स्टाफ कलेजलाई सम्झिँदा … « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

स्टाफ कलेजलाई सम्झिँदा …


२६ असार २०७८, शनिबार


भाग २


…….मोबाइलको घण्टी बज्छ । समयले अपराह्नको ३ बजाइसकेको हुन्छ । वि.सं. २०७२ सालको भूकम्पले भत्काएको स्टाफ कलेजको मुख्य भवन ‘सम्पदा सदन’ धमाधम बनिरहेको छ । बगैँचामा रोपिएका ज्याकराण्डका बोटहरू वसन्त ऋतुको पर्खाइमा छन् । म कार्यक्रमका सभाध्यक्षको मन्तव्य सकिनासाथ कार्यक्रम हलबाट बाहिर आउँछु र नेपाल धितो पत्र बोर्डको गेटलाई देब्रे पारेर अगाडि बढ्छु । यसलाई छोटकरीमा सेबोन भन्ने गरिन्छ । कुनै समय अडिट फर्ममा काम गर्दा अडिट सिक्ने क्रममा यहाँ एक हप्ता बिताएको छु । गेटको बाहिर मेरा पुराना मित्र गणेश श्रेष्ठ गेटमा मलाई कुरी राखेका हुन्छन् । आज उनको कीर्तिपुरमा रहेको घरमा बास बस्ने र हाम्रो सम्बन्धलाई नवीकरण गर्ने कार्यक्रम छ । उही पुरानो मित्रताको हवाला दिँदै म उनलाई सम्बोधन गर्न पुग्दछु, के छ सिए सा’ब खबर ?

हुन त कोड अफ इथिक्सले सिए पास नगरी कसैलाई सिए भन्न पाइँदैन । त्यसैले मैले उनको नाम मोबाइलमा सेभ गर्दा उनको नाम पछाडि सिए शब्द राखेर सेभ गरेको छु । ऊ पनि के कम, के छ हाकिम सा’ब भन्न भ्याइहाल्छ । अब त ठुलो भयौ यार भन्छ । उसले सर्टको बाहिर पट्टी प्रस्ट देखिने गरी हरियो पेन भिरेको छ । उसले मलाई केही दिन अगाडि कर कार्यालयमा कर अधिकृतसँग बित्थामा नोकझोँक भएको कुरा सुनाएको थियो । मलाई त्यहीँ कुराको याद आयो । उसका अनुहारका रेखाले त्यो वेदना मेरा अगाडि लुकाउन सकिरहेको छैन । लाग्छ, उसले मबाट त्यस्तो व्यवहार नहोस् भन्ने चाहन्छ । साँच्चै भन्ने हो भने निजामती कर्मचारीको जनस्तरमा प्रभाव राम्रो छैन ।

राष्ट्रसेवकहरू जन सेवक बन्न अझै सकेको छैनन् । एकाध कर्मचारी बाहेक जनताको नजरमा राम्रो बन्न सकेका छैनन् । जनताका नजरमा मन्त्रालयको सचिवको इज्जत वडा सचिव र गाविस सचिवले धानी दिएका छन् । मैले पहिला काम गरेको अफिसमा अधिकृत नै भए पनि कुन वडाको सचिव भनेर सोध्ने गर्थे ? जनताको नजरमा अधिकृत भन्दा खरिदार, सुब्बा स्तरको गाविस सचिव ठुला मान्छे हुन् । डोटीमा पुगेर सिटामोलको गोटी बाँड्ने हेल्थ असिस्टेन्टको नै त्यहाँको लागि डाक्टर हुन् । काठमाडौँमा बसेर एनएमसीको लाइसेन्स बोकेर मात्र नहुने रहेछ । जीवन झोल पाएमा सरकारले राम्रो काम ग¥यो र पाइएन भने यो सरकारले केही गरेन भनेर जस अपजस तुरुन्तै पाउँछ । जनस्तरमा काम गर्नुको मजा नै त्यसैमा छ, तुरुन्तै प्रतिक्रिया पाउन सकिने ।

म उनको साथ लागेर एकान्त कुना हुँदै बल्खु पनिका पुग्छु । जनप्रशासन प्राइभेट तर्फको विद्यार्थी भएको हुनाले माघमा हुने परीक्षाको लागि केही पुस्तक किन्नु छ मलाई ।

“दाइ नमस्कार ।”

उही जोसिलो आवाज आउँछ । मेरा लागित्यो आवाज नौलो नभएता पनि गणेशको लागि त्यो आवाज नौलो हुन्छ । उनको डोट्याली भाषा मलाई पनि मिठो लाग्छ । पोहोर साल प्राइभेट फर्म बुझाउन जाँदा भेटिएको थियो । सुदूरपश्चिम अछाम जिल्लाका उनका बाबु आमा दुवै छैनन् । उनका बुबा दश वर्षे जनयुद्धका क्रममा सेनाले राती बास बसेको बेलामा लगेको थियो । उनका बुबा यार्सागुम्बाका व्यापारी थिए । उनी दार्चुलाको पाटन विमानस्थलबाट काठमाडौँका बजारमा यार्सागुम्बा पुर्‍याउँथे भने उताबाट फर्किदा गोल्ड स्टार जुत्ता लिएर आउने गर्दथे । संयोगवश त्यो पटकको सबै जुत्ता माओवादी लडाकुको हातमा परेको थियो ।

उनीबाट अरू कसैले किनेर लगेका थिए । आर्मी र माओवादीबीच खलङ्गाको ब्यारेकमा भएको दोहोरो भिडन्तमा माओवादीतर्फ ठुलो क्षति भएको थियो । भोलिपल्ट मृतकहरूको फोटो देशव्यापी रूपमा छ्यापछ्याप्ती भयो । सबैले त्यही गोल्ड स्टार जुत्ता लगाएका रहेछन् । त्यो कुरा थाहा पाएर सोधपुछका लागि आर्मीले लगेका उनका बुबा कहिल्यै फर्केर आएनन् । उनकी आमा छाउगोठमा बिच्छीले टोकेर मरेकी थिइन् ।

पछि उनका काकाले उनलाई काठमाडौँ लगेर पढाउँछु भनेर ल्याएका थिए । बड्डाले उनलाई सडक बालकको रूपमा छाडिदिए पछि अनाथालयमा गएर मिसिनरी स्कुलमा पढेका थिए । एसएलसी दिएपछि उनी एक पटक आफ्नो घर नागरिकता बनाउन गएका थिए । बाबुआमा नभएको हुनाले उनका काकाले आफ्नै बाबुको नाममा आफ्नो नाम राखेर नागरिकता बनाइदिएका थिए । काकाले आफ्नो सम्पत्ति राजनीतिमा लागेर सिद्ध्याएका थिए । आफ्नो अंश माग्न जाँदा उनको बाबुको सम्पत्ति काका र उनका ३ छोरा र ऊ गरी पाँच भाग लगाउनु पर्छ भन्दा उनी अन्यायमा परेका थिए । उनी न्यायका लागि जनअदालतदेखि जिल्ला अदालतसम्म गए तर न्याय पाएनन् ।

उनी कानुनको नजरमा तल परेका थिए भने समाजको नजरमा अन्यायमा । अदालतले त्यही भनेर पठायो । त्यसपछि उनी काठमाडौँमा गुजारा चलाउन क्याम्पसको गेट अगाडि गेसपेपर, गाइड पेपर, लोक सेवाको किताब बेच्न थाले । कलिहेकाँही थेसिससम्म बनाउन भ्याउँथे । उनको अर्को काम भनेको लोक सेवाको विज्ञापनको फर्म भरिदिने हो । काठमाडौँमा हप्तैपिच्छे खुल्ने विभिन्न भ्याकेन्सीमा टाढा टाढाबाट फर्म भर्न आउन नभ्याउनेहरू उनलाई सझिन्थे । उसले त्यसको ठुलै नेटवर्क मार्केटिङ गर्न भ्याएको थियो । एउटा फर्म भरेको एकसय लिन्थे । त्यसबाट उसको काठमाडौँको बसाई धानिएको थियो । ऊ थियो, नरेन्द्र विक्रम शाह । सबैको राजाबाबु । म पनि भाइ राजा भनेर बोलाउने गर्दथेँ ।

त्यहाँ चिया पिएर हामी सर्ट कट बाटो हुँदै महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र जाने बाटो समातेर नयाँ बजार पुग्छौँ । कीर्तिपुर गेट पुग्न लाग्दै एउटा स्कुटीले हर्न बजाउँछ । बाटो त खाली नै थियो । तैपनि पछाडिबाट हर्न बज्छ । उनले चिनेर बजाइनकी अनायासै बज्नभयो, थाहा छैन तर दुई पटक छोटो–छोटो गरी हर्न बज्छ……….पीँ…..पीप । लुकिङ ग्लासमा प्रस्ट नभएपछि म पछाडि हेर्छु । मैले पछाडि हेर्न नभ्याउँदै हाम्रो अगाडीबाट त्यो स्कुटर हुइँकिएर जान्छ । गणेश झोकिन्छ । के खालको केटी हो ? हुनसक्छ, कुनै हतार भएर होला । म उसलाई शान्त पार्न खोज्छु ।

त्यो हर्न अरू कुनै नभएर अघि स्टाफ कलेजबाट हुइँकिएको स्कार्फवालीको रातो स्कुटर थियो ।…

Tags :
प्रतिक्रिया दिनुहोस