कोभिड-१९ विरुद्धको उत्थानशीलता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोभिड-१९ विरुद्धको उत्थानशीलता


१७ बैशाख २०७८, शुक्रबार


साइबर स्पेस

महामारी र विपद्का बिचमा असमानताभन्दा समानताका पक्षहरू बढी छन् । दुवैले सङ्गठन र समुदायको नियमित सञ्चालनलाई भङ्ग गरिदिन्छन् ।यी दुवै व्यवसाय र समाजमा सङ्कटको सिर्जना गर्ने कारणका रूपमा देखिन्छन् । महामारी र विपद्जन्य घटनाले व्यक्ति, समुदाय र सामाजिक पूर्वाधारमा रहेका कमजोर विन्दुहरू उजागर मात्रै गर्दैन कि आपसमा मिलेर सधैँ काम गर्नुपर्ने सरोकारवालाबिच रहेको कमजोर अन्तरसम्बन्ध पनि लुक्दैन । महामारी र विपद्का कारण सङ्कट आउन नदिन कमसेकम पनि समुदाय तहमै उत्थानशीलताको खाँचो पर्दछ ।

२०१९ को डिसेम्बरबाट प्रारम्भ भएको कोभिड-१९ को महामारी अन्त्य रेखा देखा परेको छैन । नयाँ नयाँ रूपमा यो रोग झन् जटिल रूप लिँदै मानव सभ्यतालाई चुनौती दिइरहेको छ । लक्षणहरू पनि फेरिएको र धेरै प्रभाव पर्ने उमेर समूहसमेत वृद्धवृद्धाबाट बालबालिका, किशोरावस्था र युवावस्थातर्फ सरेको भनेर समाचारहरू आएको छ । यसै सन्दर्भमा कोभिड १९ सङ्क्रमण हुन नदिने र लागि हालेमा त्यसको असरबाट बच्न उत्थानशीलता कसरी हासिल गर्ने के कसरी सम्भव छ भन्ने बारेमा यस संक्षिप्त लेखमा चर्चा गरिएको छ ।

कोभिड-१९ लाग्न नदिने उपायहरुका रूपमा खासगरी साबुन पानीले मिचिमिची हात धुने र साबुन पानी उपलब्ध नहुँदा स्यानिटाइजर प्रयोग गर्ने, खासगरी भिड हुने स्थान वा बजारमा जाँदा मास्क लगाउने र सामाजिक दुरी कायम गरी हिँड्ने वा काम लिने । सङ्क्रमणको आशङ्का भयो वा सङ्क्रमण पुष्टि भयो भने अलग्गै बस्ने प्रबन्ध मिलाउने । सरकारले उपलब्ध गराएको खोप लगाउने विषय पनि यसमा थप हुन सक्छ । यो बाहेक पारिवारिक भेटघाट, भोज, विवाह तथा अन्य संस्कारको जमघट, राजनीतिक दल वा कार्यालय वा संस्थाबाट हुने भेला वा बैठकका कारण सङ्क्रमण ज्यादा फैलिएको पाइएको हुँदा हामीहरू आफ्नो परिवार र समाजको आनीबानीमा थप सतर्कता आवश्यक देखिन्छ । त्यसैगरी अस्पताल जाँदा हामीले पर्याप्त होसियारी अपनाएनौ भने पनि हामीले रोग लिएर घर आउँछौ ।

समुत्थानशीलता 

कोभिड भइहाल्यो भने पनि यसबाट बचेर पहिलेको अवस्थामा कसरी आउन सकिन्छ, कसरी तङ्ग्रिन सकिन्छ भन्ने विषय ज्यादा महत्त्वपूर्ण छ । यस्तो समुत्थान क्षमता व्यक्तिगत र समुदायको स्तरमा विकसित हुन सक्छ । व्यक्ति व्यक्ति सजग भएको खण्डमा सामुदायिक समुत्थानशीलता पनि सम्भव हुन पुग्दछ । यहाँनेर महामारीसँग लड्न सक्ने र पहिलेजस्तै सकुशल अवस्थामा फर्कनका लागि जे जस्तो क्षमता हामी विकास गर्न सक्छौ त्यसैलाई यहाँ समुत्थानशीलता भनेर बुझ्नु आवश्यक छ ।

व्यक्तिगत तहमा रोग प्रतिरोध क्षमता तथा समुत्थान क्षमता विकसित गर्नका लागि तीन वटा पक्षमा विशेष ध्यान दिनुपर्ने खोज अनुसन्धान र प्रयोगबाट देखिएको छ । ती तीन वटा उपायमध्ये पहिलो उपाय भनेको धूम्रपान गर्ने गरेको भए पूर्णरुपमा त्याग गर्नु र धूम्रपान गर्नेसँग नजिक नबस्नु । श्वासप्रश्वास प्रणालीमा असर गर्ने रोग भएको हुँदा धूम्रपानले कोभिडको गम्भीरता बढाएर लैजान्छ ।

दोस्रो उपाय भनेको शरीरको मोटोपन घटाएर ठिक्क आकारमा राख्ने । वोडि मास इन्डेक्स १८.५ देखि २४.९ सम्मलाई उपयुक्त मानिन्छ ।

तेस्रो उपाय भनेको शरीरलाई सक्रिय हालतमा राख्नु हो । हिँडडुल, शारीरिक काम जे गर्दा हुन्छ शरीरलाई स्थिर र आरामको हालतमा राख्नु हुँदैन । भनिन्छ कि रोग प्रतिरोधी क्षमता बढाउनका लागि शारीरिक सक्रियताको विशेष महत्त्व छ । एक अध्ययनले देखाएको निष्कर्षका अनुसार एक दिन पुरै आराम गरेर वा बसेर बा सुतेर बिताइयो भने बुझै हुन्छ कि १० खिल्ली चुरोट पिउँदा हुने असर बराबरको नकारात्मक असर परिसकेको हुन्छ ।

शारीरिक मात्र हैन कि मानसिक स्वास्थ्य ठिक पार्न वा मुड फ्रेस बनाउनका लागि पनि हरियालीयुक्त स्थानहरू घुम्नु राम्रो हुन्छ । त्यसो त गुम्म परेको कोठा वा भवनभित्रको स्थानमा भन्दा खुला स्थानमा रोग फैलने सम्भावना त्यसैपनि कम हुन्छ ।

व्यक्तिगत तहमा रोग प्रतिरोध क्षमता बढाउनका लागि स्वस्थ खानपानको आनीबानी आवश्यक पर्दछ । वास्तवमा हाम्रो शरीरमा विकसित हुने लाभ कारक ब्याक्टेरियाका लागि पनि उपयुक्त भोजन र जीवनशैली आवश्यक पर्दछ । यसै सन्दर्भमा स्वास्थ्य सचेतना सम्बन्धमा यहाँ एउटा प्रसङ्ग जोडौँ । नयाँ वर्ष २०७८ को पूर्व सन्ध्यामा गत चैत्र ३० गते सोमवार बिहान रेडियो सगरमाथामार्फत मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले स्वास्थ्य सम्बन्धी पाँच एजेन्डा अघि सार्नुहुँदै प्रतिबद्ध रहन आव्हान गर्नुभएको छ:

· स्वास्थ्यको सबैभन्दा ठुलो शत्रुलाई त्याग गर्नु(चुरोट, रक्सी, सुर्ती आदि)

· स्वास्थ्यको सबैभन्दा राम्रो मित्रलाई स्वागत गर्नु(फाइबरयुक्त सन्तुलित आहार जस्तै स् सागपात, फलफूल, सलाद, ओखर, बदाम, अङ्कुरित गेडागुडी)

· जंकफूड, कोल्डड्रिंक्स सकेसम्म नलिनु । चाउचाउजस्तो खानेकुरा महिनाको बढीमा एक पटक खाने र कोल्डड्रिंक्सको सट्टा कागती पानी खाने ।

· शारीरिक सक्रियता कायम राख्नु(शारीरिक अभ्यास, हिँडडुल, सरसफाइ तथा गोडमेल) । सकेसम्म हप्ताको एक दिन सवारी साधन प्रयोग नगर्ने ।

· उत्तेजनाविहीन रहन सिक्नु जसका लागि ध्यान र राजयोग उपयोगी हुन्छ साधना आवश्यक पर्दछ।

डा. रेग्मीले भनेका यी पाँच विषयले व्यक्तिको रोगविरुद्धको समुत्थानशीलता वा प्रतिरोधी क्षमता बढाउन पक्कै पनि सहयोग मिल्ने देखिन्छ । कोभिड-१९ का सम्बन्धमा सङ्क्रमण भएको नभएको सम्बन्धमा व्यक्ति स्वयं र परिवारले सजगता अपनाई थप सङ्क्रमण नहुने प्रबन्ध गर्न जरुरी छ । सङ्क्रमण विस्तारको चेन ब्रेक गर्ने कार्यमा व्यक्ति र समुदायको भूमिका आवश्यक छ । सम्बद्ध संस्थाहरूले यस कार्यमा सहयोग सम्म पुर्‍याउने हो ।

समुदायको समुत्थानशीलता कसरी बढाउने ?

