सगरमाथा आरोहण गर्दै राजु लामा, ६,५०० मिटर उचाइमा कन्सर्ट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सगरमाथा आरोहण गर्दै राजु लामा, ६,५०० मिटर उचाइमा कन्सर्ट


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ। गत असार १ गते मेलम्ची र इन्द्रावती नदीमा बाढी आयो । ठुलो परिमाणमा धनजनको क्षति भयो । अरबौँको भौतिक संरचना नष्ट हुँदा सुन्दर मेलम्ची बजार बगरमा परिणत भयो । क्षणभरमै करोडौँका मालिक स्थानीय घरबार विहीन भए । दुई दशकभन्दा लामो प्रतीक्षापछि काठमाडौं आएको मेलम्ची खाने पानी आयोजनाको संरचना पुरिँदा उपत्यका बासी पुनः मेलम्चीको खानेपानीको सुविधाबाट वञ्चित भए ।

ठुलो पानी पर्‍यो । मेलम्चीको शीरमा रहेको चौर भत्किँदा बाढी आयो । जसका कारण चौरको एक भाग बग्यो । उक्त बाढीलाई लिएर आम मान्छेको बुझाइ यही हो । तर, यसका पछाडि के कारण छ ? धेरैले चासो र चिन्ता नगरेको ग्लोबल वार्मिङ अर्थात् जलवायु परिवर्तन यसको कारण हो । त्यसैले यसमा जसले जति सकिन्छ त्यति योगदान गर्नुपर्ने गायक राजु लामाको धारणा छ । यसकै लागि उनी विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्दैछन् ।

चैत २७ गते सगरमाथाको आरोहणका लागि उनी त्यसतर्फ प्रस्थान गर्नेछन् । “जलवायु परिवर्तनको असर दिनदिनै धेरै पर्दै छ । यसको असर हामीले आगामी दिनमा थप भोग्नु पर्नेछ,” राजु भन्छन्, “गत वर्ष मेलम्चीमा बाढी आउँदा त्यति धेरै क्षति भयो । हामीले सकेको सहयोग गर्‍यौँ । अर्को वर्ष अरू ठाउँमा जाला, फेरि सहयोग गरौँला । तर, अब हामीले यसको जरो कारण के हो त्यसमा ध्यान दिनुपर्छ । जलवायु परिवर्तनको असरका कारण यस प्रकारका घटना र प्रकोप दोहोरिइरहेका छन् । त्यसैले जलवायु परिवर्तन रोक्ने प्रयास सुरु हुनुपर्छ ।”

जलवायु परिवर्तन कम गर्न सबैमा चेतना फैलियोस् भन्ने उद्देश्य राखेर आफू सगरमाथाको आरोहण गर्न लागेको उनले जानकारी दिए । जलवायु परिवर्तन रोक्न नसके यसले पुर्‍याउने क्षति सामना गर्न नसकिनेतर्फ सबै समयमै सचेत हुनुपर्नेमा उनको जोड छ ।

नेपालसँगै विश्वभर यो सन्देश पुग्न सकोस् भनेरै राजु सगरमाथाको ६ हजार ५०० मिटर उचाइमा साङ्गीतिक कन्सर्ट गर्दैछन् । यो अहिलेसम्मकै सबैभन्दा उचाइमा भएको साङ्गीतिक कन्सर्ट हुनेछ ।

“मेरो अरू कुनै उद्देश्य छैन । जलवायु परिवर्तन रोक्न सकियोस् र यसमा सानो सहयोग मेरोतर्फबाट पनि होस् भन्ने मेरो चाहना हो,” राजु भन्छन्, “कार्बन उत्सर्जनले विश्वका कति मानिस प्रभावित हुँदै छन्, त्यसतर्फ विश्वको ध्यान खिचियोस् भन्ने सगरमाथा आरोहण र कन्सर्टको उद्देश्य हो ।” जलवायु परिवर्तनको असरको विषय ठुलो र गम्भीर भए पनि नेपालमा यसमा खासै धेरै काम नभएको उनी बताउँछन् ।

उनको यो अभियानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साथ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उनलाई शुभकामना दिइसकेका छन् । राजुसँगै नायिका दिया पुनले पनि सगरमाथाको आरोहण गर्ने भएकी छन् । यद्यपि, उनीहरूसँगै आरोहण गर्न लागेका भने होइनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस