माधव नेपालको अभिव्यक्तिप्रति पूर्व प्रधानसेनापति थापाको आपत्ति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माधव नेपालको अभिव्यक्तिप्रति पूर्व प्रधानसेनापति थापाको आपत्ति


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ। नेपाली सेनाका पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापाले सत्तारुढ नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

नेपालले आइतबार नेकपा एसनिकट समाजवादी प्रेस सङ्गठनको विस्तारित बैठक समापनका अवसरमा बोल्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापतिसँग धेरै पटक बसेर गोप्य कुराकानी गरेको र बङ्गलादेशको मोडलमा चुनाव गराएर सत्ता कब्जा गर्ने षडयन्त्र गरेको सूचना सरकारी एजेन्सीहरूबाट आफूहरूले थाहा पाएको बताएका थिए ।

नेपालले राष्ट्रपति र प्रधानसेनापतिसँग धेरै पटक गोप्य कुराकानी गरेको र चोलेन्द्र शमसेरसँग मिलेर अदालत कब्जामा लिन खोजेको बताएका थिए । नेपालले सरकारी एजेन्सीबाट ओलीको दिमागमा के चलिरहेको थियो भन्ने सूचना पाएपछि यो सरकारले त्यसलाई असफल पारेको बताएका थिए ।

नेपालको अभिव्यक्तिप्रति नेपाली सेनासमेत गम्भीर भएको उच्च अधिकारीहरूले बताएका छन् । ओली प्रधानमन्त्री भएका बेलाका सेनापति थापाले भने नेपालको भनाइ निराधार र आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन् ।

थापाले भने, ‘मेरो स्वभाव पनि सबैलाई थाहा छ । उहाँले जुन अभिव्यक्ति दिनुभएको छ त्यो टोटल्ली फल्स छ । यस्ता कुराको कुनै जस्टिफिकेसन छैन । राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यूसँग म त्यसरी कहिल्यै बसिँन र मलाई तत्कालीन सरकार वा प्रधानमन्त्रीले कहिल्यै त्यसो भन्नु पनि भएन । यो कुरा किन र कुन उद्देश्यले आएको हो जिम्मेवार व्यक्तिहरूले नेपाली सेनालाई यसरी विवादमा तान्न हुँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस