भानु जयन्तीमा सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भानु जयन्तीमा सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय


२३ चैत्र २०७८, बुधबार


दमौली । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले आगामी असार २९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो (मंगलबार) बसेको बैठकले सार्वजनिक बिदाको निर्णय गरेको प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले जानकारी दिए ।

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिनुभएका आचार्यको सम्मानमा भानु नगरपालिकाले पनि दुई वर्षदेखि सार्वजनिक बिदा दिँदै आएको छ ।

विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो ।

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित आचार्य वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् ।

मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।

आचार्यले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् ।

उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि आचार्य नेपाली साहित्यमा चिनिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस