फोहोरमैला बेचेर लाखौँ आम्दानी गर्ने पुतलीबजार र भिरकोट नगरपालिका « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फोहोरमैला बेचेर लाखौँ आम्दानी गर्ने पुतलीबजार र भिरकोट नगरपालिका


२६ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । मानिसलाई बाँच्नका लागि अक्सिजन जति आवश्यक छ , स्वस्थ जीवन जिउनका लागि सरसफाइ पनि त्यत्तिकै आवश्यक छ ।

सरसफाइ विना मानिसको जीवन स्वस्थ र सुखी हुन सक्दैन । मानव स्वास्थ्यमा सरसफाइको कमी हुँदा विभिन्न किसिमका रोगहरू लाग्न सक्छन् । सरसफाइको कति महत्त्व छ भन्ने कुरा अहिलेको कोरोना महामारीको बेला पनि धेरैले बुझिसकेका छन् ।

हिजोआज सहरमा जनसङ्ख्या, सहर बस्ती दिनप्रतिदिन बढ्दै छ, साथै फोहोर मैला पनि बढ्दै छ । धेरैजसो स्थानीय तहले सरसफाइमा खासै राम्रो काम गर्न नसकेको अवस्थामा स्याङ्जाका दुई वटा नगरपालिका पुतलीबजार र भिरकोटले भने उदाहरणीय काम गरेका छन् ।

यी नगरपालिकाहरुले फोहोर मैला बेचेरै वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् । फोहोरमैलाबाट मल बनाएर बेच्ने, फोहोरमैलाको प्रयोगबाट गोबर ग्यास उत्पादन गरी घरघरमै पाइपबाट ग्याँस पुर्‍याउने जस्ता काम यी दुई स्थानीय तहले गरेका छन् ।

नगरपालिकाले फोहोरमैलालाई विभिन्न प्रकारमा विभाजन गरी व्यवस्थापन गर्ने गरेको छ । तीन समूह तथा ११ वटा उपसमूहमा विभाजन गरी फोहोर मैला व्यवस्थापन गरिएको पुतली बजार नगरपालिकाका नगरप्रमुख सीमा कुमारी क्षेत्रीले प्रशासनलाई बताइन् ।

नगरपालिकाले वर्गीकरण गरेका फोहोरमैलाहरुमा घरेलु फोहोर मैला, औद्योगिक फोहोर मैला, रासायनिक फोहोर मैला, स्वास्थ्य सेवा सम्बन्धी फोहोर मैला, हानिकारक फोहोर मैला, मलखाद योग्य सड्ने फोहोर मैला, रछाने फोहोर मैला, मलखाद अयोग्य सडेका फोहोर मैला, कवाडी फोहोर मैला, प्लास्टिकजन्य फोहोर मैला र सिसाजन्य फोहोरमैला रहेका छन् ।

नगरपालिकाले हालै मात्र वर्गीकृत फोहोरको बिक्री प्रबन्ध समेत गरी मासिक रूपमा ५० हजार देखि १ लाखसम्म फोहोरको मोहोर आर्जन गरिरहेको पुतलीबजार नगरपालिकाका वातावरण विपद् व्यवस्थापन तथा सरसफाइ शाखा अधिकृत धन कोइरालाले प्रशासनलाई जानकारी दिए ।

अधिकृत कोइरालाका अनुसार, नगरपालिकामा अहिले १९ जना सफाइकर्मी कर्मचारी छन् ।

कुहिने फोहोर बाट मल बनाउने मेसिन

नगरपालिकामा ७० टोल विकास संस्थाका करिब २ सय पदाधिकारीहरूले फोहोरको वर्गीकरण गर्ने तालिम प्राप्त गरी समुदायमा सचेतना फैलाउने र फोहोरी पहिचान, एवं फोहोर व्यवस्थापनमा अटेरी गर्नेलाई दण्ड दिने कार्यमा सिफारिस गर्ने कार्य गरेका छन् ।

दुई वटै नगरपालिकाद्वारा सरसफाइ सम्बन्धी कार्यविधि बनाइएका छन् । सफाइकर्मीहरूको दक्षता तथा क्षमता विकासका लागि तालिम दिइने गरिन्छ । जसका कारण सफाइकर्मीहरू सहजै फोहोरको वर्गीकरण गर्न सक्ने भएका छन् ।

फोहोरमैलाको प्रशोधन र विसर्जनका लागि नगरपालिकाले ५ रोपनी जग्गामा सरसफाइ केन्द्र निर्माण गरी वेस्ट कम्पोजर मेशिन खरिद गरी कुहिने फोहर मैलाबाट मल उत्पादन गरी बिक्री वितरणका लागि कार्य थालनी गरेको छ ।

नगरपालिकाद्वारा नगरका सबै घरमा कुहिने फोहरका लागि प्लास्टिकको कम्पोस्ट बिन वितरण गरी गण्यौला मल र कौसी तथा गमला खेतीका लागि मल निर्माणका लागि तालिम प्रदान गरी प्रयोगमा ल्याउन लगाइएको छ ।

वेस्ट कम्पोजर मेशिन व्यवस्थापन गरी मेशिन मार्फत मल उत्पादन गर्ने तथा श्रोतमा नै फोहोरमैलाको प्रयोग क्षेत्रगत वर्गीकरण गरी उपयोगमा ल्याउने कार्य भइरहेको छ । यसको लागत हाल सम्म करिब १ करोड भन्दा बढी रहेको र सफाइ केन्द्रमा फोहर वर्गीकरण गर्ने ३ कोठे भवन,एक शौचालय, गाडी राख्ने ग्यारेज,बाटो कार्पेटीङ्ग, मेशिन घर, विश्राम चौतारी तथा रिफ्रेश सेन्टर, पानी टङ्की र रङ्गिन इलेक्ट्रिक पोखरी निर्माण कार्य भएको नगरपालिकाले जनाएको छ ।

बायोग्याँस जडित सार्वजनिक सौचालय

नगरपालिकाले स्रोत न्यूनीकरणका लागि प्लास्टिकका झोलाको साटो टिकाउ हुने कपडाको झोला प्रयोग गर्न एक घर एक झोला वितरण कार्यक्रम सञ्चालन गरेको छ । पुतलीबजार नगरपालिकाले फोहोर मैला व्यवस्थापन कार्यविधि २०७६ बनाएको छ ।

फोहोरमैलामा ठोस र तरल फोहोर बढी निस्कन्छन् । ठोस र तरल फोहोरलाई भिन्दाभिन्दै राख्ने गरिएको छ । यस्तै ठोसमा पनि जैविक र अजैविक दुई खालका फोहोर सामान्यतया ः निस्कन्छन् । यसरी फोहोर निस्कँदा त्यसको स्रोतमै ठोस र तरल अनि जैविक र अजैविकलाई भिन्न भिन्न भाँडामा छुट्याएर सङ्कलन गर्ने व्यवस्था गरिएको छ ।

जैविक फोहोरमा पनि तत्काल सड्ने गल्ने खालका र सड्नगल्न समय लाग्ने खालकालाई भिन्दाभिन्दै राख्नु उपयुक्त हुने हुँदा अजैविक फोहोरलाई पनि तिनको प्रकृति र अवस्था अनुसार फरक फरक गरेर राख्न व्यवस्था मिलाइएको छ ।

यसरी पृथकपृथक गरेर राख्नाले तत्काल सड्ने गल्ने प्रकृतिको फोहोरलाई कम्पोस्ट मल बनाएर गमला, करेसाबारी वा खेतीवारिमा प्रयोग गर्न सकिने हुन्छ ।

नगरपालिकाभित्र फोहर नियन्त्रण र न्यूनीकरणका लागि वेस्ट कम्पोजर बिन वितरण गर्ने र प्लास्टिकको प्रयोगलाई न्यूनीकरण गर्दै लैजाने अभियान चलाइएको छ ।

राजमार्ग सफाइ अभियान मार्फत नगरका सडक, गल्ली,बाटा घाटा ,नाला आदि सरसफाइ गरी नगर भित्र स्वच्छता कायम गरिएको छ ।

पुनः प्रयोगका लागि नकुहिने फोहोरलाई सङ्कलन गरी भण्डारण र बिक्री वितरणको प्रबन्ध हुँदै आएको छ । नगरपालिकाभित्र सङ्कलन भएको नकुहिने फोहोर पोखरा, भैरहवालगायत ठाउँका कारखानालाई विक्री गरिँदै आएको नगरपालिकाका वातावरण तथा सरसफाइ अधिकृत कोइरालाले जानकारी दिए ।

फोहोरमैलाको प्रशोधनपछि पुनः प्रयोग गरी ती उद्योगहरूले गिलास, सिसा, प्लास्टिकका भाँडालगायत सामाग्री बनाउने गरेका छन् ।

अधिकृत कोइरालाका अनुसार, नकुहिने प्लास्टिकजन्य फोहोर कागजजन्य फोहोर प्रतिकेजी १२ देखी ४२ रुपैयाँ, सिसाजन्य तीन देखी ५ रुपैयाँ, फलामजन्य फोहर १० देखी १२५ सम्म , प्लास्टिकजन्य ८ देखी १५ रुपैयाँ सम्म र आल्मुनियम वा तामा १ सय २५ रुपैयाँ प्रतिकेजीमा विक्री हुने गरेको छ ।

पुतलीबजारसँगैै सीमा जोडिएको भिरकोट नगरपालिकाले पनि सरसफाइ व्यवस्थापनमा उल्लेखनीय काम गरेको छ । भिरकोट नगरपालिकाको सरसफाइ केन्द्र र पार्क निर्माणको कामलाई पनि उदाहरणीय मानिएको छ ।

नगरपालिकामै आधुनिक प्रविधिको प्रयोग गरी सरसफाइको व्यवस्थापन गरेर प्राङ्गारिक मल उत्पादन गरिँदै छ प्राङ्गारिक मल उत्पादन मेसिन जडानका लागि १९ रोपनी जग्गा छुट्याइएको छ ।

फोहोरमैलाकै कारोबारबाट नगरपालिकाले वार्षिक २२ लाख आम्दानी गर्ने गरेको नगरपालिकाका सूचना अधिकारी श्रीराम प्रसाद खनालले प्रशासनसँग बताए ।

यस नगरपालिकामा पनि पुतली बजारकै जसरी ११ प्रकारका फोहोर विभाजन गरेर मल उत्पादन, प्रशोधन र विक्री वितरण गर्ने गरिएको छ ।

भिरकोट नगरपालिकाले पनि फहोरमैला व्यवस्थापन कार्यविधि बनाएको छ । नगरपालिकामा कहाँबाट कति रकम उठाउने, सबै मापदण्डमा तोकिएको छ । घरघरबाट फोहोर नगरपालिकाले उठाउँदा त्यसबाट पनि नगरपालिकाले राम्रै आम्दानी गरिरहेको छ ।

नगरपालिकाले कार्यविधिमा तोकिएअनुसार, फोहोर उठाएका रकम किराना पसल, फलफूल पसल र हेयर कटिङबाट १ सय ५० देखी ३ सय सम्म मासिक उठाउने गरेको छ ।

एउटा घरमा एउटा कोठा भाडामा लगाइएको छ भने एक कोठाको १ सय २० र फ्ल्याट भाडामा लगाइएको छ भने त्योभन्दा बढी रुपैयाँ मासिक पोहोर सङ्कलन शुल्क तोकिएको छ ।

स्थानीय तहमा उत्पादन हुने प्लास्टिकजन्य फोहोरलाई विक्री गर्न पुतलीबजार र भिरकोटमा रहेका स्थानीय उद्योगसँग समेत नगरपालिकाले सम्झौता गरेका छन् ।

सिसाजन्य फोहोरहरूको सङ्कलनमा सहजता ल्याउनका लागि नगरपालिका स्वयंले सर्वसाधारणबाट बोतल खरिद गर्ने गरेको छ । सर्वसाधारणबाट कति दरमा नगरपालिकाले किन्ने र कति दररेटमा उद्योगलाई बेच्ने भन्नेबारेमा कार्यविधिसमेत बनाएको छ ।

अहिले भिरकोट नगरपालिकामा दैनिक करिब ५ क्विन्टल फोहोर निस्कने गरेको छ । सरसफाइ व्यवस्थापनमा भिरकोट नगरपालिकाले गरेको काम निकै असल अभ्यास मानिएको छ ।

नगरपालिकाले सरसफाइ केन्द्र स्थापनाका साथै पार्क निर्माण पनि गरेको छ । स्थानीय पर्यटन प्रवर्द्धनका लागि पार्कमा गोलघर निर्माण, विभिन्न किसिमका फूलहरू लगाउने , शौचालय निर्माण गर्ने लगायतका कामहरू गरेको छ ।

सरसफाइ आफ्नो शरीरको मात्रै हैन, आफ्नो वरपरको वातावरणको पनि हुन जरुरी छ ।

सरसफाइले मान्छेको जीवनशैली पनि सुन्दर बनाउँछ । हिजोआज संसारमा सहरीकरण वृद्धिसँगै फोहोर मैला निकै बढेकाले विभिन्न किसिमका रोगव्याधी फैलिरहेका छन् । बढ्दो सहरीकरण कलकारखानाहरू सञ्चालन गरिदा ,

पेट्रोल , डिजेलबाट चल्ने सवारी साधनहरूको धुवाँ धुलोले गर्दा वातावरण निकै प्रदूषण हुने गरेको छ ।

सरसफाइ व्यवस्थापनका लागि पुतलीबजार र भिरकोट नगरपालिकाले गरेजस्तै उदाहरणीय काम अन्य स्थानीय तहले पनि गर्न सकेमा फोहोरबाट मोहोर बनाउन असम्भव हुने देखिन्न ।

Tags :
प्रतिक्रिया दिनुहोस