क्रिकेट विश्वकप लिग टु: जितको लय कायम राख्ने योजनासहित नेपालले आज युएई विरुद्ध खेल्दै « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

क्रिकेट विश्वकप लिग टु: जितको लय कायम राख्ने योजनासहित नेपालले आज युएई विरुद्ध खेल्दै


४ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । युएईमा भइरहेको आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा नेपालले शुक्रबार दोस्रो खेल घरेलु टोली युएई विरुद्ध खेल्दै छ ।

शृङ्खलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी)लाई हराइसकेका छन् । त्यसैले दुवै टोली जितको लयलाई कायम राख्ने योजनासहित मैदान उत्रनेछन् ।

युएईले पहिलो खेलमा पीएनजीलाई १७६ रनमा रोक्दै ७ विकेटको सहज जित हात पारेको थियो । तर नेपालले भने पीडनजीलाई हराउन सङ्घर्ष गर्नुपरेको थियो । पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर ४ बल अगाडि पूरा गरेको थियो । रोहित कुमार पौडेलको धैर्यपूर्ण ब्याटिङ र करण केसीको आक्रामक ब्याटिङमा नेपाल विजयी भएको थियो ।

करिब एक महिनाअघि ओमानमा युएईसँग महत्त्वपूर्ण खेलमा पराजित भएपछि नेपाल टी–२० विश्वकप छनोट हुन असफल भएको थियो ।

एक महिना पनि नबित्दै नेपालले युएईसँग एक दिवसीय अन्तर्राष्ट्रिय फर्म्याटमा खेल्दा त्यो हारको पीडालाई बिर्साउने अवसर समेत हुनेछ ।

युएई पछिल्लो समय एसोसिएट टिममा उत्कृष्ट फर्ममा रहेको छ । युएईले यस श्रृखंला अघि पनि ओमान र नामिबिया सम्मिलित लिग टु कै शृङ्खला खेलेको थियो । त्यसबाट पनि उनीहरूलाई राम्रो तयारी मिलेको छ । नेपालले युएईलाई उसैको मैदानमा पराजित गर्न अझ मिहिनेत गर्नुपर्ने देखिन्छ ।

नेपालका कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु दासानायकेले पनि लिग टु को तयारीका लागि श्रीलङ्का जानुअघि युएई अहिलेको अवस्थामा उत्कृष्ट टिमको रूपमा रहेको बताएका थिए ।

लिग टु मा युएई १५ खेलबाट १८ अङ्क जोडेर दोस्रो स्थानमा छ । ९ खेल खेलेको नेपाल १० अङ्क जोड्दै छैटौँ स्थानमा छ ।

३ वर्षपछि नेपाल र युएईबिच एक दिवसीय अन्तर्राष्ट्रिय खेल हुँदै

नेपाल र युएई एक दिवसीय अन्तर्राष्ट्रियमा तीन वर्षपछि पहिलो पटक खेल्न लागेका हुन् । सन् २०१९ जनवरी–फेब्रुअरीमा नेपालले युएई भ्रमण गर्दै तीन–तीन खेलको टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । दुवै शृङ्खलामा नेपालले सुरुको खेल हारेर पनि पुनरागमन गर्दै शृङ्खला जितेको थियो ।

एक दिवसीय अन्तर्राष्ट्रियमा नेपाल पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो । तर त्यसपछि नेपालले युएईलाई दोस्रो खेलमा १४५ रनले र तेस्रो खेलमा ४ विकेटले हरायो । तेस्रो खेलमा नेपालले २५५ रनको लक्ष्य पूरा गर्दा तत्कालीन कप्तान पारस खड्काले ११५ रन बनाएका थिए । त्यो नेपाली खेलाडीले एक दिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म बनाएको एक मात्र शतक हो ।

त्यस शृङ्खला बाहेक नेपालले युएईसँग अर्को एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ । सन् २०१८ मा भएको एसिया कप छनोटमा नेपाल युएईसँग ७८ रनले पराजित भएको थियो । अहिलेसम्म एक दिवसीय अन्तर्राष्ट्रियमा चार पटक भेट हुँदा दुवै टिमले २–२ खेल जितेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस