नेपाल भूराजनीतिक खेलको ‘रणमैदान’ हुनु हुन्न : चिनियाँ राजदूत यान्छी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल भूराजनीतिक खेलको ‘रणमैदान’ हुनु हुन्न : चिनियाँ राजदूत यान्छी


२ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नहुने बताएकी छन् ।

चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सलाई एक अन्तर्वार्ता दिँदै उनले नेपाल द्विपक्षीय सौहार्द सहकार्य दर्साउने ‘बगैँचा’ हुनुपर्ने तर भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नहुने बताएकी हुन् ।

चिनियाँ परराष्ट्र मन्त्री वाङ यीको पछिल्लो नेपाल भ्रमणका उपलब्धीबारे ग्लोबल टाइम्सलाई प्रतिक्रिया दिँदै उनले नेपाल चीनको असल छिमेकी र मित्र रहेको बताएकी छन् । ‘दुई देशले सधैँ एक–अर्काको सार्वभौमिकता र अखण्डताको सम्मान गर्ने गरेको छ । कसैले पनि अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेका छैनन्,ु यान्छीले भनेकी छन्, ‘अहिलेको विश्व महामारीको अवस्थाबाट बाहिर निस्किएर आर्थिक र सामाजिक विकासका लागि लाग्नुपर्ने चुनौती रहेको छ ।’

चिनियाँ परराष्ट्र मन्त्री वाङ यीको भ्रमणले नेपाल चीनका लागि कति महत्त्वपूर्ण छिमेकी हो भन्ने पनि दर्साएको राजदूत यान्छीले बताएकी छन् ।

उनले भनेकी छन्, ‘नेपालले आफ्नो आवश्यकताअनुसार तय गरेको विकास मार्गमा चीनको सदैव साथ र समर्थन रहनुका साथै नेपालको आन्तरिक र बाह्य परराष्ट्र नीतिलाई चीनले समर्थन गर्ने र नेपालको बीआरआईमा सामेल हुने निर्णयलाई चीनको समर्थन रहेको परराष्ट्र मन्त्री वाङ यीले सन्देश दिनुभएको छ ।’

यस्तै नेपाल–चीन रेल्वे मार्ग विकास गर्ने योजनामा लामो समयदेखि प्रगति नभएको भन्ने प्रश्नको उत्तर दिँदै उनले दुई देशबिच रेल्वे मार्ग बनाउनका लागि कामहरू भइरहेको र दुई देशका रेल्वे विभागबिच पत्र चारहरू भएको दाबीसमेत गरेकी छन् । उनले पूर्व सम्भाव्यता अध्ययनलगायत केही महत्त्वपूर्ण कामहरू भएको पनि बताइन् ।

राजदूत यान्छीले नेपालमा सडक, विमानस्थल, जलविद्युत् आयोजनाजस्ता ठुला पूर्वाधार विकासका लागि चीनले सहयोग गरिरहेको र बीआरआईले यो सहकार्यलाई नयाँ उचाइ दिने पनि बताएकी छन् ।

उनले नेपालले आफ्नो विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग लिन सक्ने र त्यसले नेपाल(चीनको सम्बन्धमा कुनै फरक नपर्ने पनि स्पष्ट पारेकी छन् । ‘नेपाल अल्पविकसित मुलुक हो । त्यसैले विकासका लागि विभिन्न स्रोतहरूबाट सहयोग लिएर आफ्नो अर्थतन्त्रलाई अगाडि बढाउन सक्छ ।’ एमसीसी बीआरआईको प्रतिस्पर्धी योजना रहेको भन्ने प्रश्नको उत्तर दिँदै राजदूत यान्छीले भनेकी छन्, ‘हामीलाई आशा छ अन्तर्राष्ट्रिय जगतले पनि नेपालको राष्ट्रिय विकास लक्ष्यलाई हासिल गर्ने मनसाय मात्रै राखेर सहयोग गरेका छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस