हराएका २५ मोटरसाइकल फेला, सम्बन्धित धनीलाई हस्तान्तरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हराएका २५ मोटरसाइकल फेला, सम्बन्धित धनीलाई हस्तान्तरण


१ बैशाख २०७९, बिहिबार


काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २५ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १७ मोटरसाइकल र आठ स्कुटर फेला पारेर बुधबार एक कार्यक्रमका बीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले एकान्त स्थानमा सवारी पार्किङ गर्दा बढी चोरी हुने तथा हराउने गरेको बताउँदै पार्किङ गर्दा विशेष ख्याल राख्न चालकलाई आग्रह गरे ।

‘मोटरसाइकल चोरी गर्ने गिरोहमाथि निरन्तर निगरानी राखी सूचना सङ्कलन भइरहेको छ, मोटरसाइकल चोरीमा संलग्न त्यस्ता व्यक्तिमाथि महाशाखाले विशेष टोली खटाएको छ’, उनले भने ।

महाशाखा प्रमुख जोशीले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको बताउँदै पार्किङ गर्दा सवारी चालक विशेष चनाखो र सजग हुनुपर्ने बताए ।

उपत्यकाबाट हराएका मोटरसाइकलमध्ये सबैभन्दा धेरै पल्सर बाइक हराउने गरेको महाशाखाले जनाएको छ ।

महाशाखाले मोटरसाइकल हराउने बित्तिकै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गरेर टिपाउन वा ‘लस्ट भेहिकल एप्लिकेशन’मा अनलाइनमार्फत निवेदन दिनसमेत आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस