तरकारी तथा फलफूलमा विषादी : कार्तिक महिनामा ६२२८ नमुना परीक्षण « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

तरकारी तथा फलफूलमा विषादी : कार्तिक महिनामा ६२२८ नमुना परीक्षण


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ । खाद्य तथा गुण नियन्त्रण विभागले विदेशबाट आयातित तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेषलाई तीव्रता दिएको छ ।कार्तिक १ गतेबाट परीक्षण सुरु गरेको विभागले एक महिनाको अवधिमा मात्रै ६ हजार दुई सय २८ नमुना परीक्षण गरेको छ ।

नेपालगन्ज, भैरहवा, जलेश्वर, धनगढी, विराटनगर, काँकडभित्ता र वीरगन्जस्थित विभाग मातहतका नाका स्थित प्रयोगशाला तथा कार्यालयहरूबाट सो स्याम्पल परीक्षण गरिएको विभागले जनाएका छन् । विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जबाट एक हजार एक सय २३, भैरहवाबाट तीन हजार २६ र धनगढीबाट चार सय २६ नमुना परीक्षण गरिएको छ ।

यसैगरी खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय काकरभित्ताबाट चार सय ५५, विराटनगर दुई सय २०, जलेश्वरबाट चार सय ४७ र वीरगन्जबाट पाँच सय ३१ वटा नमुना परीक्षण गरिएकोमा सो मध्ये झापामा चार वटा केराको नमुनाहरू तथा नेपालगन्जमा दुई वटा सुन्तलाको नमुनाहरूमा तोकिएको मात्रा भन्दा अत्यधिक मात्रामा विषादी पाइएको थियो ।

यसअघि केन्द्रीय कृषि प्रयोगशाला मातहतका द्रुत जीवनाशक विषादी अवशेष परीक्षण इकाईहरूबाट भइरहेको परीक्षण कार्तिक १ गतेदेखि विभागले जाँच गर्न थालेको हो । खाद्य ऐन, २०२३ को दफा ३ ले दिएको प्रावधान बमोजिम कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्णयअनुसार विभागले देशका ७ वटा कार्यालयहरूबाट जाँच गरिरहेको छ । महानिर्देशक वैद्यका अनुसार थप अन्य प्रमुख नाकाहरुबाटसमेत चाँडै विषादी जाँच परीक्षण सुचारु गर्न मेसिनेरी तथा रसायन खरिद गर्नुकालागि कृषि तथा पशुपंक्षि मन्त्रालयले थप बजेटका लागि पहल गरिरहेको छ ।

सम्बन्धित समाचार : खाद्य विभागले आजदेखि विदेशबाट आउने तरकारी र फलफूलमा विषादी अवशेष परीक्षण गर्दै

भन्सार बिन्दुहरूमा विषादी नमुना परीक्षणका लागि असार २७ को सचिव स्तरको निर्णयबाट दुई महिना पछि भदौ २८ गतेबाट नै भन्सार नाकाहरूमा खाद्य विभागले विषादी परीक्षणको काम गर्ने निर्णय भए पनि जनशक्ति अभाव देखाउँदै तोकिएको समयमा परीक्षणको काम सुरु हुन सकेको थिएन ।

भदौ चार गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिर कुमार ढुङ्गानाले तरकारी तथा फलफूलमा हुन सक्ने विषादीको मात्रा उपभोक्ता स्वयंले थाहा पाउने विधिहरू सर्वसाधारणलाई जानकारी दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र, औषधि व्यवस्था विभाग र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रतिनिधिहरूलाई निर्देशन दिएका थिए ।

सम्बन्धित समाचार : विषादीको मात्रा थाहा पाउने विधि सर्वसाधारणलाई जानकारी गराउन सचिव ढुङ्गानाको निर्देशन

आयातित तरकारी र फलफूलमा अनिवार्य विषादी जाँच गर्न भन्दै सर्वोच्चले २०७५ असारमा सरकारको नाममा अन्तरिम आदेश जारीसमेत गरेको थियो ।

यसैगरी विभागले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकको कार्य प्रगति सार्वजनिक गरेको छ । जसमध्ये खाद्यान्न र दलहनजन्यका एक सय ३१ वटा, तेल तथा घ्युजन्यका ९४ वटा, फल तथा सागपातजन्य पदार्थका ७४ वटा, दाना पदार्थका ४५ वटा, मसलाका ४० वटा, चिया कफीका २८ वटा दूध तथा दुग्ध पदार्थका २१ वटा, प्रशोधित पिउने पानीका ४० वटा, कन्फेक्सनरीका १६ वटा नमुनाहरूको विशेषण परीक्षण गरेकामा ३६ वटा नमुनाहरूको परीक्षण खाद्य मापदण्ड अनुसार नभएको विभागले जनाएको छ ।

यसैगरी मापदण्डभित्र नपरेका उद्योग तथा व्यापार कम्पनीमाथि कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइएको विभागकी महानिर्देशक जोशीले बताएकी छिन् । जोशीका अनुसार पहिलो त्रैमासिकमा खाद्य ऐन तथा नियम अनुसार न्यून स्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा जम्मा २७ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको छ ।

दायर गरिएका ११ मुद्दाहरूमा दुषितका ९ वटा मुद्दाहरू न्यून गुणस्तरका, ६ वटा मुद्दाहरू लेबललगायतका विवरण नमिलेका तथा एउटा मुद्दा खाद्य ऐन नियम निर्देशिका उलङ्घन सम्बन्धी छन् । २७ मुद्दाहरूमध्ये खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दाहरू सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दाहरू सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा दर्ता गरिएको उनले जानकारी दिइन् ।

खाद्य आयात निर्याततर्फ प्रथम त्रैमासिक अवधिमा जम्मा ६ हजार चार सय ३८ आयात अनुमति जारी गरिएकोमा ६१ खाद्य पदार्थका कन्साइन्मेन्टहरुको अस्वीकृत गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । आयात अनुमतिका लागि आवश्यक कागजात पूरा नभएका तेल, मह, मसला, कन्फेक्सनरी, केराउ आयात रोक्का गरेका सिन्थेटिक पेय पदार्थ लगायतका विविध खाद्य पदार्थहरू रहेको उनको भनाई छ ।

त्यस्तै ८६ वटा आहारपूरक खाद्यपदार्थ नियमन गरेको विभागले जनाएको छ । यस अवधिमा नाकामा रहेका विभागका १२ वटा गुणस्तर प्रमाणीकरण कार्यालयमा जम्मा १६ हजार ३१० नमुनाहरू जाँच गरी नियमन गरिएको विभागको भनाई छ ।

होटेल रेस्टुरेन्ट स्तरीकरण कार्यक्रम अन्तर्गत विभाग तथा मातहतका कार्यालयहरूबाट जम्मा ४२ वटा होटेल रेस्टुरेन्ट स्तरीकरण गरिएकोमा २ (४.८%) वटाले अति उत्तम, ७ (१६.७%) वटाले उत्तम, २३ (५४.७%) वटाले सन्तोषजनक, ७ (१६.७%) वटाले सामान्य स्तर प्राप्त गरेका र ३ (७.१%) वटा भने स्तरीकरणमै नपरेको देखिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका ८ वटा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरू, २२ वटा डिभिजन कार्यालयहरू र १२ स्थानमा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरू गरी जम्मा ४३ कार्यालयहरूबाट खाद्य ऐन, २०२३ तथा खाद्य नियमावली, २०२७ को कार्यान्वयनको गरिँदै आइएको छ ।

विभागे नेपाल असल कृषि अभ्यास प्रमाणीकरण सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

उपभोक्ताहरूलाई स्वस्थ र सुरक्षित खाद्य तथा कृषिजन्य वस्तु उपलब्ध गराउन, दिगो कृषिलाई योगदान पुर्‍याउन, निर्यात प्रवर्द्धनका साथै आयात व्यवस्थापन गर्न नेपाल असल कृषि अभ्यास लागू गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल असल कृषि अभ्यास कार्यान्वयन निर्देशिका, २०७५ जारी गरेसँगै नेपाल असल कृषि अभ्यास प्रमाणीकरण निकायको रूपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काम गर्दै आएको छ ।

जसअनुसार विभागले कृषि परियोजना टिकाथली, महालक्ष्मी न. पा.–५, टिकाथली; विशेष सदाबहार कृषि फार्म , नागार्जुन न. पा. –८, राम कोट; मैत्रीमंगलम् अर्ग्यानिक कृषि फार्म, नागार्जुन न. पा.–६, राम कोट गरीविगतमातीन वटा कृषि फर्महरूलाई नेपाल असल कृषि अभ्यास प्रमाणीकरणको प्रमाणपत्र जारी गरिएकोमा उक्त कृषि फर्महरूको नियमित सर्भिलेन्स सम्परीक्षण गर्ने कार्य गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस