ओमप्रकाश पुनसहित ४ नेताले दिए सामूहिक राजीनामा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

ओमप्रकाश पुनसहित ४ नेताले दिए सामूहिक राजीनामा


९ असार २०७९, बिहिबार


काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्व पोलिटव्युरो सदस्य सेती-महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएका छन् ।

जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य रमेश परियारले सामूहिक राजीनामा दिएका हुन् ।

‘बदलिदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौँ नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि महान् जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौँ,’ संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आफूहरूले सामूहिक राजीनामा दिएको पुष्टि गर्दै सेती महाकाली इन्चार्ज रहेका ओमप्रकाश पुनले भने, ‘कम्युनिस्ट आन्दोलनको एकता र ध्रुवीकरणलाई महसुस गर्‍यौँ । हाम्रो नेतृत्व अहिले यो दिशामा जाने स्थिति देखिएन, टुटफुट र विभाजित भएका कम्युनिस्ट शक्तिहरू स(साना समूहमा बसेर हुँदैन ।’

उनले सडक, सदन र सरकारको मोर्चामा कम्युनिस्ट क्रान्तिकारी एकताबद्ध र बलियो हुन सकेनन् भने सम्राज्यवादीहरूले देश खाने स्थिति सिर्जना हुने भएकाले सबैलाई एकताबद्ध गर्न अभियान थालेको बताए ।

नेता पुनले माओवादी केन्द्रमा प्रवेश गर्ने विषयमा पनि छलफल जारी रहेको भन्दै निष्कर्षमा पुगिनसकेको बताए । उनले माओवादीसँगै अन्य शक्तिहरूलाई समेत जोड्दै लैजाने आफूहरूको योजना रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस