रुकुममा वाइसिएल र तरुण दलबिच झडप, पाँच घाइते « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रुकुममा वाइसिएल र तरुण दलबिच झडप, पाँच घाइते


२४ बैशाख २०७९, शनिबार


काठमाडौँ । रुकुम पश्चिमको चौरजहारीमा नेपाल तरुण दल र वाइसिएलका युवाबिच झडप भएको छ।

शुक्रबार राति चौरजहारी नगरपालिका–१ घारी गाउँमा दुई पक्षबिच झडप हुँदा पाँच जना घाइते भएका हुन्।

दुवै पक्षका ५०-६० जनाको समूहबिच झडप भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुबहादुर सोतीका अनुसार तरुण दलका तीन जना र वाइसिएलका दुई जना घाइते छन्।

तरुण दलका योगेश विष्ट, मानबहादुर विक र यज्ञचन गिरी घाइते छन्। वाइसिएलका ध्रुवराज विष्ट र समीर स्वर्णकार घाइते छन्।

घाइतेमध्ये तरुण दलका योगेश र मानबहादुरलाई नेपालगन्ज रिफर गरिएको छ। अरूको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय चौरजहारीबाट घटनामा संलग्नहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको सोतीले जानकारी दिए।

नेपाली काँग्रेस रुकुम पश्चिमले विज्ञप्ति निकालेर घटनाको भर्त्सना गरेको छ।

रुकुम पश्चिममा नेपाली काँग्रेसको पक्षमा चुनावी माहोल बलियो देखेर माओवादी केन्द्रले विभिन्न तवरले आक्रमण गर्ने गरेको काँग्रेसको भनाइ छ।

‘माओवादीसँग चुनावी तालमेल गर्ने राष्ट्रिय सहमति कार्यान्वयन हुन नसकेपछि अरू दलहरूसँग भएको चुनावी तालमेलबाट आत्तिएर रुकुम पश्चिममा माओवादीले भौतिक आक्रमण गरिरहेको छ,’ सभापति प्रेमप्रकाश वलीले भनेका छन्।

यसअघि पनि माओवादी केन्द्रका कार्यकर्ताहरूले आठविसकोट नगरपालिका–८ का उम्मेदवार चन्द्रबहादुर बुढा लगायतका काँग्रेस नेता तथा कार्यकर्तामाथि आक्रमण गरेका थिए।

यस्तै त्रिवेणी गाउँपालिका–५ मा उपाध्यक्ष उम्मेदवारले प्रयोग गर्ने गाडी जबरजस्ती लिएको, अध्यक्षका उम्मेदवारले प्रयोग गर्ने गाडी तोडफोड गरेको, घरमा आगजनीको प्रयास गरेको, गरगहना, नगद लुटपाट जस्ता कार्य माओवादीले काँग्रेसलाई लक्षित गरिरहेको विज्ञप्तिमा भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस