खजुरामा ८० किलोमिटर सडक कालोपत्रे « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

खजुरामा ८० किलोमिटर सडक कालोपत्रे


१९ चैत्र २०७८, शनिबार


नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षको अवधिमा सडकको पूर्वाधार विकासमा फड्को मारेको छ ।

वर्षाद्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्थाका सडक कालोपत्र, पिसिसि र ग्राभेल भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका भित्रका सडक करिब ८० किलोमिटर कालोपत्र, पिसिसि र १८० किलोमिटर ग्राभेल गर्ने कार्यसँगै खजुरा गाउँपालिकाको मुहार फेरिन थालेको छ ।

गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको स्तरोन्नति गर्ने काम तीव्र रूपमा भइरहेकाले हिलाम्मे र धुलाम्मे हुने गाउँपालिकाका सबै वडामा अहिले धमाधम सडक र कयौँ मिटर नाली निर्माण कार्य भइरहेको छ । निर्वाचनको बेला जनतासँग गरेको प्रतिबद्धता अनुसारका गाउँपालिकाभित्रका मुख्य र सहायक सबै सडक र नाला पक्की गर्ने काम सम्पन्न भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्ष पतिले बताए ।

उनका अनुसार गाउँपालिकाले जनताको चाहना, आवश्यकताका आधारमा गाउँपालिकाभित्रका मुख्य, सहायक सडक नाला पुनर्निर्माण गर्ने र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । गाउँपालिकावासीले सडक क्षेत्रमा निर्माण भएका पर्खाल, घरलगायतका संरचनालाई तोडेर सडक निर्माणको काममा सहयोग गरेपछि काम गर्न सहज भएको उनले जानकारी दिए ।

हामीले यस बाहेक धेरै क्षेत्रमा काम गरेर सफलता हासिल गरेका छौँ उनले भने । खजुरा बजार क्षेत्रमा करिब दुई किलोमिटर चार लेन सडक निर्माण कार्य सुरु भएसँगै बजारको रूप पनि फेरिँदै छ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिदेखि धनौलीसम्म सडक विस्तार गर्ने गरी काम सुरु भएको छ । यो काम जारी रहेकाले यो महिनाभित्र सकिने छ ।

अहिले खजुरा गाउँपालिकाको सबैजसो वडाका सडक पक्की र ग्राभेल भइसकेका छन् भने केही सडक स्तरोन्नति कार्य भइरहेको खजुरा गाउँपालिका–४ नं। वडाका वडाध्यक्ष तिलकवीर सुनारले बताए । उनले अव खजुरा गाउँपालिकामा हिलो र धुलोको समस्या समाधान हुने क्रममा रहेको दाबी गरे ।

गाउँपालिकाले अघि सारेका विकास निर्माणका सबैजसो योजना समयमै सम्पन्न भएकोले गाउँपालिकामा विकासको प्रभाव देखिएको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले उल्लेख गरे । उनले अव वर्षामा गाउँपालिकावासीले डुबानको समस्या खेप्न नपर्ने गरी निर्माण कार्यलाई उच्च प्राथमिकता दिइएको दाबी गरे ।

खजुरा गाउँपालिकामा भौतिक पूर्वाधार मात्र नभई शिक्षा, स्वास्थ्य र खानेपानी तथा सरसफाइका क्षेत्रसमेतमा प्रभावकारीरुपमा काम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस