राष्ट्रिय प्रसारण नियमावली पवित्र उद्देश्यले ल्याएका हौँ : सञ्चारमन्त्री कार्की « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय प्रसारण नियमावली पवित्र उद्देश्यले ल्याएका हौँ : सञ्चारमन्त्री कार्की


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रसारण नियमावली पवित्र उद्देश्यले ल्याएको भन्दै त्यसमा भएको संशोधनले अभिव्यक्ति स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन् ।

बुधबार नेपाल पत्रकार महासंघद्वारा सञ्चालित एक कार्यक्रममा मन्त्री कार्कीले नियमावलीमा भएको संशोधनले अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप नगरेको भन्दै अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने उद्देश्य नभएको समेत बताए । उनले भने, ‘राष्ट्रिय प्रसारण नियमावलीमा भएको संशोधनले अभिव्यक्ति स्वतन्त्रतामा कुनै हस्तक्षेप गरेको छैन । त्यो उद्देश्यले ल्याइएको पनि हैन ।’

सरकारले दक्षिण एसियामै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अग्रणी देशको रुपमा प्रस्तुत हुन चाहेको बताउँदै उनले प्रेस स्वतन्त्रताको सम्मान गर्न र यसलाई अझै अगाडि बढाउन सरकार सधैं तत्पर रहेको उल्लेख गरे । उनले भने, ‘जनतालाई सुशासनको प्रत्याभूति गराउने कुरामा सरकार प्रतिबद्ध छ ।’

सरकारले अनलाइन टेलिभिजनसम्बन्धी गरेको व्यवस्था कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उक्त व्यवस्था नियन्त्रणका लागि नभई नियमनका लागि भएको बताए ।

सरकारले युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो ।

नियमावलीले इन्टरनेटको माध्यमबाट हुने युट्युब लगायत विभिन्न ओटीटी प्लेटफर्मुका साथै इन्टरनेटमार्फत नियमित रुपमा श्रव्य दृश्य कार्यक्रम प्रसारण गर्ने कार्यलाई अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरेको छ ।

संशोधित नियमावलीको नियम २ को उपनियम २ मा गरिएको परिभाषाअनुसार कुनै कार्यक्रम डीटीएच केवल वा उपग्रह टेलिभिजनको माध्यम प्रयोग नगरी इन्टरनेटमार्फत गराइने सेवालाई ओटीटी भनिएको छ भने त्यसले इन्टरनेटमार्फत अरु प्लेटफर्म माथिको मिडियो स्ट्रिमिङ सेवा समेतलाई जनाउने उल्लेख छ । त्यस्तै इन्टरनेट मार्फत आफैंले उत्पादन गरी नियमितरुपमा श्रव्यदृश्य कार्यक्रम प्रसारण गर्ने कार्यलाई अनलाइन टेलिभिजनको रुपमा परिभाषित गरेको छ । नियमावलीअनुसार अब आफैंले उत्पादन गरी प्रसारण गर्ने अनलाइन टेलिभिजन सञ्चालनको इजाजतपत्र लिनका लागि ५ लाख रुपैयाँ तिर्नुपर्नेछ ।

त्यस्तो सामग्री प्रकाशन गर्दा उपभोक्ताको उमेरअनुसार त्यसको वर्गीकरण गर्नुपर्नेछ । बालबालिका र सबै उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई, यू रेटिङ, दश वर्षदेखि अठार वर्षसम्मको उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई,आर, रेटिङ र अठार वर्षभन्दा माथिका उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमकालागि, ए रेटिङ दिनुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस