विश्व वातावरण दिवस, प्रदूषण र यसका असरहरू « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विश्व वातावरण दिवस, प्रदूषण र यसका असरहरू


२२ जेष्ठ २०७९, आइतबार


पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवनयापन भन्ने नाराका साथ सन् २०२२ जुन ५ को विश्व वातावरण दिवस आज मनाइयो । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनमा १४३ देशको सहभागिता रहेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलो पटक वातावरण बचाउ र भएको एउटै जीवयुक्त पृथ्वी बचाउ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । 

यस दिनको उद्देश्य मानिसहरूलाई वातावरणको महत्त्वका बारे सचेतना दिन र नागरिक र राजनीतिक शक्तिहरू दुवैबाट चेतना जगाउने र यसलाई संरक्षण गर्ने उपायहरू प्रवर्द्धन गर्नु हो । साथै हाम्रो प्रकृतिलाई सुरक्षित राख्न जागरूकता बढाउनु र दिनहुँ बढिरहेका विभिन्न वातावरणीय मुद्दाहरूको सम्बोधन गरी स्वास्थ्य र सुरक्षित वातावरणका लागि विश्वव्यापी रूपमा मानिसहरूलाई प्रोत्साहन गर्नु पनि विश्व वातावरण दिवसको उद्देश्य रहेको छ । 

अहिले विश्व नै एउटा यस्तो मोडमा उभिएको छ, जहाँबाट धेरै अस्तित्वहरू नामेट हुने र धर्तीबाट पूर्ण रूपमा बिलाउने खतरा छ । अस्ट्रेलियामा व्यापक रूपमा फैलिएको विनाशकारी डढेलो राम्रोसँग निभ्न नपाउँदै विश्व नोबल कोरोना भाइरस अर्थात् कोभिड-१९ को महामारीले आक्रान्त भई हालसम्म पूर्ण नियन्त्रण हुन नसकेको र अहिले विभिन्न देशमा व्यापक रूपमा फैलिएको मङ्कीपक्स जस्ता भाईरसले हामीलाई निकै चुनौतीपूर्ण अवस्था सिर्जना भई रहेको छ । यिनै अवस्थाका बिच विश्व वातावरण दिवस मनाइरहँदा यसपालिको नारा पृथ्वीको संरक्षण: दिगो प्रकृतिमैत्री जीवनयापन अझ बढी सार्थक र सान्दर्भिक देखिन आउँछ।

पृथ्वीमा अवस्थित माटो, हावा पानी, प्राणी, वनस्पति लगायतका सबै सन्तुलित अवस्था वातावरण हो । प्रकृति,जीवन, मानव निर्मित तत्त्वहरू, समाज र संस्कृतिको समष्टिगत रुप नै वातावरण हो । वातावरणमा समावेश भएका हरेक तत्वहरु सन्तुलित रुपमा आफ्नो क्षेत्र, स्थान र समयमा अवस्थित हुन्छ। वातावरण भौतिक, रसायनिक र जैविक, साथै सामाजिक र सांस्कृतिक जस्ता विभिन्न घटकहरू मिलेर बनेको हुन्छ । यी अवयवहरू, मूर्त र अमूर्त, एक अर्कामा सम्बन्धित छन् । तिनै तत्वहरुले नै पृथ्वीको हरेक ठाउँको जीवनको विशेषता र विकास स्थापित गर्दछ । भौगोलिक, जैविक तथा रसायनिक तत्वहरुको सन्तुलित अवस्थालाई हामी सन्तुलित वातावरण भन्न सक्छौं ।

मानव क्रियाकलापको असरले सिर्जित जलवायु परिवर्तन, जलवायु परिवर्तनले बढाएको पृथ्वी सतहको तापक्रम अनि बढ्दो तापक्रमले निम्त्याएको डढेलो, यसै गरी वन जङ्गलको विनाश, पशुपन्छीको उठिबास र मानव(जङ्गली जनावर बिचको द्वन्द्व र सङ्घर्षको फलस्वरूप भित्रिएको महामारीले पुष्टि गरिसकेको छ कि मानव क्रियाकलाप र मानव स्वास्थ्य कति घनिष्ठ रूपमा प्रकृति र प्राकृतिक संसारसँग जोडिएको छ । हामी प्रकृतिसँग यति नजिकसँग जोडिएका छौँ कि प्रकृतिविना हाम्रो अस्तित्वको कल्पनासम्म पनि गर्न सकिँदैन वा हामी मानव जाति विना पनि प्रकृति अझ सुन्दर तरिकाले चल्न सक्छ तर प्रकृतिविना हामी चल्न असम्भव छ ।

पृथ्वीमा रहेका जीव, जनावर, वनस्पति, हावा, पानी, माटो, आदि सम्पूर्ण जैविक तथा अजैविक वस्तुहरूको सामूहिक उपस्थिति नै वातावरण हो । यो प्राकृतिक सम्पदा पनि हो । वातावरण मानव जीवनका लागि अपरिहार्य छ । पृथ्वी र प्रकृति सबैको साझा हो भने मानव समाज प्राकृतिक वातावरणको एक महत्त्वपूर्ण अङ्ग हो । यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्ने हाम्रो कर्तव्य तथा जिम्मेवारी पनि हो । स्वास्थ्य एवं स्वच्छ वातावरण सिर्जना गर्न प्रण गर्ने दिन पनि हो । हाम्रो अमूल्य प्राकृतिक स्रोतहरूको संरक्षण गर्दै पृथ्वी र प्रकृतिले धान् नसक्ने क्षमता कायम राख्दै यिनीहरूलाई पुस्तागत हस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व हो । नेपालको संविधानले हामी सबै नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ । नेपाल सरकारले सन्तुलित, दिगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवर्द्धन गर्ने नीति लिएको छ ।

जनसङ्ख्याको बढ्दो चाप, विकास निर्माणप्रतिको प्राथमिकता र बदलिँदो मानव व्यवहारले गर्दा बन, जैविक विविधता र प्रकृतिको विनाश, भूक्षय, प्रदूषण तथा जलवायु परिवर्तनका समस्याहरूले प्रकृतिको स्वाभाविक चक्रलाई अवरुद्ध गरेको छ । स्वच्छ र स्वास्थ्य जीवन निर्वाहका लागि प्रकृति एवम् प्राकृतिक वातावरणलाई दिगो संरक्षण गर्दै वातावरण र विकास तथा सूचना प्रविधिबिच सन्तुलन कायम राख्न सबै प्रतिबद्ध एवं एकताबद्ध हुनु आवश्यक छ । दिगो विकास र वातावरण संरक्षण, संवर्द्धन तथा व्यवस्थापन गर्ने दिशामा योजना तथा कार्यक्रम परिलक्षित गरी सङ्घ, प्रदेश र स्थानीय तहका नेतृत्वबाट कार्यान्वयनमा कटिबद्ध रहन यस दिवसले शक्ति प्रदान गर्न सकोस् भन्ने कामना छ। 

वातावरण प्रदूषण हुने धेरै कारणहरू रहेका छन् । विभिन्न देश, समय र परिस्थिति बमोजिम फरक–फरक हुने भएता पनि समग्रमा वातावरण प्रदूषणका कारणहरूमा अव्यवस्थित रूपमा अत्यधिक जनसङ्ख्या वृद्धि हुनु, वातावरण शिक्षाको कमी एवं जनचेतनाको अभाव हुनु, अव्यवस्थित औद्योगीकरण एवं सहरीकरण बढ्दै जानु, वनजंगलको विनाश बढ्दो रूपमा हुनु, विषादी तथा औषधिहरूको अत्यधिक प्रयोग हुनु, वातावरण सन्तुलन गर्नेतर्फ लक्षित कानुनको प्रभावकारी पालनाको नहुनु, अवैज्ञानिक कृषि प्रणाली र आणविक हातहतियारको प्रतिस्पर्धा बढ्नु  आदि कारणहरू रहेको पाइन्छ । यिनै कारणहरूले गर्दा वातावरण प्रदूषण बढ्दै गएको छ । यसरी वातावरण प्रदूषणबाट उत्पन्न हुने  थुप्रै समस्याहरू देखापरिरहेको पाइन्छ । 

वातावरण प्रदूषणबाट उत्पन्न हुने समस्याहरूमा मुख्य रूपमा ओजोन तहको विनाश हुँदै जानु, विश्वव्यापी उष्णता वृद्धि हुनु, हरित गृह प्रभाव बढ्नु, बाढी पहिरो, अनावृष्टि, अतिवृष्टि, खण्डवृष्टि, खडेरी र भूक्षय हुँदै जानु, अम्लीय वर्षा हुनु, जैविक विविधतामा ह्रास आउनु, आणविक हिउँदको समस्या हुनु, कृषि उत्पादनमा ह्रास आउनु, मानवीय स्वास्थ्य समस्या आदि वातावरण प्रदूषणका हुने समस्याहरू रहेका छन् । वायु प्रदूषण,जल प्रदूषण, भूमि प्रदूषण, ध्वनि प्रदूषण, र रासायनिक प्रदूषण हरू पनि यसका समस्या एवं कारणहरू मानिन्छ ।

वातावरण प्रदूषणका कारकहरू भनेका अव्यवस्थित औद्योगिक विकास गर्नु, जथाभाबी उत्खनन गर्नु,वैज्ञानिक कृषि प्रणाली अवलम्बन नगर्नु, जथाभाबी फोहोर गर्नु वा व्यवस्थापन नगर्नु, प्लास्टिकहरूको बढ्दो प्रयोग तथा प्लास्टिक जन्य वस्तु जलाउनु, पुराना सवारी साधनहरूको प्रयोग गर्नु, वन जङ्गलको विनाश गर्नु, वातावरण शिक्षाको कमी तथा जनचेतनामा कमी हुनु, वातावरण संरक्षण सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा कमी हुनु जस्ता वातावरण प्रदूषणका कारकहरू हुन् । साथै वातावरणको कारक तत्त्वहरूका उदाहरणका रुपमा जनावर,बोटबिरुवा, मानव, माटो, हावा, पानी, मौसम, भू–विज्ञान, सांस्कृतिक अभिव्यक्ति, सामाजिक र आर्थिक सम्बन्ध, व्यावसायिक पेसा, शहरी योजना, सशस्त्र टकराब आदि हुन् ।

पर्यावरणीय सन्तुलनलाई नै चुनौती रहेकोले हरेक स्थानीय तहले प्रदूषणमा कमी ल्याउन नीति तथा कार्यक्रममा समेटी हरेक नागरिकलाई जागरूक बनाउन जरुरी छ । वातावरणको सिर्जना यस पृथ्वीमा रहेको जीव, जगत र प्राकृतिक सम्पदाहरूको संयोगबाट हुने भए पनि यसको संरक्षणमा मानव जातिको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले वातावरण स्वच्छ राख्नु हामी सबैको कर्तव्य हो । संयुक्त राष्ट्र सङ्घका अनुसार दशमध्ये नौ जना व्यक्तिहरूले प्रदूषित हावामा श्वास फेर्ने भएकोले मृत्युको एक मुख्य कारण पनि वायु प्रदूषण बनेको छ । 

प्रदूषणले ग्रस्त वायुमा देख्न नमिल्ने स–साना कणहरू श्वास फेर्दा सिधै फोक्सोमा पुग्छन् । यसले क्यान्सर, निमोनिया, मुटु रोग साथै प्राण घातक रोग निम्त्याउने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनले गरेको अनुमानमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण विश्वभर करिब ८० लाख व्यक्तिहरूको मृत्यु हुने गर्दछ । वायु प्रदूषण हुने विभिन्न कारणहरू छन् । जसमा घरायसी काम, कृषिजन्य पदार्थ, कल कारखाना, तथा सवारी–साधनबाट निस्कने धुवाँ–धुलो र अन्य फोहोरहरू पर्दछन् ।

हाम्रो वातावरणमा भएका सम्पूर्ण तत्वहरूको प्राकृतिक गुणमा भएको ह्रास नै प्रदुषण हो । वातावरणीय प्रदुषण भन्नाले वातावरणका भौतिक, रासायनिक तथा जैविक वस्तुहरूका अनावश्यक परिवर्तनलाई बुझिन्छ । वातावरणीय प्रदुषण वर्तमान विश्वको एक प्रमुख समस्या बनिरहेको छ । वातावरणीय प्रदुषणकै कारण पृथ्वीको तापक्रममा बृद्धि भइरहेको, अतिवृष्टि, अनावृष्टि र अल्पबृष्टि जस्ता विकराल समस्याहरू देखापरिरहेको कुरा वातावरणीय अनुसन्धानले पुष्टि गरेको छ । अन्य ठूला समस्याहरू पनि अप्रत्यक्षरूपमा प्रदुषणकै कारण हुन् ।

प्रदूषणका कारण देखिने यस्ता समस्याहरूले वातावरणलाई थप प्रदूषित गरिरहेका हुन्छन् । आजको विश्व निरन्तर विकासतर्फ उन्मुख छ । औद्योगिकीकरण, सहरीकरण, उन्नतिका सूचक मानिन्छन् । तर तीव्र गतिमा भइरहेको यो विकास प्रक्रियाले बढाइरहेको प्रदूषण विकास भित्र विनाश निम्त्याइरहेका छन् । आधुनिकीकरण सँगै फैलिरहेका उद्योग, कलकारखाना एकातर्फ विकासोन्मुखताकाप्रति रहे भने अर्कोतर्फ त्यसबाट निस्कने फोहोर मैलाको उचित व्यवस्थापनका अभावमा देखिएका समस्या प्रदूषणका प्रमुख कारक बन्दै छन् । आज बढिरहेको प्रदूषणका नकारात्मक असरहरू अहिलेभन्दा पनि कालान्तरमा अझ बढ्न सक्ने देखिन्छ ।

मानवले अन्य प्राकृतिक स्रोत सँगसँगै बनजंगल, वन्यजन्तु जस्ता जीवित प्राणीका प्रजातिहरूसँग कुनै किसिमको प्रतिस्पर्धा गरिरहेको हुन्छ । यही क्रममा दिनानुदिन बन क्षेत्र माथि हस्तक्षेप बढाएर त्यसलाई वासस्थान वा आवास क्षेत्र तथा कृषिका लागि प्रयोग गर्ने क्रम विकासोन्मुख देशहरूमा मात्रै होइन विकसित देशहरूमा पनि बढ्दो छ । एकातर्फ बन क्षेत्र घटाएर त्यसलाई आवास क्षेत्र तथा कृषि भूमिका रूपमा परिणत गरिंदैछ भने अर्कोतर्फ शहरीकरणले कैयौँ खेतीयोग्य उर्वर भूमिहरू पनि आवासीय क्षेत्रमा बदलिंदैछन् । यसैले शहरीकरणका कारण पनि खेती उत्पादनको मात्रामा ह्रास आएको छ ।

सहरीकरण तथा औद्योगिकीकरणले वातावरणमा निकै नकारात्मक परिवर्तन निम्त्याउँछन् भन्दा अत्युक्ति नहोला । यद्यपि आर्थिक दृष्टिकोणले यी दुवै सकारात्मक पक्ष पनि हुन् । आर्थिक–वातावरणीय दृष्टिकोणले हरेक विकास निर्माणका कामहरू निकै चुनौतीपूर्ण हुन्छन् । पृथ्वीमा हुने सबै आर्थिक, सामाजिक गतिविधिहरूले वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्छन्। त्यस कारण दिगो विकासका निम्ति वातावरणको संरक्षण आजको प्रमुख आवश्यकता हो । आर्थिक विकास सँगसँगै वातावरणीय सन्तुलन कायम गर्नु आम चुनौतीको विषय हो ।

सडक किनारा तथा घर वरिपरि वृक्षारोपण गर्ने हो भने पनि धेरै हदसम्म प्रदूषण न्यूनीकरण गरेर वातावरण सन्तुलित राख्न सकिन्छ । वातावरण जोगाउनका लागी हामी सबैले बाटोमा फोहोर नजलाउने, घरायसी फोहोर जथाभाबी नफाल्ने, प्लास्टिकको प्रयोग नगर्ने, वन जङ्गल फडानी नगर्ने र वनलाई व्यवस्थित गर्ने लगायत विभिन्न क्रियाकलापहरूले वातावरण संरक्षणमा मद्दत पुर्‍याउन सक्छन् ।

मानव क्रियाकलापले वातावरणमा नकारात्मक असर पुर्‍याएको छ, यसको प्राकृतिक स्रोतहरू वृद्धि भइरहेको छ, वनस्पति र जीवजन्तु लोप हुँदै छन्, औद्योगिकीकरणले वातावरणीय प्रदूषणको स्तर बढाएको छ, जनसङ्ख्या वृद्धि निरन्तर भइरहेको छ र प्राकृतिक स्रोतहरू अनियन्त्रित रूपमा खपत भइरहेको छ जसले गर्दा वातावरण प्रदूषण विकराल बन्दै गएकोले मानव अस्तित्व माथि निकै चुनौतीपूर्ण अवस्था बन्दै गएकोले हामी सबैले समयमा वातावरण संरक्षणका लागि राजनीतिक दल, नागरिक समाज, पत्रकार एवं सञ्चारकर्मी, समाजसेवी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक विध्दार्थी, विभिन्न सङ्घसंस्था, वातावरण विद एवं वैज्ञानिक लगायत हामी सबै वातावरण संरक्षण एकजुट हुन जरुरी छ ।

वातावरण संरक्षणले हामीलाई दिगो जीवनको लागि अनुमति दिनेछ।। हामीले गरेको प्रकृतिमाथिको अत्याचार हामी स्वयं मानव जातिको विनाशको कारण बन्नेछ । अब पनि प्रकृति र वातावरण संरक्षणलाई समय नदिने वा यसका बारेमा नसोच्ने हो भने भविष्यमा प्रकृतिले पनि हाम्रा बारेमा न सोच्नेछ, न सोच्ने समय नै दिनेछ ।

अन्त्यमा, पृथ्वीको संरक्षण: दिगो प्रकृतिमैत्री जीवनयापन भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाऔँ । यस विश्व वातावरण दिवस, २०७९ को अवसरमा प्रकृति र प्राकृतिक वातावरणको संरक्षण गरी सम्पूर्ण पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्न व्यक्तिगत तथा सामूहिक रूपमा अझ सक्रिय हुन सम्पूर्ण महानुभावहरूमा सकारात्मक ऊर्जा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Tags :
प्रतिक्रिया दिनुहोस