निगमले कमिसन कटौती गरेको भन्दै ग्यास उद्योगीद्वारा एलपी ग्यासको बिक्री बन्द « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

निगमले कमिसन कटौती गरेको भन्दै ग्यास उद्योगीद्वारा एलपी ग्यासको बिक्री बन्द


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा ग्यास उद्योगहरुले आज (बिहीबार)बाट बिक्रेताहरुलाई ग्याँस बिक्री वितरण बन्द गरेका छन् ।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको आह्वानमा पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार बिहीबारबाट एलपी ग्याँस उद्योगीहरुले बिक्रेतालाई बिक्री वितरण बन्द गरेका हुन् ।

कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ र नेपाल एलपी ग्यास उद्योग सङ्घले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।

कमिसन कटौतीको निर्णय नसच्याए चैत २० गतेदेखि देशभर ग्यास र पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

निगमले पेट्रोलियम बिक्रेतालाई प्रतिशतको आधारमा दिँदै आएको कमिसन २०७८ फागुन १९ गतेबाट बन्द गरेको थियो । उक्त कमिसन पाउनुपर्ने र २०७७ मंसिर १८ गतेबाट स्थगन गरिएको प्राविधिक नोक्सानीका सम्बन्धमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक नेतृत्वको अध्ययन समितिको प्रतिवेदनअनुसार लागु गर्नुपर्ने मुख्य माग राखेर उनीहरुले चैत ५ गतेदेखि आन्दोलन जारी राखेका छन् ।

पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार चैत ६ गतेबाट सबै एलपी ग्यास उद्योगहरुले नेपाल आयल निगमबाट पीडीओ खरिद रोकेका थिए । यस्तै, एलपी ग्याँस उद्योगहरुले चैत १४ गतेदेखि सबै नाकाहरुबाट भन्सार छुटाउने काम रोकेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस