लकडाउन उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुखलाई कारबाही गर्न गृहको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लकडाउन उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुखलाई कारबाही गर्न गृहको निर्देशन


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले लकडाउन उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुखलाई कारबाहीका लागि पत्र काटेको छ । मन्त्रालयले निशेषाज्ञा आदेश जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई कारबाहीका लागि पत्र पठाएको हो ।

‘…..ब्यहोरा यसैसाथ संलग्न छ, ब्यहोरा अवगत गर्दै आवश्यक कानुन बमोजिम कारबाही गरी सो को जानकारी मन्त्रालयलाई गराउने’ मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।

आइतबार बिहान सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुख रोशन श्रेष्ठ प्रदेश नं. ३-०१-००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवती बोकेर स्वयम्भू पुगेका थिए । स्वयम्भू डाँडामा अश्वभाविक गतिविधिमा लिप्त फोटो र भिडियो केही समाचारलगायत सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको चौतर्फी आलोचना भएको थियो । विभाग स्रोतका अनुसार ती युवती कार्यालयकै करारमा कार्यरत इन्जिनियर हुन् ।

सरकारी कर्मचारी, त्यसैमाथि पनि कार्यालय प्रमुखबाटै अमर्यादित क्रियाकलाप सार्वजनिक भए लगत्तै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज दाहालले कानुन उल्लङ्घन गर्ने जोकोहीलाई कारबाही हुने जनाएका थिए ।

प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले गृहबाट पत्र प्राप्त भएको र आजै कार्यालयलाई के कसो भएको हो भनी पत्र पठाउने प्रशासनलाई बताए ।

‘गृहबाट पत्र आएको छ’, पराजुलीले भने, ‘पहिला सम्बन्धित कार्यालयबाट जवाफ माग गर्दै आज पत्र पठाउँछौँ, त्यसपछि कारबाही प्रक्रिया अगाडी बढ्छ’

गृहको पत्रसँगै प्रजिअ पराजुलीलाई कारबाही गर्न थप दबाब सिर्जना भएको छ ।

सिङ्गो कर्मचारीतन्त्रलाई नै बदनामित गराउने गरी घटना सार्वजनिक भएको करिब साता दिन भइसक्दासमेत मन्त्रालय र विभाग भने त्यस्ता कर्मचारीलाई कारबाही गर्ने भन्दा थाहा नै नभए झैँ गरी घटनालाई गुपचुपमै ‘राफसाफ’ गर्नेतिर लागेका छन् ।

घटनाबारे विभागका महानिर्देशक नवराज प्याकुरेलसँग बुझ्न खोज्दा सुरुमा त उनले केही थाहा नपाएजस्तो गरे, तर गाडी र कर्मचारी विभाग अन्तर्गतकै आयोजनाको होइनन् र ? भने पनि उनले यसबारे मन्त्रालयसँग कुराकानी भइरहेको जनाए । ती कर्मचारी केही सोधपुछसम्म भएन भन्ने प्रश्नमा महानिर्देशक प्याकुरेलले भेटसम्म भएको तर त्यसबारे भने केही नसोधिएको बताए ।

त्यसो त श्रेष्ठलाई मन्त्रालयका सचिव रमेश प्रसाद सिंहको ‘ओत’ रहँदै आएको छ । सहसचिवको दरबन्दी भएको ठाउँमा सेटिङमै उपसचिव पठाउने काम गर्ने तिनै सचिव सिंह हुन् । सिंहले नयाँ सहरका प्रमुख(सहसचिव) दिगम्बर ठाकुरलाई मन्त्रालय तानेर श्रेष्ठ(उपसचिव)लाई प्रमुख बनाई पठाएका थिए । जबकि ठाकुरको अनिवार्य अवकाशमा जाने समय केही मात्रै बाँकी थियो ।

पैसाका लागि जे पनि गर्न तयार सचिव सिंहले मातहतका निकायहरूमा आफू अनुकूलका कर्मचारीहरू सेटिङ गरेको विवरण प्रशासनलाई प्राप्त भएको छ । उनले मन्त्रालय मात्रै होइन, विभाग तथा अन्तर्गतका आयोजनाहरूमा मुख्य मुख्य ठाउँमा आफ्ना मान्छेहरू राखेका छन् ।

यसबारे सचिव सिंहलाई फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस