एएफसी एसियन कप : जोर्डनसँग नेपाल २-० ले पराजित « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एएफसी एसियन कप : जोर्डनसँग नेपाल २-० ले पराजित


२६ जेष्ठ २०७९, बिहिबार



काठमाडौँ । एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २-० अन्तरले पराजित भएको छ ।

बुधबार राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन । जोर्डनको जितमा अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे ।

पहिलो हाफमा नेपालका गोलकिपर दीप कार्कीले पेनाल्टी बचाउँदा जोर्डन दबाबमा आएको थियो । पहिलो आधिकारिक प्रतियोगितामै सुरुवाती एघारमा स्थान बनाएका दीपले खेलको ४३औँ मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाएका थिए ।

जितसँगै जोर्डनले पहिलो खेलबाट ३ अङ्क जोडेको छ । नेपाल बिनाअंक समूह बीको पुछारमा छ । आजै भएको खेलमा आयोजक कुवेत इन्डोनेसियासँग १-० ले पराजित भयो ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुतारीले युवा खेलाडीले राम्रो प्रदर्शन गरेको र जोर्डनलाई रोक्न असफल भएको बताए । अब नेपालले २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस