गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली सङ्घ (एनआरएनए)ले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।

बुधवार काठमाडौँमा सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै उनले संवैधानिक व्यवस्था अनुसार नागरिकतासँग सम्बन्धित विषय र सङ्घले उठाउँदै आएका अरू मागहरू कानुन र नियमावली निर्माणबाट सम्बोधनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यही चैत्र १२ र १३ गते काठमाडौँमा सम्पन्न दशौँ गैर आवासीय नेपाली सम्मेलनबाट निर्वाचित समितिलाई बधाई दिँदै मन्त्री बडूले समुन्नत नेपाल निर्माणको अभियानमा गैर आवासीय नेपालीसँग सहकार्य गर्न सरकार तयार रहेको बताए।

सङ्घका अध्यक्ष कुल आचार्य नेतृत्वको टोलीले मन्त्री बडूलाई नेपालको संविधानले गैर आवासीय नेपाली नागरिकताका सम्बन्धमा गरेको व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण, तीन पुस्तापछिको एनआरएनलाई पनि गैर आवासीय नेपाली नागरिकताबाट वञ्चित नगराउने गरी संविधान संशोधन गर्न राजनीतिक सहमतिलगायत विषयमा सहयोग गर्न आग्रह गरेका थिए ।

साथै उनले दोहोरो नागरिकता लिन नमिल्ने देशमा रहेका गैर आवासीय नेपालीका लागि परिचयपत्रको माध्यमबाट सम्पत्तिलगायत अधिकार प्रयोग गर्न सकिने गरी गैर आवासीय नेपाली ऐन, २०६६ लाई संशोधन गर्न पहल र सहयोगका लागि समेत आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस