राक्सिराङको चेपाङ बस्तीमा बिजुली बत्ती « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राक्सिराङको चेपाङ बस्तीमा बिजुली बत्ती


२२ चैत्र २०७८, मंगलबार


बागमती । चेपाङ समुदायको बाहुल्य रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिवाङ रुन्चेवुङमा पहिलो पटक पेल्ट्रिक सेटमार्फत बिजुली बत्ती बालिएपछि त्यहाँका बासिन्दा खुसी भएका छन् ।

सीमान्तकृत चेपाङ समुदायको सङ्ख्या धेरै रहेको सो वडामा नेपाल विद्युत् प्राधिकरणको लाइन हालसम्म जडान हुन नसक्दा उक्त सेटमार्फत बिजुली बत्ती बालिएको सो गाउँपालिकाले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा नभएकाले त्यहाँका चेपाङहरूले सल्लोको दियालो बालेर घरमा उज्यालो पार्ने गरेका थिए । गाउँमा बत्ती बाल्न पेल्ट्रिक सेट शुभारम्भ गरिएपछि चेपाङका घरको अँध्यारो हटेर उज्यालो भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले बताए ।

२३ लाखको लागतमा सामुदायिक सशक्तीकरण तथा स्थानीय न्याय सञ्जाल र गाउँपालिकाको आर्थिक सहयोगका साथै स्थानीयवासीको श्रमदानमा चार किलोवाट क्षमताको पेल्ट्रिक सेट सञ्चालनमा ल्याइएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाभरिमा २० वटा पेल्ट्रिक सेट सञ्चालन भइरहेको जानकारी दिए ।

पेल्ट्रिक सेटका लागि उक्त सञ्जालले १३ लाख सहयोग गरेकामा गाउँपालिकाले छ लाख र बाँकी रु चार लाख बराबरको स्थानीयवासीले श्रमदान गरेका थिए ।

अघिल्लो वर्ष पुस महिनादेखि निर्माण सुरु गरिएको निर्माण कार्य १६ महिनामा सम्पन्न भएको उक्त सञ्जालका कार्यकारी निर्देशक प्रवीन्द शाक्यले भने । गाउँपालिका अध्यक्ष मल्लका अनुसार गाउँमा अहिलेसम्म विद्युत् प्राविधिक रणमार्फत विद्युत् सेवा नपुगेकाले गाउँपालिकाले नै यस्ता केही स्थानमा पेल्ट्रिक सेट जडान गरेर बत्ती बालिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस