गोरखाका सबै पालिकामा तारजाली र सिसी क्यामेरा सहित मतगणनास्थल तयार « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

गोरखाका सबै पालिकामा तारजाली र सिसी क्यामेरा सहित मतगणनास्थल तयार


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको मतगणनाका लागि गोरखाका सबै पालिकामा मतगणना स्थल तयार गरिएको छ । एघार वटै पालिकामा सिसी क्यामेरा सहित तारजालीको व्यवस्था गरेर मतगणना स्थल तयार पारिएको हो।

गोरखा नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको हलमा हुने छ । सो ठाउँमा तारजाली लगाएर तीन वटा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाका सहायक निर्वाचन अधिकृत रामचन्द्र केसीले बताए । जेनेरेटर र माइकको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

आरुघाट गाउँपालिकाको मतगणना वडा नम्बर ९ स्थित भिमोदय माध्यमिक विद्यालयको भवनमा हुने छ । मतगणना स्थलमा तारजाली लगाइएको र पाँच वटा सिसी क्यामेरा जडान गरिएको निर्वाचन अधिकृत श्रीधर गौतमले जानकारी दिए । एकै पटक तीन ठाउँमा मतगणना गर्न मिल्ने गरी स्थल निर्माण गरिएको उनले बताए ।

भीमसेन थापा गाउँपालिकाको मतगणनाका लागि खान्चोकस्थित गाउँपालिकाको प्रशासकीय भवनमा स्थल निर्माण गरिएको छ । तारजाली लगाएर चार वटा सिसी क्यामेरा जडान गरिएको निर्वाचन अधिकृत खामानन्द गौतमले बताए । उनका अनुसार एकै पटक चार ठाउँमा मतगणना गर्न मिल्ने गरी स्थल निर्माण गरिएको छ ।

अजिरकोट गाउँपालिकाको मतगणना गाउँपालिकाको प्रशासकीय भवनको हलमा हुने भएको छ । उक्त हलमा चार वटा सिसी क्यामेरा सहित तारजाली लगाइएको निर्वाचन अधिकृत कमलराज भण्डारीले बताए ।

सहिद लखन गाउँपालिकाको घैरुङस्थित गाउँपालिकाको सभाहलमा मतगणना स्थल तयार गरिएको छ । त्यहाँ चार वटा सिसी क्यामेरा जडान गरिएको छ । तारजाली लगाएर एकै पटक तीन ठाउँमा गणना गर्न मिल्ने गरी स्थल निर्माण गरिएको निर्वाचन अधिकृत जीवन प्रसाद आचार्यले बताए ।

बारपाक सुलिकोट गाउँपालिकाको मतगणनाका लागि गाउँपालिकाको प्रशासकीय भवनको सभाहलमा तारजाली लगाएर स्थल निर्माण गरिएको छ । एकै पटकमा ६ ठाउँमा गणना गर्न मिल्ने गरी स्थल निर्माण गरिएको निर्वाचन अधिकृत शेषकान्त पौडेलले बताए । उनका अनुसार गणना स्थलमा ६ वटा सिसी क्यामेरा जडान गरिएको छ ।

गण्डकी गाउँपालिकाको मतगणना वडा नम्बर ६ भूम्लिचोकस्थित भवानी माविमा हुने छ । विद्यालयको कोठामा तारजाली लगाएर मतगणना स्थल तयार गरिएको निर्वाचन अधिकृत वासुदेव रेग्मीले बताए । उनका अनुसार सिसी क्यामेरा भने बिहीबार जडान गरिने छ ।

सिरानचोक गाउँपालिकाको मतगणनाका लागि वडा नम्बर ५ स्थित चित्रे पोखरी माध्यमिक विद्यालयको भवनमा निर्माण गरिएको छ । तारजाली लगाएर एकै पटक तीन ठाउँमा गणना गर्ने मिल्ने व्यवस्था गरिएको र सिसी क्यामेरा जडानको कार्य पनि भइरहेको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले बताए ।

धार्चेको मतगणनाका लागि वडा नम्बर ५ माछीखोलास्थित जनजागृति माविमा स्थल निर्माण गरिएको छ । तारजाली लगाएर ६ वटा सिसी क्यामेरा जडान गरिएको निर्वाचन अधिकृत निराज कुमार खत्रीले बताए ।

चुमनुव्री गाउँपालिकाको मतगणनाका लागि वडा नम्बर ३ फिलिमस्थित बुद्ध माविको भवनमा स्थल निर्माण गरिएको निर्वाचन अधिकृत नानीबाबु पोखरेलले बताए । उनका अनुसार मतगणना स्थलमा आठ वटा सिसी क्यामेरा जडान गरिएको छ । तारजाली पनि लगाइएको उनले जानकारी दिए ।

पालुङटार नगरपालिकाले पनि मतगणना स्थल तयार पारिसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस