जुम्लामा १४ राजनीतिक दलबिच चुनावी प्रतिस्पर्धा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जुम्लामा १४ राजनीतिक दलबिच चुनावी प्रतिस्पर्धा


२३ चैत्र २०७८, बुधबार


खलङ्गा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जुम्लामा १४ राजनीतिक दल प्रतिस्पर्धामा उत्रिने भएका छन् ।

राष्ट्रिय मान्यता प्राप्त छ सहित आठ दलले निर्वाचनका लागि आफ्नो विवरण बुझाएका छन् । सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए ।

उक्त दलबाहेक अन्य व्यक्तिले स्वतन्त्र रूपमा उम्मेदवारी दिन सक्नेछन् । राष्ट्रिय मान्यता प्राप्तबाहेक आठ दललाई उनीहरूको विधानमा उल्लेख भयअनुरूपको चुनाव चिह्न प्रदान गरिने बताइएको छ ।

जिल्लामा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलका रूपमा सक्रिय छन् ।

कार्यालयका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका नेपाल मजदुर किसान पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त समाज पार्टी, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र राप्रपा नेपाल रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

विसं २०७४ को निर्वाचनमा ५४ हजार ६९४ मतदाता रहेकामा अहिले १३ हजार ५० बढेर ६७ हजार ७४४ मतदाता पुगेको उक्त कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस