ढाक्रे : जीवनको एक अनुभूति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ढाक्रे : जीवनको एक अनुभूति


६ असार २०७८, आइतबार


आफ्नो पिठ्युँमा जसको छ डोको ।
छ खानको के त्यसलाई धोको ।।
पैसा चपाइन्न र अन्न पानी ।
चाहिन्छ डोको छ यथार्थ दानी ।।

कक्षा ४ को हाम्रो राष्ट्रभाषा साहित्य पुस्तकमा पढेको यो मीठो कविताले डोके जीवनप्रति श्रद्धा जगाएको थियो । तर हाम्रो नेपाली बृहत् शब्दकोशले भने डोके जीवनको पर्यायवाची शब्द ढाक्रेलाई “जागिर नभएको वा नखाएको, सेवाबाट मुक्त” भनेर सुन्दै नकारात्मक लाग्ने अर्थ गरेको रहेछ । तर मलाई त्यस्तो लाग्दैन ।

ढाक्रेले बोक्ने भएर ढाकर शब्द बनेको होओस् वा ढाकरलाई बोक्ने व्यक्तिलाई ढाक्रे भनिएको होओस् कुरो एउटै एउटै हो । तर वस्तुलाई भन्दा मान्छेलाई पहिलो प्राथमिकता दिऊँ भन्ने हो भने ढाक्रेले बोक्ने डोकोलाई ढाकर भन्नु उपयुक्त हुन्छ।

यातायातको सुविधाले अहिले ढाक्रे जीवनशैली कम चर्चामा छ। विगतमा भने ढाक्रे जीवन एक जीवन्त घरपरिवारका लागि अनिवार्य बाध्यता थियो। ठाउँ विशेषअनुसार फरकफरक हुन सके पनि नमुनाका लागि अर्घाखाँचीको जनजीवनमा आधारित ढाक्रे जीवनको सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ।

पुरानू जमानामा अहिलेको जस्तो जुनसुकै याममा बाहिरफेर हाटबजार जाने चलन थिएन। ‘माघे खाट चैते हाट’ वर्जित गर्नू भन्ने थियो। यसको अर्थ गर्मी मौसममा हाटबजार नजानू भनेको हो। रातको बास रुखमुनि कटाउनुपर्ने अवस्थामा गर्मी बर्खा याममा हाटबजार जानु ज्यादै असुरक्षित हुन्थ्यो। त्यसैले कार्तिकको अन्तदेखि फागुनको सुरुसम्म मात्र ढाक्रे जीवन जुर्मुराउँथ्यो। यस्तो स्थापित मौसमी हाटबजारको प्रचलन भएकाले अन्य समयमा हाटबजार जान सके पनि खरिदबिक्रीका काम हुन सक्दैनथे।

त्यो जमानामा नगदको कारोबार कम जिन्सीको खरिदबिक्री बढी हुन्थ्यो अर्थात् जिन्सी विनिमय । हाटबजारले खोज्ने आफ्नो गाउँघरमा भएको सामान लिएर जाने चलन हुन्थ्यो। हाटबजारअनुसार कुन वस्तु कहाँ बढ्ता खपत हुन्छ भन्ने जानकारीका साथ हाटबजार जाने चलन थियो। त्यति मात्र होइन कतिपय हाटबजार जान त साप्ताहिक बारसमेत मिलाउनुपर्थ्याे । अनि त ढाक्रेको यात्रा यस्ता बजारका बारले पनि नियन्त्रण हुन्थ्यो।

जस्तो मङ्गलवार कृष्णनगरमा ठूलो सुन्तले बजार लाग्थ्यो। अरू बारमा सुन्तला उति बिक्री हुन्नथे । त्यसैले सुन्तला लिएर कृष्णनगर जाने हो भने सोमबार साँझतिर कृष्णनगरको इर्दगिर्दमा पुग्ने योजनाले घरबाट हिँड्नुपर्थ्याे। सुन्तलाबाहेकका वस्तु भने अरू बारमा पनि सटही हुन्थ्यो। हाम्रो गाउँठाउँबाट हाटबजारमा लैजाने अन्य वस्तुहरू घ्यु, बेसार सुठो, टिमुर, फापर आदि हुन्थे।

बटौलीको हाट भने त्यसरी बार मिलाएर जानुपर्ने थिएन। बटौलीमा घ्यूको व्यापार राम्रो हुन्थ्यो। कृष्णनगरभन्दा बटौलीलाई अलि स्थायी प्रकृतिको हाट मानिन्थ्यो।

ढाक्रेले आफ्ना यात्रा दिनलाई वास भन्ने गर्थे। जस्तो पहिलो दिन ठाडा पुगिन्छ, दोस्रो दिन पत्थरकोट पुगिन्छ भन्ने बुझाउन ठाडा एक वास, पत्थरकोट दुई वास भनिन्थ्यो।

जोख्ने भर्ने कुरामा ठग्नका लागि बनियाँहरू निकै धूत्र्याइँका साथ लाग्ने गर्थे। नुन चामल ओकरेर भर्दा धेरै अट्ने हुनाले बडो हल्का गरी भर्थे। मट्टितेल तेल विस्तारै भर्दा राम्ररी भरिने हुनाले झ्याप्झ्याप छिटोछिटो भर्थे।

हटारुले लगेको जिन्सी सामानको राम्ररी मूल्य नथित्याइकन जोख्ने, भर्ने गरेर आफ्नो दुकानको भित्रपट्टि बेसरी छिरोलिने गरी मिल्काए जसरी फाल्थे। अनि चलेको भाउभन्दा कम दर दिने गर्थे । भाउमा चित्त नबुझेर आफ्नो सामान लैजाऊँ भन्दा पनि त्यो छिरोलिएको सामान बटुली साध्य नभएर चित्त दुखाउँदै त्यही कम मोल लिन बाध्य हुन्थे।

बटौलीका बनियाँका ठगीको सन्दर्भमा त उखानै बनेको थियो “बटौलीको सटौली सयको पचास, नाफा न प्राप्ति पुठामा बतास” । यो उखान बन्दाको आख्यानचाहिँ यस्तो छ।

एक जना हटारुले दश धार्नी घ्यू लिएर बटौली गएको रहेछ। भाउ बुझ्दै जाँदा एक जना बनियाँकहाँ बेच्ने कुरा थितियो, दुई रुप्पे धार्नीमा। बनियाँले एकएक धार्नी गरी जोख्दै प्रति धार्नीको रु एक को ढ्याक टोकन स्वरूप हटारुलाई राख्न दिन्थ्यो। यसरी पूरै घ्यू जोख्दा हटारुले रु १० लियो।

अनि बनियाँले भन्यो— भाइ, अब मलाई एक छिन यी भाँडा खाली गर्नलाई पनि समय लाग्छ। पसलमा अहिले भिड पनि छ। तपाईँ यसो एक छिन बजार घुमेर आउनोस्। अनि पैसा र भाँडा लिएर जानुहोला ।

ठीकै हो भनी हटारु यसो बजार घुम्यो। उसले मनमनै सोच्यो— बनियाँकहाँ त्यस्तो भिडभाड थियो । मलाई यति रुपैयाँ दिएको भन्ने के सम्झिराख्छ र भनी दुईवटा ढ्याक अर्कै खल्तीमा राखी बनियाँकहाँ गयो।

बनियाँले केही बेरअघि धार्नी गन्तीका टोकन ढ्याक माग्यो। हटारुले बनियाँलाई आठवटा ढ्याक दियो। तब बनियाँले आठधार्नीको हिसाबले १६ रुप्पे दियो।

हटारुले बनियाँलाई दुई रुप्पे ठगेँ भने मख्ख पर्दै सामान खरिद गरी घर फर्कियो। बाटोका कुनै सन्दर्भले साथीहरूसित कुरा गर्दा त आफै पो दुई रुप्पे ठगिनेमा परेको रहेछ। अनि बल्ल थाहा पायो रुप्पेको टोकन दिएर बनियाँले आफूलाई फसाएको रहेछ।

पत्थरकोट बजार बसेपछि हाटबजारका लागि बुटवल कृष्णनगर जाने क्रम रोकियो। यही समयमा यो पङ्क्तिकार पनि हटारु बनेको थियो। हाटबाट नुन ल्याएर ख्वाउन सक्नु परिवारका लागि गौरवको विषय हुन्थ्यो त्यो बेला। त्यसैले १४/१५ वर्षका केटाहरू पनि हाट जान तम्सिन्थे। उमेर, कद(उचाइ) अनुसारको डोको, नाम्लो, खकन, लौरोको व्यवस्था गरेर हाट जाने तैयारी, साँच्चै जीवनको नयाँ आयाममा पदार्पण गरे जस्तो। नयाँ ठाउँ परिवेशमा जाने तयारीमा भित्रभित्रै खुसी पनि। उमेरदार मान्छेको लयमा हिड्नु, खानु साँच्चै गाह्रो, चुनौतीपूर्ण कुरा। पानी घाट खोजेर नास्ता खाने, खाना खाने, रुखमुति छङ्ङ आकाशका तारा हेर्दै, वन्यजन्तुको डर मान्दै निदाउनु पर्ने। तर पनि समूको बसाइ, आफूभन्दा ठूलाले विवेकपूर्ण व्यवहार गर्ने भरपर्दो आधार । मेरो लागि त काशी जानू बाउसित भने झैँ बुबासित हाट जाने तयारी भयो।

पहिलो पटक यसरी टाढाको हाटबजार जानेलाई पन्थे भन्छन्। पन्थेले आफू पहिलो पटक हाटबजार आएको खुसीयालीमा केही कुरा मिठाई, भेली, मिश्री खुवाउनुपर्थ्याे। यसलाई पन्थे खाने वा पन्थे खुवाउने भनिन्थ्यो।

हाम्रो गाउँघरबाट पत्थरकोट जाने यात्रा चार दिनको हुन्थ्यो। पहिलो दिन कहाँ बस्ने, दोस्रो दिन कहाँ बस्ने, तेस्रो दिन कहाँ बस्ने भन्ने कुरा लगभग पूर्वनिर्धारित नै हुन्थ्यो।

कहिले जाने, कति जनाको डफ्फा जाने, भान्सा कति जनाको हुने भन्ने कुरा गाउँमै सल्लाह हुन्थ्यो। खर्चपर्च अर्थात् आटो, चामल, दाल, सुख्खा तरकारी आदि कसले के कति लैजाने भन्ने कुरादेखि भात तरकारी पकाउने भाँडो, डाडुपनियो, खर्च नाप्ने कचौरा, भुटुनका लागि घ्यू, तेल, अनि बेसार, लसुन, टिमुर जस्ता घरायसी मसला, पहिलो दुई छाकका लागि नुन आफ्ना हिसाबले हाल्ने सल्लाह हुन्थ्यो।

दिउँसो खाने अर्नी(खाजा)को पनि मोटामोटी सल्लाह हुन्थ्यो ता कि गाउँघरे चिन्तनमा कोही निकै निक्षम देखिन नपरोस्। पहिलो दिनको खाजा चामल, फापरका रोटी, ठाडो पिठो(चामल भिजाएर, घ्यू हलेदो आदि हालेर पकाएको अलि सुख्खाखालको भात) हुन्थ्यो। अरू दिनका लागि भने दाँत बलिया हुनेका लागि फुलासितका झुरा गरी भुटेका मकै भट्ट(भटमास) पनि जाडो यामको राम्रो नास्ता हुन्थ्यो। घ्यू खुदोले माडेको सातु त सबैका लागि अर्थात् दाँत बलिया हुने नहुनेका लागि र नबिग्रने भएकाले सधैका लागि राम्रो नास्ताको प्रबन्ध हुन्थ्यो।

डफ्फा सानो छ भने नास्ता आपसमा बाँडचुँड गरी खान उचित हुन्थ्यो तर ठूलो डफ्फामा आआफ्नै खाने गरिन्थ्यो। नास्ता खाँदा होओस् वा खाना पकाउँदा थैलाबाट खानेकुरा झिकेपछि स्थानीमण्डली देउदेउतालाई सम्झेर चढाई खाने चलन थियो। यस व्यवहारले क्वाच्च नखानू, थ्याँच्च नबस्नू, प्याच्च नबोल्नू जस्ता संस्कार सिकाउन मद्दत गर्थ्याे।

यस ठाउँमा वास बस्ने भन्ने कुरा पूर्वनिर्धारित भए पनि वास्तवमा बस्ने ठाउँको निधो त त्यहाँ पुगेपछि मात्रै हुन्थ्यो। समथर ठाउँ, भरसक सुख्खापतखर धुस्सुनहरू भएको, सफा, चुह्लो बनाउन इल्टे ढुङ्गा भएको, भारी वा डोका बिसाउनका लागि सुविधा जस्ता कुरा ठह¥याएर वासको निधो गरिन्थ्यो।

डफ्फा ठूलो छ, सानोतिनो ठाउँमा अटिदैन भन्ने भएपछि आफ्नो डफ्फाको अलि पाको र बलिया व्यक्तिलाई आपसी सल्लाहले वास रोक्नका लागि अगाडि पठाउने गरिन्थ्यो। ती अगाडि गएका व्यक्तिले आफ्नो डफ्फालाई चाहिने जति क्षेत्र भएको वास रोक्थे। वासमा एकातिर भारी बिसाएर अर्कोतिर लौरो फालेपछि त्यो वास रोकेको मानिन्थ्यो। त्यसपछि त्यही वास ताकेर आएका ढाक्रेले ती पहिला रोकेका व्यक्तिको अनुमतिले मात्र त्यहाँ बाँकी रहन सक्ने ठाउँमा वास वस्न पाउँथे । ठाँटी, पाटी, पौवामा पनि यही नियम लागू हुन्थ्यो । त्यसैले त ‘अघि आउने ढाक्रेको रोजी बिसाउनी पछि आउने ढाक्रेको खोजी बिसाउनी’ भन्ने उखान बनाएका थिए । समय व्यवस्थापन र जाँगरका उत्प्रेरणा दिने उखान !

दाउरा पानी बसाइ व्यवस्था सबै मिलाउनुपर्ने हुनाले वास बस्ने काम अलि बेलामाथि नै गर्ने गरिन्थ्यो । त्यसमा पनि सुन्तले वास बस्ने बेला, लैनी गाई दुहुने बेला भनेर छिटो समयलाई बुझिन्थ्यो भने ढाक्रे वास बस्ने बेला भन्नाले केही ढिलो बुझिन्थ्यो । रातमा बत्ती उज्यालाको व्यवस्था नहुने अवस्था भएकाले खाना खाई भाँडा माझेर सिद्धाउँदा ठीक साँझ पर्न लागोस् भन्ने समयको अडकलले वास बस्ने चलन थियो ।

वासमा सबै जम्मा भएपछि डफ्फाका नाइके अर्थात् मान्य व्यक्तिले काम बाँड्थे । सबैभन्दा कनिष्ट पानी ल्याउनेमा पर्थे । त्यसमाथिका दाउरा खोज्ने, त्यसमाथिका चुलोचौकोको तयारी र नाइके वा निजले खटाएका व्यक्तिले अन्न तरकारी भुटुन आदि झिक्नेमा पर्थे । यस्तै बाँडिएर काम गर्नुपर्ने सोचेर त चाणक्यले नीति लेखे होलान्—

… परदेशमा चार जना खेती गर्दा । पाँच भै अनि धेर लडाइँ पर्दा ।

जाडो महिना यसै पनि भोक बढ्ता लाग्ने, त्यसमा दिनभरि भारी बोक्ने काम उसै पनि भोक लाग्ने र सानो उमेर(मेरा लागि) अझ धेरै भोक लाग्ने । यस्ता तीनवटा भोकहरूको त्रिवेणी हुन्थ्यो हाटबजारको यात्रामा । घरमा आमासित झैँ थपीथपी खाने अवस्था कहाँ पाउनु। बराबर खर्च हालेकाले बराबर भाग लाग्थ्यो । यस्तो भागलाई ढाक्रे भाग वा ढाक्रे बिलो भनिन्छ । खाए खाऊ नखाए नखाऊ, अघाए अघाऊ नअघाए नअघाऊ। अलि ठूलो आहारा हुने खञ्चुवाका लागि त ‘साना भोक खान बस्ने ठूला भोक खाएर उठ्ने’ पनि हुन्थ्यो । यस्तो अवस्थामा अर्नी खाने काम अलि छिटो गरिन्थ्यो । यसमा भने कसैको अडकलमा टेँगिनुपर्दैनथ्यो किनकि दिउँसोको नास्ता आफ्नै निजी व्यवस्थापनमा हुन्थ्यो ।

घरमा थपीथपी दाल तरकारीसमेतका सितनमा रोथलेर खाएका पन्थेलाई सितन पुर्याउनको सकस हुन्थ्यो । कतिपय आरिसेले भान्सेले विवेकपूर्ण तरिकाले नबाँडेको देखाउन सुरुमा तरकारी आदि सितन लामलुम पार्ने र पछि आफू निस्तो परेको देखाउने पनि गर्थे । तर अनुभवीहरूले भने सुरुमा एकदम कम सितन प्रयोग गर्ने र अन्तिममा प्रशस्त सितन बनाएर खान्थे । उनीहरूले अर्थशास्त्र नपढीकन उपयोगिता ह्रास नियमको पूरापूर प्रयोग गरेर देखाउँथे । उनीहरू पन्थेलाई भन्थे— सुरुमा भोक हुन्छ, कम सितनसित पनि खान सकिन्छ । तर अघाउँदै जाँदा कम सितनसित खान गाह्रो हुन्छ । यो कुरा पहिलै ख्याल गर्नुपर्छ ।

खाना खाएपछि आफूले खाना खाएका भाँडा आफै माझ्ने चलन हुन्थ्यो तर पकाएका भाँडा भने अलि हात पाखुरा बलिया भएका कनिष्टले माझ्थे । यसरी भाँडा माझ्नुपर्दा ती भाँडा माझ्ने व्यक्ति दुःखी हुन्नथे । त्यस बेला ती पाका पुरानाले ‘हामीले कान्छा हजुरबुबा जेठा हजुरबुबासित यसरी परदेश हिँड्दा उहाँका थाल माझिदिने गोडा घसिदिने गर्थ्याे’ भनेर आफ्नो इतिहास भनिरहेका हुन्थे । तब यो प्राचीन कालदेखिको संस्कार हो, भोलि म पनि ती बूढाहरू जस्तै भारीका छेउमा बसेर यस्तै अह्राइसिकाइ गर्न पाउँछु भन्ने कल्पनामा मख्ख हुन्थे।

जाडो याममा भारी बोक्न त निकै जाती हुन्छ। भारीको सकसले पसिना आउँदा पनि निकै आनन्द हुन्छ । कहिले थाप्लोको नाम्लो खुस्काएर टाउकालाई पालो दियो, कहिले खकन खोकुलो पारेर कुमलाई पालो दियो जब गोडा नै थाके भने यसो टेकाउना बिसाउना भेटाएर डोको टेकाएर, बिसाएर सुस्तायो अनि हिँड्यो । धेरै बेर बिसाउन हुन्न, जिउ सेलायो भने गाह्रो हुन्छ भन्थे पाकाहरूले । हुन पनि खाजा खाएपछि हिँड्दा एकै छिन जिउ नतातुन्जेल निकै सकस हुन्थ्यो ।

अर्घाखाँचीतिर थेप्चा पिँद भएका ढाक्रेडोका बनाउने चलन छैन र त्यसै गरी तोक्मा अर्थात् बाँके लौराको चलन पनि छैन । त्यसैले नाम्लोले थाप्लो खकनले कुम थाकेपछि कतै भित्ताको आड लिएर टेकाउनुको विकल्प हुँदैन । पत्थरकोटदेखि कृष्णनगरसम्मको समथर जमिनको लगभग दुई दिनको यात्रा कसरी गरे होलान् भनेर सम्झँदा अहिले पनि जिउ सिरिङ्ग हन्थ्यो ।

ढाक्रे जीवनमा टेकाउना र बिसाउनाका स्पष्ट भेद जान्नैपर्ने कुरा हुन् । कुमको खकन र थाप्लाको नाम्लो नछोडी भित्ताको सानो खोपिल्टोमा डोकाको पिँद टुक्क टेकाइ बडो सतर्कका साथ सन्तुलित भएर विश्राम लिने ठाउँ टेकाउना हुन् भने कुमका खकन र थाप्लाको नाम्लो छाडेर पनि भारी अडिने खालका ठाउँ बिसौना हुन् । यी टेकाउन बिसौना कतिपय मानव निर्मित हुन्थे भने कतिपय यसै गरी हजारौँ जनाले टेकाउँदा टेकाउँदै टेकाउना बन्थे । टेकाउना पनि खिइँदै जाँदा बिसौना बन्थे । भारी टेकाएर हिँड्दा डोकाको पिँदमा लागेको धूलो आफ्नै लौराले ठ्याक्ठ्याक् हानिन्थ्यो । यसो गर्दा आफू एक परिपक्व वा भनौँ व्यावसायिक ढाक्रे भएको ठानेर गर्वले छाती फुल्थ्यो ।

पुसमाघको ठिहिर्याउने जाडो, बिहान उज्यालो हुँदाखेरि खाना खाइवरी स्यूस्यू गर्दै भारी बुइ गरेर खाली खुट्टा तन्कनुपर्थ्याे । अहिले खाली खुट्टा हिड्ने कुरा गर्दा जन्मेका दिनमै रुइ तगेका नयाँ कपडाका मेखला लगाएर हुर्केकालाई यो कुरा अगावैको दन्त्यकथा जस्तो लाग्न सक्छ ।

हामी त ६ महिनाको नहुन्जेल आमाको फाटेका गुन्यूको मेखला सिलाएर लगाएका हौँ । भातख्वाइ वा पाश्नीको साइतमा मात्र हाम्रो ज्यानले नयाँ कपडाको जामा लगाएको हो । अँ हाम्रा खाली खुट्टा खाली बाटामा हिँड्न तालिम प्राप्त थिए । बाटो आँखाले भन्दा खुट्टाले चिन्ने जमाना थियो त्यो । अहिले जस्तो फराकिलो बाटोमा अरूको पनि बाटो यही हो भन्ने भुलेर तालचरा झैँ मालबाँधेर मुखामुख गर्दै कोही हिँड्दैनथे ।

उकालीमा कल्ले गायो गीत सुन रे ।
एकै स्वर एकै लहर बाटो हिँड रे ।।

यस्तै थियो हिड्ने तरिका ! अगाडि हिँड्नेले टेकेको पाइला पछ्याउँदै हिँडिन्थ्यो । हजारौँ खाली पैतालाले माडिएको बाटो । परिश्रमको कदर गर्दै फलामे ढुङ्गा पनि चिल्ला, मुलायम, मायालु भएर हाम्रा खाली खुट्टाले टेकिनका लागि श्रद्धासाथ पर्खिरहेका हुन्थे । अलि टाढाबाट हेर्दा बाटामा कक्रक्कका रूखा ढुङ्गा देखिए पनि टेकिने ठाउँमा सोचे जस्तो रूखो हुन्नथ्यो ।

त्यसो त सबै खाली खुट्टा नै हिँड्थे भन्ने पनि होइन । सयकडा एक दुई जनाले जुत्ता पनि लगाउँथे । हाम्रै डफ्फाका एक जना काकाले भन्डै एक किलो तौलका डाङ्ग्राका जुत्ता लगाएर जानुभएको थियो । सजिलो तेर्सो र उकालोमा उहाँले जुत्ता लगाउनुहुन्थ्यो तर ओह्रालो र अफ्ठ्यारो बाटोमा जुत्ता डोकामा राखी खाली खुट्टा हिड्नुहुन्थ्यो । यसो गर्दा कतिपयले खासखुस खिसीका कुरा काट्थे ।

पन्थे थिएँ । मेरा लागि हरेक पाइला नयाँ थिए । बुबासित त्यत्रो पाकाहरूका जमातमा हिँड्न पाउँदा मन खुसी थियो । मसितका र मभन्दा २/४ वर्ष जेठा दिदीहरू र कतिपय दाइहरू पनि यसरी नुन बोक्न जान नपाएको अवस्थामा म भने जान पाएको थिएँ । म जति प्रफुल्ल भए पनि कुराका ताइमा फुरौला पाक्दैनन् भने झैँ गोडा छिनपछि छिन दुख्दै गएका थिए । पहिलो दिन कुँडापानी र कोठिए बीचको जङ्गलमा वास बसियो ।

अर्को दिन उज्यालो नहुँदै बुबाहरूले खाना तयार गर्नुभयो । छ्याङ्ग उज्यालो हुँदा खाना खाएर हिँडियो । दुखेका खुट्टा, बाटोका गिर्खे ढुङ्गा देख्दा पैताला डराएर सिरिङ्सिरिङ् गर्थे । माडिएको बाटो पहिल्याउँदै हिँड्दा ती जुत्तावाला काका भने जुत्ता लगाएर घ¥यापघ¥याप गर्दै ती गुर्गुरे ढुङ्गामा मस्तसित हिँडेको देख्दा गाई गोरुका जस्ता खुरवाला खुट्टा भएको भए पनि कति आनन्द हुँदोहो जस्तो लाग्थ्यो । त्यसै बेला ती काकाले बडो राम्रो लयसित गीत गाउनुभयो—

टाढा छ दौँघाको पानी, बाटो छ पैतलु बिझाउनी ।

यो गीतले मेरो हृदय साह्रै छोयो । पछि विद्यालय निरीक्षक भएर गुल्मीको पानी अभावको सामान्य ज्ञान बनेको दौँघा गाउँको विद्यालयमा एक कार्यक्रममा पुग्दा मैले ती काकाले गाएको यो गीतको टुक्रा गाएको थिएँ । आफ्नै गाउँको यथार्थ विम्ब बोकेको गीत सुनेर दौघालीहरू खुसी हुनुभएको थियो ।

ढाक्रे, जन्ती, मलामी र गोठाला अलि छिहिल्लिएर बोली व्यवहार गर्छन् भन्ने गरिन्छ । पुरानू जमानामा यी सबैमा एक लिङ्गीय जमात हुने गर्थ्याे । विवाहमा लोकन्दी र दुलहीबाहेक अरू सबै पुरुष हुन्थे । गोठालामा मिसमास भए पनि केटी पनि कम हुन्नथे । ज्यूँती अर्थात् रत्यौली पनि त महिला मात्रै हुनाले खूब छिहिल्लिन्छन् । ढाक्रेको डफ्फामा यौनजन्य कुरा गर्ने, छिहिल्लिने गर्दा म बुबासित हुनुले लाज लाग्थ्यो । गोठालो जाँदा त्यस्ता कुरा सुन्ने गर्ने गरेको भए पनि आफ्नै घरकासित त्यस्तो सन्दर्भ पर्दैनथ्यो ।

खुला दिसा पिसाब त्यस बेला गाउँघरमा पनि सामान्यै हुन्थ्यो, अब यो बाटोको जङ्गलको के कुरा गरौँ । सकेसम्म देखादेखै दिसा नगर्नेसम्मको मान्यता थियो । पिसाबका लागि त पिसाब गर्ने अङ्ग नदेखाए पुग्थ्यो । ढाक्रेले बिसौनामा भारी टेकाएर त्यहीँ पिसाब गर्काइदिन्थे । त्यो सम्झँदा घिनले अझै पनि जिउ जिरिङ्ग हुन्छ ।

जिउ थाकेको छ, थाप्लो दुखेको छ । बिसौना खाली छ तर भर्खरै कोही कसैले पिसाबको भल बगाएर हिँडेको छ । जुत्ता भए पनि लौ मरोस् त भन्न हुन्थ्यो । खाली खुट्टाले सोझै पिसाब टेक्न नसकेर निकै कहर काटेर लामो बाटो हिँडी भारी टेकाएका सम्झना कहिल्यै पुरानो नहुने गरी बसेको छ । त्यो बेला सयकडा एक दुई हुँदा हुन् नियमित ढाक्रे बन्ने महिला । उनीहरू पनि यही धर्म भनौँ कि अधर्म निर्वाह गर्थे ।

दिनभरि त भारी बोक्यो, आज फलानो ठाउँमा पुग्ने भन्यो, सँगैसँगै केही गफ सुन्यो, नास्ता खायो दिन बितिहाल्थ्यो । साँझ खाना खाइसकेपछि सुत्ने काम निकै कहर कटाइ हुन्थ्यो । पहिलो कुरा त सुत्ने ठाउँ उबडखाबड असजिलो हुन्थ्यो । कदाचित् पतखर धुस्सुनको जोहो गरी सुत्ने ठाउँ सजिलो पारियो भने पनि जाडोले गर्दा निद्रा लाग्न निकै सकस हुन्थ्यो । भारी लिन जाने मान्छेले साँझको जाडो छेक्नका लागि कपडाकै भारी लैजाने कुरा पनि भएन । लहरै जोरिएर सुत्दा माझमा सुत्नेलाई त विशेष कम जाडो हुन्थ्यो । तर दुई छेउमा सुत्नेलाई निकै गाह्रो हुन्थ्यो । यस्तोमा डफ्फाका उमेरदारले कम उमेरका केटाकेटी र बढी उमेरका पाकालाई माझमा सुताउने विवेक पुर्याउँथे ।

दिनभरि दिनभरि भारीसितको हिँडाइले खुट्टा सुन्निएका पिलो दुखे झैँ पिरिएको जिउ हुँदा पनि मनमष्तिष्कमा एउटा भावी ज्योति चम्किरहेको हुन्थ्यो जसका चमकले ती पीडा सात्सुत्त हराउँथे । त्यो ज्योति थियो ‘फलानाले पत्थरकोटबाट नुन ल्याएर आर्जन खुवाउने भयो’ भनेर चर्चा गर्ने गाउँघरका हजुरबुबा हजुरआमासमेतको भनाइ । यस्तो थियो अग्रपोषणको फाइदा !

तेस्रो रात काटेपछि मनमा फेरि अर्को हर्षको लहर छाउँथ्यो ‘आज त घरको ओछ्यानमा लम्पसार भएर सुत्न पाइन्छ भन्ने’। अन्तिम दिनको खाजा पनि विशेष प्रकारको हुन्थ्यो । भुटुनका लागि लगेको घ्यू तेल सकेसम्म कम खर्चेर अन्तिम दिनको खाजाका लागि जोहो गरिएको हुन्थ्यो । घर पुग्नुअघि खाजा खाने व्यवस्था गरिन्थ्यो । घ्यू हालेर पकाएको भात, सकेसम्म मीठो तरकारी साँच्चै वनभोजको खुसीयाली जस्तो । हटारुलाई अगुवानी गर्न भनेर प्रत्येक घरका कोही न कोही आउँथे । कसैले पूरै भारी कसैले केही खिच्रीमिच्री भए पनि बोकेर हल्का बनाइदिन्थे । हामी जस्ता सानाको भारी त दिदी बहिनी जसले पनि लैजान सक्थे ।

भूपिले भए लेख्दा हुन्—
धप्पधप्प बलिरहेछ अनुहार
खच्च्याङ्खच्च्याङ् गर्दै छ गोडाको चाल
मानौँ विश्वयुद्धपछि
भिक्टोरिया क्रस पाएको
एक सम्मानित घाइते सिपाही हो ...

साँच्चै, घर आएपछि नातिको आर्जन खान पाइयो भन्दै अठासी वर्षका हजुरबुबा आँखामा आँसुसित भक्कानिनुभयो। अब त एक हप्ता जति आफ्नो जिम्माको घरधन्दा पनि केही गर्नु परेन । खानपिनमा विशेष खातिरदारी, दिउँसो सम्फेपिठो(पुवा), वरपर तलमाथि प्रशंसा बटुल्ने यात्रा । वास्तवमा सामाजिकीकरणको एक सफल आयाम थियो । परिपक्वताको अलिखित प्रमाणपत्र, हिम्मत र आत्मविश्वासको सामाजिक सहिछाप । धन्य छ ढाक्रेबाट सामाजिक व्यक्तित्वको उठान गर्ने हाम्रो गरिमामय संस्कारलाई !

Tags :
प्रतिक्रिया दिनुहोस