अङ्ग्रेजलाई पराजित गरेको ऐतिहासिक जित गढी किल्लामा विजय दिवस मनाइयो « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

अङ्ग्रेजलाई पराजित गरेको ऐतिहासिक जित गढी किल्लामा विजय दिवस मनाइयो


७ बैशाख २०७९, बुधबार


रुपन्देही । नेपाली फौजले अङ्ग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै बुधबार जित गढी किल्लामा विजय दिवस मनाइएको छ।

बुटवल उपमहानगरपालिका–१ स्थित यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालीन अङ्ग्रेजी फौजलाई परास्त गरेको थियो। विसं १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अङ्ग्रेजलाई हराएको थियो।

विजय उत्सव दिवसका अवसरमा जित गढीमा आयोजित कार्यक्रममा कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गरिनुका साथै नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराम सुवेदीले राष्ट्रिय एकता, अखण्डता र स्वाभिमानको रक्षा गर्ने सङ्कल्पको रूपमा यो दिनलाई स्मरण गर्नुपर्ने बताए।

‘हाम्रा सन्ततिको जीवनमा समृद्धि र खुसी ल्याउने सङ्कल्पका रूपमा यसको संरक्षण र विकासका कामलाई अगाडि बढाएका छौ’, उनले भने। शिव गढी, दाउन्नेगढीलगायतका सामरिक महत्त्वका गढीलाई जितगढीसँग जोडेर पर्यटकीय प्रवर्द्धन गर्ने बताउँदै उनले ऐतिहासिकता लेखिएको स्थललाई भावी सन्ततिले देख्ने र गर्व गर्ने गरी संरक्षण गरिनुपर्ने बताए।

उपप्रमुख गुमादेवी आचार्यले यो गढीको संरक्षणका लागि गुरुयोजना बनाउने काम भएको जानकारी गराउँदै यहाँ बन्ने गुरुयोजनाका बारेमा सरोकारवालाको सुझाव लिएर काम अघि बढाएको उल्लेख गरिन्।

पर्यटन विकासका लागि स्थानीयवासीले अपनत्व गर्ने र स्थानीय बासिन्दाको समृद्धिसँग जोडिने गरी जित गढीको विकासका काम अगाडि बढाइने उनको भनाइ छ ।

नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको दिनको सम्झना गर्दै उपमहानगरपालिकाले गत वर्षबाट वैशाख ७ गतेको दिनलाई जित गढी विजय उत्सव दिवसका रूपमा मनाउन सुरु गरेको हो। किल्लालाई संरक्षण गर्दै उपमहानगरपालिकाले गुरुयोजना बनाएको छ। गुरुयोजनाअनुरूपका काम अहिले धमाधम भइरहेका छन्। जित गढीको महत्त्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरी बुटवलले स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समावेश गरेको छ।

उपमहानगरपालिकाले यसको गुरुयोजना निर्माण गरेर जित गढी क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना बनाएको छ। उपमहानगरपालिकाको योजना अनुसार जित गढी किल्ला रहेको भागको दक्षिण र उत्तर भागमा भौतिक संरचना बन्नेछन्। जित गढी किल्लासँगै रहेका कार्ड हल र वडा कार्यालयलाई हटाइएको छ। किल्लाको वरिपरि रहेको सार्वजनिक जग्गामा मनोरम बगैँचा र राजमार्गभन्दा उत्तरको भागलाई सङ्ग्रहालय, रात्रिकालीन बजार, कोसेली पसलहरू, बगैँचा बनाउने उपमहानगरपालिकाको योजना रहेको नगरप्रमुख शिवराज सुवेदीले बताए।

‘बटौली युद्धकालीन सङ्ग्रहालय बनाएर त्यो बेला युद्धमा प्रयोग गरिएका तोपहरूको सङ्ग्रह गर्ने, मणिमुकुन्दसेन शीतकालीन दरबार, युद्धको बेलामा हतियार भण्डारण गर्ने काठे गढी र नुवाकोट गढीसँग जोडेर विकास गरिनेछ’, उनले भने, ‘युद्धका क्रममा शहादत्त प्राप्त गर्ने ९ जनाको नाम खुलेको छ र अरू सेनाको पनि नाम खोजेर शालिक निर्माण गरिनेछ, यसैबाट बुटवलको पर्यटनमा टेवा पुग्नेछ।’

जित गढीमा उति बेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोसाकका कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ जना कमान्डरको अर्ध कदको शालिक र छेउमा विशाल राष्ट्रिय झन्डा फहराउने गरी गुरूयोजनाअनुरुपका काम अगाडि बढेको उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख विष्णु खनालले जानकारी दिए।

गुरुयोजनाअनुसार दुई बिगाहा दुई कट्ठा ८।५२ धुरमा पहिलो चरणमा विभिन्न संरचना निर्माण भइरहेका छन्। जित गढी बटौली युद्ध सङ्ग्रहालयको समेत निर्माण कार्य चलिरहेको छ। नेपाल एकीकरणको अभियान ९सन् १७४३ बाट० सुरु भएकै बेलामा अङ्ग्रेज र नेपालबिच सिमानामा विवाद सिर्जना भएको थियो। विवाद समाधान गर्न सन् १७४४ मा नेपाली प्रतिनिधि तत्कालीन अङ्ग्रेजको राजधानी मानिएको कलकत्तामा पुगे पनि विवाद समाधान हुन सकेन। सन् १८०४ मा अङ्ग्रेजले भारतको मराठा राज्य आफ्नो अधीनमा लिएपछि नेपालतर्फ अघि बढेको थियो।

सन् १८०४ मा नेपालको एकीकरणका क्रममा पाल्पा राज्य गाभिएपछि नेपालको सिमाना अवधसम्म पुगेको थियो। पाल्पाबाट भागेर गएका राज खलक र भारदारले अङ्ग्रेजको साथ लिएर पाल्पा फिर्ता लिन चाहेका थिए। त्यसै कारण नेपाल र अङ्ग्रेजबिचको सम्बन्ध बिग्रिएको थियो। बिग्रिएको सम्बन्ध अन्ततः युद्धमै परिणत भयो। सुरूका युद्धमा हारेको नेपालले विसं १८७२ वैशाख ७ मा भएको युद्धमा भने तत्कालीन अङ्ग्रेजलाई पराजित गर्‍यो।

अमरसिंह थापा ९साना० का नाति २० वर्षे उजिरसिंह थापा कर्णेल नियुक्त भएपछि उनकै नेतृत्वमा नेपालले अङ्ग्रेजसँग निर्णायक युद्ध लडेको थियो। कर्णेल थापाको नेतृत्वमा रहेको नेपाली सेनाले अङ्ग्रेज सेनामाथि विसं १८७२ वैशाख ७ गते विजय हासिल गरेको इतिहास छ।

उपमहानगरपालिकाले बनाएको जित गढी गुरुयोजनामा अहिले नेपाली सेनाले सहकार्य गरिरहेको छ। ‘यो अत्यन्तै महत्त्वको स्थल हो, यसको संरक्षण र व्यवस्थापनका लागि हामीले उपमहानगरपालिकासँग सहकार्य गरेका छौँ’, नेपाली सेनाको गरूडदल गण बुटवलका प्रमुख सेनानी रामकृष्ण श्रेष्ठले भने।

Tags :
प्रतिक्रिया दिनुहोस