काठमाडौँ महानगरलाई रूपान्तरण गर्ने सिंहका ‘सात सङ्कल्प’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगरलाई रूपान्तरण गर्ने सिंहका ‘सात सङ्कल्प’


१५ बैशाख २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नगरप्रमुखको उम्मेदवार सिर्जना सिंहले सात ‘स’ को सङ्कल्प प्रस्तुत गरेकी छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा नेपाली काँग्रेससहित गठबन्धनको तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेकी सिंहले आफू नगरप्रमुख भएपछि गर्ने सात सङ्कल्पलाई आज सार्वजनिक गरेकी हुन् ।

उनले सेवा र सुशासनअन्तर्गत महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही सञ्चालन गर्ने, भ्रष्टाचारमुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रूपमा कामपालाई अघि बढाउने, सङ्घीय सरकार प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्ने सङ्कल्प गरेकी छन् ।

यस्तै स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षाअन्तर्गत शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउने, महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडामा रोकथाम, परीक्षण, उपचार र पुनः स्थापनासहितको ‘सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र’को स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पताल सञ्चालन गर्ने, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्नलगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने बताएकी छन् ।

सिंहले स्वच्छ, सफा, दिगो पर्यावरणअन्तर्गत कामपालाई ‘जेरो वेस्ट’ महानगर बनाउने, पिउन योग्य पानी, श्वास फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने, सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहा:, फल्चाः आदिको संरक्षण, पुनः स्थापना तथा विस्तार गर्ने सङ्कल्प गरेकी छन् ।

यस्तै सुरक्षित सहरअन्तर्गत महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण, विपद् थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माण गर्ने सङ्कल्प राखेकी छन् ।

उनले संस्कृति, सम्पदा र सभ्यता बचाउनका लागि मौलिक ज्ञान, भाषा, जात्रा, बाजागाजा, चाडपर्व, मेला, ग्रन्थ, पेसालाई समुदायको अपनत्व र संलग्नतामा संवर्द्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्ने तथा गुठी प्रणालीको प्रवर्द्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिबद्ध रही कार्य गर्ने बताएकी छन् ।

सिंहले सबल र समुन्नत पूर्वाधारअन्तर्गत सहजरूपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदल यात्री केन्द्रित सहरका रूपमा महानगरलाई विकास गर्ने, महानगर क्षेत्रभित्र सबै खालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने, महानगरको कार्यक्षेत्र भित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रूपमा समयमै सम्पन्न गर्ने तथा मर्मत–सम्भारका लागि अविलम्ब कार्य गर्न सक्ने गरी संस्थागत क्षमताको विकास गर्ने सङ्कल्प गरेकी छन् ।

त्यस्तै सबल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगर बासी बनाउन उनले युवाका लागि अवसर, महिलाको सशक्तीकरण र सम्पूर्ण महानगर बासीको सिर्जनशीलता अभिवृद्धि गर्न आवश्यक पहलकदमी लिनुका साथै उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने बताएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस