शासक होइन जनताको सेवक बन्छु, जितको आशिष दिनुस् : डङ्गोल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शासक होइन जनताको सेवक बन्छु, जितको आशिष दिनुस् : डङ्गोल


२७ बैशाख २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नेकपा एमालेकी मेयर उम्मेदवार सुनिता डङ्गोलले आफूले जितेको खण्डमा जनताको शासक होइन, सेवक बन्ने बताएकी छन् । काठमाडौँलाई सांस्कृतिक नगरीका रुपमा विकास गर्ने योजना आफूसँग रहेको उनले दाबी गरिन् ।

आज (मंगलबार) काठमाडौँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डङ्गोलले आफ्नो उम्मेदवारी घोषणादेखि नै जनताको माया पाएको भन्दै खुसी व्यक्त गरिन् ।

उनले भनिन्, ‘डे वान देखि नै तपाईंहरुको माया पाएको छु । जति दिन बित्दै गयो, त्यति धेरै माया बढेको महसुस गरेको छु । तपाईंहरुको यो माया नै मेरो जितको सबैभन्दा बलियो आधार हो । चुनाव जितेर म शासक होइन सेवक बनेर तपाईंहरुको सेवा गर्नेछु ।’

काठमाडौँलाई अरु देशका सहरहरूसँग तुलना गर्न आवश्यक नरहेको उनले बताइन् । काठमाडौँलाई काठमाडौँजस्तै सांस्कृतिक नगरी बनाउनुपर्नेमा उनको जोड छ ।

डङ्गोलले भनिन्, ‘काठमाडौँलाई अरु सहरसँग तुलना गरेर त्यस्तै बनाउनुपर्छ भन्ने गर्छन् कसैले । तर, मलाई लाग्छ काठमाडौँलाई अरु सहरजस्तो बनाउनु आवश्यक छैन । यसलाई काठमाडौं र कान्तिपुर नगरी बनाउने योजनासहित आफ्नो पाइला अघि सार्नेछु ।’

उनले भगवानरुपी जनताको आफूलाई आशिष चाहिएको बताइन् । ‘जनता भगवान् हुन् । भगवानरुपी जनताले मेरो निधारमा आशिष दिनुहुने आशा लिएको छु,’ उनले भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस