सुरक्षित निर्माणको दशवर्षे कार्यक्रम, पुनःनिर्माणमा रु ३३ अर्ब ५५ करोड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुरक्षित निर्माणको दशवर्षे कार्यक्रम, पुनःनिर्माणमा रु ३३ अर्ब ५५ करोड


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनाका क्षेत्रमा प्राप्त अनुभवका आधारमा आगामी आर्थिक वर्षदेखि सुरक्षित नेपाल निर्माणको दशवर्षे कार्यक्रम शुरु गरिने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज जारी गरेको बजेट वक्तव्यमा आर्थिक वर्ष २०७८/२०७९ मा भूकम्पपछिको पुनःनिर्माणमा नेपालले प्राप्त गरेको सफलता र अनुभवलाई आगामी वर्ष अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरी विश्वसामु प्रस्तुत गरिने उल्लेख छ । भावी पुस्तालाई भूकम्पसम्बन्धी ज्ञान दिलाउन भूकम्प सङ्ग्रहालयको स्थापना गरिने भएको छ । यो सङ्ग्रहालय धरहरा परिसरमा निर्माण भइरहेको छ ।

आगामी आवमा थप एक हजार ३०७ विद्यालयका १४ हजार १५५ कक्षाकोठा, १०५ स्वास्थ्य संस्था, १९५ सांस्कृतिक तथा पुरातात्विक सम्पदा र ३६ सरकारी भवन निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ । भूकम्पबाट क्षति भएका राष्ट्रपति भवन, बबरमहल, बालमन्दिर, केशरमहल, हरिहरभवन, त्रिचन्द्र कलेजलगायत महत्वपूर्ण भवन तथा पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माण तथा प्रबलीकरणलाई तीव्रता दिइने प्रतिबद्धता बजेटमा व्यक्त गरिएको छ ।

यसैगरी आगामी आर्थिक वर्षमा ३९ स्थानमा एकीकृत बस्ती निर्माण गरिने लक्ष्य राखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि आगामी पुस १० गतेसम्म रहेकाले त्यसपछि अधुरा आयोजना पूरा गर्न आवश्यक स्रोत र अभिलेखसहित कार्यान्वयनको जिम्मेवारी विषयगत मन्त्रालयमा हस्तान्तरण गरिने भएको छ ।

धरहरा परिसर, सिंहदरबारको प्रबलीकरण एवं काष्ठमण्डपको पुनःनिर्माण प्राधिकरणको समयावधिभित्र सम्पन्न गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए । भूकम्पपछिको पुनःनिर्माणका लागि रु ३३ अर्ब ५५ करोड बजेट विनियोजन भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस