रेनु दाहाललाई प्रचण्डको छोरीको रूपमा मात्र बुझ्नु हुँदैन : नेपाल « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

रेनु दाहाललाई प्रचण्डको छोरीको रूपमा मात्र बुझ्नु हुँदैन : नेपाल


२२ बैशाख २०७९, बिहिबार


चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्ने बताएका छन् । आज यहाँ आयोजित पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई निरन्तरता दिनका लागि स्थानीय तहको निर्वाचनमा गठबन्धनले जित्नु आवश्यक रहेको बताएका हुन् ।

पवित्र उद्देश्यले संयुक्त अभियान अगाडि बढाएको भन्दै उनले गठबन्धन दललाई केही न केही फाइदा भएको बताए । उनले भने, ‘अहिले पनि कतिपय ठाउँमा मिलेको छैन । म गठबन्धनका नेताहरूलाई भन्न चाहन्छु, नमिलेका ठाउँमा मिलाउनुहोस्, सहमति गर्नुपर्ने ठाउँमा गर्नुहोस् ।’

दलहरूबिचको एकताबाटै राजसंस्था फाल्न सफल भएको भन्दै उनले संविधान र गणतन्त्र जोगाउन पनि पाँच दलीय गठबन्धनमा एकता आवश्यक भएको बताए । उनले भने, ‘दुई पटकसम्म संसद् विघटन गर्दा प्रतिपक्षी भएर नउभिएको भए देश समाप्त भइसक्थ्यो ।’ प्रतिगमनकारी कदमको हामीले विरोध नगरेको भए देश अवनतिको बाटोमा जान सक्ने नेपालले बताए । दक्षिणपन्थी गठबन्धनलाई मद्दत पुग्ने र लोकतान्त्रिक गठबन्धनलाई आघात पुग्ने गरी नलाग्न उनले आग्रह गरे ।

भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार रेनु दाहाललाई पुष्पकमल दाहाल प्रचण्डको छोरीको रूपमा मात्र बुझ्न नहुने उनको भनाइ छ ।

उनले भने, ‘रेनुलाई पुष्पकमल दाहालको छोरीका रूपमा मात्रै हेर्नुहुन्न, कोही योग्य छन् भने आफ्नो योग्यताका आधारमा आउने हुन् । बाबुको आधारमा होइन । कोही योग्य छ भने छोरी भनेर छेक्नु पनि हुँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस