निर्माणाधीन मोटरेबल पुल भासिन थाल्यो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निर्माणाधीन मोटरेबल पुल भासिन थाल्यो


२० माघ २०७८, बिहिबार


म्याग्दी । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा पर्ने पखेरस्थित म्याग्दी नदीमा निर्माणाधीन पक्की मोटरेबल पुल भासिन थालेको छ ।

एक सय १७ मिटर लामो र ११ मिटर चौडाइ भएको पुलको पखेर तर्फको ३५ मिटर लामो स्पाम (भाग) यही माघ १८ गते मङ्गलबार ढलान भएको थियो ।

अन्य दुई वटा स्पामको ढलान ठिक भए पनि पछिल्लो पटक ढलान भएको स्पामको मध्यभागको दायाँ र बायाँतर्फ सतह भन्दा दुई इन्च भन्दा बढी भासिएको पखेरका बासिन्दा धनबहादुर थापाले बताए ।

‘ढलानको भार थाम्न नसकेर टेको लगाइएका फार्मा जमिनमा गाडिएपछि पुल भासिन थालेको हो’, उनले भने ‘सेटिङ गर्दा टेका राख्ने क्रममा भएको लापरबाहीले ढलान दबेर भासिन थालेको छ ।’

बालुवा र सिमेन्ट घोलेर गहिरो देखिएको ठाउँमा हाल्ने क्रममा बुधबार स्थानीयवासीले रोकेका थिए । पुलको बीच भाग उठेको र छेउतर्फ गहिरो, खाडल परेको र भासिएर बाङ्गो देखिन थालेपछि गुणस्तर र दिगोपनामा शङ्का र प्रश्न उठेको बेनी नगरपालिका–४ तातोपानीका वीरेन्द्रमान शाक्यले बताए।

‘भविष्यमा पुलको उपभोगका क्रममा जोखिम, गुणस्तर र दिगोपनामा असर पर्ने नपर्ने विषयमा प्राविधिक अनुसन्धानका लागि सडक डिभिजन, जिल्ला प्रशासन र नगरपालिकामा अनुरोध गरेका छौ’, उनले भने, ‘पुल बनेर मात्र भएन, सुरक्षित रुपमा उपयोगयोग्य र गुणस्तरीय हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

निर्माण कम्पनीका इन्जिनियर गोपालकुमार शाहले फुटपाथको भाग दबेर कुनै असर नपर्ने दाबी गर्दै अर्को ढलान गर्दा सतह मिलाउने बताए । ‘ढलान गर्दागर्दै दबेको हुनाले त्यही अनुसार सेट हुन्छ’, उनले भने, ‘फुटपाथ बनाउने क्रममा सतह मिलाउन सकिन्छ । गाडी गुड्ने भाग केही भएको छैन ।’

ढलानका क्रममा उपस्थित भएका सडक डिभिजन कार्यालय बागलुङका प्राविधिक तोपबहादुर थापाले पनि यो सामान्य विषय भएको प्रतिक्रिया दिए । फुटपाथमा थप सात सेन्टिमिटर बाक्लो ढलान गर्ने क्रममा सतह मिलाउन सकिने उनको भनाइ छ । सडक डिभिजनका इन्जिनियर सहितको टोली आज पुलको निरीक्षणमा आएका थिए ।

मङ्गला गाउँपालिकाको ३, ४ र ५ नम्बर वडालाई सडक सञ्जालसँग जोड्न सडक डिभिजन कार्यालय बागलुङले पखेरका साथै बाबियाचौरको माटेबगर र पोक जोड्ने म्याग्दी नदीमाथि ८० मिटर लामो पुल बनाउन विसं २०७५ पुसमा लुम्बिनी–प्राकृतिक जेभीसँग रु २२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

विसं २०७७ पुस २५ मा सम्पन्न गर्ने लक्ष्य भए पनि ठेकेदारले पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन गर्न, निर्माण सामग्री जुटाउन नसक्नु, कोरोना भाइरसको महामारी र बाढीका कारण ढिलाइ भएको छ ।

११ मिटर चौडाइ भएको माटेबगर–अर्मन जोड्ने अर्को पुलको ४० मिटरको एउटा स्पाममा ढलान सकेको ठेकेदारले अर्मनतर्फको फिल्लर ठडाएर ढलानको तयारी गरेको छ । फाँपरखेत–पखेर जोड्ने पुलका चार वटै पिलर निर्माण र ढलान सकिए पनि दायाँबायाँ पहुचमार्ग बनाउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस