आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा


१८ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडे जात्रा पर्व आज मनाइँदै छ । जात्राको अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा आँखा नदेख्ने घोडा दौडाएर घोडे जात्रा मनाउने परम्परा छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो ।

पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडे जात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस