मुख्यमन्त्री नेपालीको राजनीतिक यात्राः कारागार, अध्ययनशीलता र निरन्तरता « प्रशासन
prasaLogo
२१ श्रावण २०७८, बिहिबार
   

मुख्यमन्त्री नेपालीको राजनीतिक यात्राः कारागार, अध्ययनशीलता र निरन्तरता


२९ जेष्ठ २०७८, शनिबार


नवलपुर । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली राजनीतिमा अत्यन्तै क्रियाशील छन् । सङ्घीयता आएपछि मुलुकमा पहिलो पटक सम्पन्न प्रदेशसभाको निर्वाचनमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नम्बर १ (क)बाट नेपाली विजयी भएर गण्डकी प्रदेशसभा सदस्य भए । उनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई पराजित गर्दै प्रदेशसभामा आफ्नो स्थान सुरक्षित गराएका थिए । विसं २०७४ मा भएको निर्वाचनमा कांग्रेसका नेपालीले १७ हजार ६८३ मत प्राप्त गरी गठबन्धनका उम्मेदवार न्यौपानेलाई ३८२ मतान्तरले पराजित गरेका थिए ।

उनका बुवा गोवद्र्धन शर्मा पोखरेल राणाशासनका विरोधमा सधैँ क्रियाशील थिए । कांग्रेसमा लागेर शर्मा तत्कालीन समयमा केन्द्रीय सदस्यसमेत भएका थिए । एकहत्तर वर्षीय नेपालीको जन्म तनहुँमा भए पनि राजनीतिक थलो भने नवलपरासी भयो । विसं २०० मङ्सिर १३ गते तनहुँमा द्रौपदा शर्माका कोखबाट जन्मिएका नेपालीका चार दाजुभाइमध्ये जेठा दाजु रामचन्द्र पोखरेल पूर्वसांसद र साहिँला भाइ डा. जगदीशचन्द्र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष थिए भने कान्छा भाइ अमेरिकामा बस्दै आएका छन् ।

नेपालीको राजनीतिक थलो नवलपरासी भए पनि विद्यार्थी राजनीति भने तनहुँबाटै शुरु भएको थियो । प्रजातान्त्रिक समाजवादक हिमायती नेपालीलाई निष्ठा र त्यागको पर्यायका रुपमा लिने गरिएको छ । विद्यार्थीकालदेखि नै उनमा राजनीतिक चेत थियो । उनी विसं २०२८ मा कांग्रेस तनहुँको जिल्ला सदस्यसमेत बने । प्रजातान्त्रिक आन्दोलनकै क्रममा विभिन्न समयमा गरी उहाँ ६ पटक कारागार परेका छन् । विसं २०३५ को विद्यार्थी आन्दोलनमा उनले कास्की कारागारमा दुई पटक गरेर पाँच महिना बिताएका छन् । विसं २०३७ को जनमतसङ्ग्रहका क्रममा फेरि आठ महिना कास्की कारागारमै बस्न बाध्य भए । विसं २०३८ मा निर्वाचनकै क्रममा प्रहरीबाट यातना खेपेका उनले अर्को दुई महिना कारागारमा बिताए ।

देशमा बहुदलीय व्यवस्था माग्दै विसं २०४२ मा कांग्रेसले सत्याग्रह घोषणा गर्‍यो । तत्कालीन नवलपरासीबाट सत्याग्रहमा सक्रिय नेपालीले परासी–कपिलवस्तु कारागारमा गरेर एक वर्ष कारागार जीवन बिताए । विसं २०४६ को जनआन्दोलनमा परासी कमाण्डर नेपाली नजरबन्दमा पनि परे । नजरबन्दपछि नेपालीलाई पाल्पाको कारागारमा नौ महिना राखियो ।

भारतको दरभङ्गाबाट मानविकी सङ्कायमा स्नातक उनले पछि नेपालकै त्रिभुवन विश्वविद्यालयबाट कानूनमा पनि स्नातक उत्तीर्ण उनले प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै लिएका थिए । त्यसपछि उनी माध्यमिक शिक्षाका लागि भारत पुगेका थिए । माध्यमिक शिक्षा विहारको नरकटियागञ्जबाट पूरा गरेका नेपाली दरभङ्गाबाट मानविकी सङ्कायमा स्नातक गरेपछि नेपाल फर्किएका थिए।

विसं २०४८ को कांग्रेस अधिवेशनपछि उनी निरन्तर चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भए । विसं २०४८ को आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए । विसं २०६२/६३ को जनआन्दोलनमा उनले नवलपरासीको नेतृत्व सम्हालेका थिए । त्यस बेला पनि उनी कारागारमा बसे । कांग्रेसको १२औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । विसं २०७० को संविधानसभा निर्वाचनमा उनी ३२५ मतले पराजित भएका थिए । उनी त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा होमिएका थिए ।

मुलुक सङ्घीयतामा गएपछि साविकको नवलपरासी विभाजन भएर दुई जिल्लामा परिणत भयो । पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा रह्यो भने पूर्व नवलपरासी गण्डकी प्रदेशमा रहन पुग्यो । मुलुकको कान्छो जिल्लाको पहिचान बनाएको नवलपुरबाट प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशसभामा पुगेपछि नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति भए । साठी सदस्यीय गण्डकी प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सदस्य छन् । एमाले माओवादी गठबन्धनको बहुमत आएसँगै कांग्रेस सङ्ख्याका आधारमा प्रमुख प्रतिपक्षी दल बनेको थियो । मुख्यमन्त्री नेपाली यसअघि गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी संसदीय दलको नेताका रुपमा चुनिएका थिए ।

प्रदेशसभाका कामकारबाही चुस्त बनाउन र प्रदेश सरकारलाई जिम्मेवार बनाउन प्रतिपक्षी दलका नेताका हैसियतमा उनी जहिल्यै क्रियाशील रहेका थिए । बजेट बाँडफाँटमा होस् वा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा समानुपातिक सदस्यलाई गरिएको विभेदका विषयमा होस्, उनले प्रदेशसभाम आवाज उठाउँदै सरकारलाई सही दिशामा हिँड्न बाध्य बनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस