‘डिजिटिल रामपुर’ बनाउने प्रतिवद्धता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘डिजिटिल रामपुर’ बनाउने प्रतिवद्धता


२१ बैशाख २०७९, बुधबार


रामपुर । रामपुर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका शिव अर्यालले ‘डिजिटिल रामपुर’को अवधारणा अघि सारेका छन् ।

‘रामपुर नगरको केन्द्रबाट टाढा रहेका वडाका नागरिकले सेवा पाउन अब केन्द्र धाउने होइन, वडाबाटै घरमै बसी बसी सेवा लिन पाउने गरी डिजिटल अवधारणा ल्याइएको छ, नगर प्रमुख पदमा निर्वाचित भएमा नमुना डिजिटल रामपुर बनाउने मेरो सङ्कल्प छ,’ उनले भने ।

कतिपय वडा कार्यालय भाडाका घरमा सञ्चालन भइरहेको हुँदा त्यसको व्यवस्थापन गरी सहज सेवा दिने र प्रत्येक वडा वडामा एम्बुलेन्स सेवा सञ्चालन गरेर प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता अर्यालले व्यक्त गरिरहेका छन् ।

विकासका पूर्वाधारहरुलाई स्तरोन्नति गर्ने र अधुरा कामलाई पूरा गरी अबको पाँच वर्ष भित्र रामपुरलाई समुन्नत र नमुना नगर बनाउने योजना सहित यहाँका उम्मेदवारहरु चुनाव प्रचार अभियानमा छन् ।

रामपुर नगरपालिकाको समग्र विकास गरी नागरिकको जीवनस्तर उकास्ने उद्घोष नेपाली काङ्ग्रेसको तर्फबाट नगर प्रमुख पदका लागि मैदानमा उत्रिएका रमणबहादुर थापाले गरेका छन् ।

‘अघिल्लो निर्वाचनमा पनि मलाई यहाँका मतदाताले नगर प्रमुख पदमा विजयी गराउनुभयो, पाँच वर्षको अवधिमा हामीले घोषणापत्र उल्लिखित ९० प्रतिशत काम सम्पन्न गरेका छौँ, फेरि अवसर पाए नगरमा पाँच वर्षमा भएका काम दुई वर्ष भित्र सम्पन्न गर्छौँ,’ उनले भने ।

काङ्ग्रेसको तर्फबाट उपप्रमुख पदका उम्मेदवार बालकुमारी थापा छिन् भने एमालेको तर्फबाट दुर्गादेवी राना छिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर प्रमुख पदका उम्मेदवार राजेन्द्र ढकाल र उपप्रमुखका उम्मेदवार गायत्री न्यौपाने पनि जनता विश्वास जित्न घर घर पुगिरहेका छन् ।

उम्मेदवारहरुले एक वर्षभित्र हिलोरहित रामपुर नगर, स्वरोजगार कार्यक्रम, कृषिमा एक नगर एक विशेष उत्पादन कार्यक्रम, नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवर्द्धन, एक वडा एक उद्यान कार्यक्रम र हवाई मैदान निर्माण जस्ता योजना सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिरहेका छन् ।

तानसेन नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका नगर प्रमुख पदका उम्मेदवार सन्तोषलाल श्रेष्ठ, उपप्रमुखमा नेकपा ९माओवादी केन्द्र०का प्रतीक्षा सिंजाली, नेकपा एमालेका प्रमुख पदका उम्मेदवार धनेन्द्रराज घिमिरे, उपप्रमुखमा शशि श्रेष्ठ चुनावी मैदानमा छन् ।

यहाँका उम्मेदवारहरुले पर्यटन प्रवर्द्धन, खानेपानी, फोहरमैला व्यवस्थापन जस्ता विषयलाई चुनावी मुद्दा बनाइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस