नेपाली सेनाले थाल्यो ठूलोढुङ्गा (पल्सुङ ओडार) को जोखिम हटाउन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली सेनाले थाल्यो ठूलोढुङ्गा (पल्सुङ ओडार) को जोखिम हटाउन


२१ फाल्गुन २०७८, शनिबार


नेपाली सेना

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित नेगी गाउँमा बस्तीमाथि रहेको ठूलोढुङ्गा (पल्सुङ ओडार)लाई नेपाली सेनाको जबरजङग गणले हटाउन सुरु गरेको छ ।

विसं २०७२ को भूकम्पको कम्पनले डगमगाएको ढङ्गा हरेक वर्ष स्थान छाडेर बग्न थालेसँगै त्यसलाई सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर हटाउन सुरु गरेको हो ।

ढुङ्गाले बस्तीमा जोखिम पुर्‍याएसँगै स्थानीयवासीको आग्रहमा दुप्चेश्वर गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिमा ढुङ्गा हटाइदिन गरेको आग्रह अनुसार आजदेखि काम सुरु गरिएको छ । उक्त ढुङ्गाले नेगी गाउँका ४७ घरधुरी बासिन्दासहित एक आधारभूत विद्यालय जोखिममा परेको प्राविधिक प्रतिवेदनका आधारमा नेपालमा उपलब्ध प्रविधि, स्रोतसाधनको परिचालन गरेर ढुङ्गा हटाउन दुप्चेश्वर गाउँपालिकासँग गरेको सम्झौता अनुसार काम थालिएको जबरजङग गण देवीघाटका गणपति (प्रमुख सेनानी) अरुण कार्कीले जानकारी दिए ।

उनका अनुसार गत सोमबारदेखि प्राविधिक टोली पुगे पनि आवश्यक उपकरण हेलिकप्टरमार्फत बुधवार त्यहाँ पुराएसँगै ढुङ्गा फुटाउने पहिलो ब्लाष्टिक आज गरिएको हो । ‘मानवीय सहायताबाट हटाउन प्रयास गरे पनि त्यो सम्भव देखिएन’, प्रमुख सेनानी कार्कीले भने, ‘नेपालमा उपलब्ध उपकरणसहित स्रोतसाधनलाई हेलिकप्टरमार्फत पुर्‍याइ विस्फोटक पदार्थको सहयोगले जोखिम ढुङ्गा हटाइने छ ।’

नेपाली सेना र नागरिकबिचको सम्बन्ध थप मजबुद बनाउन प्राप्त जिम्मेवारीको काम सैनिक टोलीमार्फत अघि बढाइएको हो । जबरजङग गणको नेतृत्वमा नेपाली सेनाको एक सय जना सैनिकलाई ढङ्गा हटाउन दुई महिना लाग्ने अनुमान गरिएको छ । उक्त ढुङ्गालाई स्थानीय तामाङ समुदायले पल्सुङ ओडार भन्ने गरेका छन् ।

तामाङ भाषामा पल्सुङ भनेको ठुलो हो । त्यहाँ दुई ठुला ढुङ्गा मिलेर ओडार बनेको छ । ओडारमा स्थानीयवासीले दाउरा, खोस्टा राख्ने तथा बारीमा काम गर्दा आराम गर्ने स्थल बनाएका थिए । ढुङ्गाको तौल र आकार के कति परिणाममा भन्ने यकिन नभए पनि बाहिरी सतह २० हजार घनामिटर भन्दा बढीको हुनसक्ने अनुमान गरिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए । उनक अनुसार ढुङ्गा अडिएको स्थान भीर क्षेत्र र स्थान्तरण गरिएको बस्ती नजिकै पर्ने हुँदा दिउँसो मात्रै काम गरिने नेपाली सेना र पालिकाबिच भएको सम्झौतामा उल्लेख छ ।

ढुङ्गा हटाउन एक करोड लाग्ने अनुमान

जोखिम ढुङ्गा हटाउन प्रारम्भिक अध्ययनमा एक करोड लाग्ने देखिएको छ । गाउँपालिकासँगको सहकार्यमा नेपाली सेना र प्राविधिक टोलीको स्थलगत अध्ययनमा ढुङ्गालाई विस्फोटक पदार्थको प्रयोग गरेर हटाउन चाहिने सामग्री खरिद, ढुवानी, जनशक्ति र जोखिम बस्तीका बासिन्दालाई स्थान्तरणका लागि एक करोड लाग्ने देखिएको हो ।

त्यसको लागि सङ्घीय सरकारले २५ लाख, बागमती प्रदेश सरकारलाई २० लाख र दुप्चेश्वर गाउँपालिकाले ४० लाख उपलब्ध गराइसकेको छ । ‘अहिले अनुमान गरिएको बजेट ढुङ्गा फुटाउन र सो क्रममा हुनसक्ने दुर्घटनाबाट स्थानीयवासीलाई जोगाउन अस्थायी टहरा निर्माण गरेर स्थान्तरणको लागि खर्च गरिने छ’, अध्यक्ष तामाङले भने, ‘ढुङ्गालाई विस्फोट गराउँदा उछिट्टिएर बस्तीका अधिकांश घर क्षति पुग्न सक्ने देखिएको त्यसको पुनःनिर्मणको लागि अतिरिक्त बजेट आवश्यक पर्दछ ।’

जनप्रतिनिधिको चासो

विसं २०७२ वैशाख १२ मा गएको शक्तिशाली भूकम्पले डगमगाएको ढुङ्गा क्रमशः बग्ने क्रममा पाँच वर्षपछि आफ्नो स्थान छाड्न सुरु गरेको हो । विसं २०७७ भदौ दोस्रो साता परेको वर्षातले ढङ्गाले जग सतह छाडेसँगै स्थानीयवासीलाई सुरक्षित बनाउने काम १८ महिनापछि सुरु भएको हो ।

नेगी बस्तीलाई ढुङ्गाले जोखिम बनाएसँगै विसं २०७७ भदौमा उक्त क्षेत्रबाट निर्वाचित सङ्घीय सांसद हितबहादुर तामाङ, प्रदेशसभा सदस्यमा निर्वाचित बागमती प्रदेशको उपसभामुख राधिका तामाङले राहत र सुरक्षित स्थानमा बसोबासको प्रबन्ध मिलाउन कसरत थालेका थिए ।

सरोकारवाला सबै पक्षको प्रयासले ढुङ्गा हटाउन सङ्घीय र प्रदेश सरकारबाट बजेट व्यवस्थापनदेखि नेपाली सेनालाई जिम्मेवारी दिन निरन्तरको पहलले काम अघि बढेको हो । सैनिक टोलीले ढङ्गा हटाउन सुरु गर्न लागेसँगै आवश्यक सहयोगको प्रतिबद्धता तथा प्रभावित बासिन्दालाई राहत उपलब्ध गराउन नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशरण महतले बुधवार सोही स्थानमा पुगेर चासो देखाए ।

जोखिम बस्तीका करिब २५० जनालाई सुरक्षित वासस्थान बनाएसँगै त्यहाँ चाहिने खानेपानी, विद्युत्, शौचालय, आउजाउ गर्न सहज बाटो, बालबालिका पढाइलगायतका गतिविधि सहज बनाउन प्रवक्ता डा महतले दुप्चेश्वर गाउँपालिकालाई आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस