले स्थानीय तहमा १६ हजार ११७ र राप्रपाका उम्मेदवारले ६ हजार ५०३ मत पाएका छन् । यो संख्या जोड्दा २२ हजार ६२० हुन्छ ।

गणितीय हिसाबमा हेर्दा यहाँ सत्ता गठबन्धन विपक्षी एमाले गठबन्धनभन्दा आठ हजार १०० मतले अगाडि छ ।

प्रतिक्रिया दिनुहोस