पहिलो कुरा त समुदायको कसैलाई सङ्क्रमण भइहाल्यो भने उसको सम्पर्कमा आउनेहरूको पहिचान गर्न जाँच गर्ने र अलग्गै राख्ने व्यवस्था गर्नको लागि कनट्र्याक्ट ट्रेसिङको काम हुनु जरुरी छ । यसबाट मात्र सङ्क्रमणको सिलसिला ब्रेक हुन सक्दछ ।

सामान्य अवस्थामा पनि कमसेकम व्यक्ति व्यक्तिको बिचमा डेढ वा दुई मिटर दुरी कायम गरेर हिँडडुल गर्ने र काम लेनदेन गर्नु राम्रो हुन्छ । पसलहरूमा डोरी टाँगेर सामान वा रकम लेनदेन गर्नु राम्रो हो । सहरी क्षेत्रमा दुरी कायम गरी यात्रा गर्नका लागि पनि सडक र यसको पेटीको साइज पर्याप्त हुनुपर्दछ । साइकल चलाउनेका लागि छुट्टै लेन आवश्यक पर्दछ । विश्वमा साइकल सिटी, कारविहीन सहर जस्तै जर्मनीको ह्यमवर्ग, इटालीको भेनिस, स्पेनको मेड्रिड जस्ता सहरको सङ्ख्या बढ्दै छ । नेपालमा ललितपुरले छुट्टै लेनसहित साइकल सिटी बनाउने पहल गर्नु आफैमा सकारात्मक कुरा हो ।

हामीहरू दैनिक जीवनको ९० प्रतिशत समय घर वा भवनभित्र बिताएका हुन्छौँ । तसर्थ हामी बस्ने स्थानमा के कति हावाको प्रवाह हुन्छ, प्रदूषित हुन्छ वा हुँदैन भन्ने पनि ख्याल गर्नुपर्ने हुन्छ । झ्याल, ढोका वा भेन्टिलेसन खुला राख्नु राम्रो हुन्छ । वायुप्रदुषणले पनि सङ्क्रमण बढ्न सहयोग पुर्‍याउने पाइएको छ । सवारी साधनमा र भान्सामा प्रयोग हुने ऊर्जा स्रोत वा इन्धन के कति सफा छ भन्नेमा प्रदूषण भर पर्दछ । यति मात्र हैन यही वर्ष फागुन चैत्रमा भएको डढेलोको कारण वायु प्रदूषण ज्यादै बढेको हामीले बिर्सेका छैनौ । मानवीय क्रियाकलापहरू वातावरणमैत्री नभएसम्म वायु प्रदूषण घटेर जाने देखिँदैन ।

समग्रमा नीति तथा कार्यक्रम निर्माणमा संलग्न देखि कार्यस्थलमा दैनिक भूमिका निभाउनेहरुसम्ममा पनि उत्थानशीलताको सोच र चिन्तन आवश्यक छ । समय परिस्थितिअनुसार अनुकूलता कायम गर्ने, कठिन अवस्थासँग जुध्नको लागि पूर्व तयारी गर्ने, सूचना प्रवाहको कामायाव मोडल प्रयोग गर्ने, प्रतिरोधात्मक वा उपचारात्मक विधिको प्रयोग गर्दा समुदायसँगै मिलेर कार्यान्वयन गर्ने र मूलरुपमा सामाजिक आवश्यकता पूर्तिका उपायहरू अवलम्बन गर्दा नैतिक र न्यायिक कार्य संस्कार अवलम्बन गर्नुपर्दछ । दीर्घ रोगीहरूको विशेष निगरानी आवश्यक छ ।

देशभित्र प्रवेश गर्ने व्यक्तिको सूचना राख्ने र ट्रयाकिङ गर्ने काम पनि महत्त्वपूर्ण छ । भारतमा निकै छिटो फैलिएको सङ्क्रमण नेपालका लागि ठुलो जोखिमको स्रोत हो । स्वास्थ्य प्रणालीलाई बलियो बनाउन तीनै तहको सरकार चनाखो हुनै पर्दछ । महामारीको विषय सङ्घीय सरकारको कार्यक्षेत्रमा पर्ने हुँदा सङ्क्रमण फैलन नदिने निषेधाज्ञा जारी गर्ने जस्ता उपायको अलावा उपचारको उपयुक्त प्रबन्ध समेत आवश्यक छ । खोप कूटनीति समेत प्रभावकारी हुनु जरुरी छ ।

महामारीविरुद्धको लडाइ सामूहिक प्रयासबाट सम्भव छ र यसका लागि सामुहिकरुपमा समुत्थानशीलता आवश्यक छ । माथि चर्चा गरिएका उपायहरूबाट कोभिड १९ रोग निर्मूल हुँदैन । पूर्णरुपमा मुक्तिका लागि त अचुक खालका खोप आवश्यक छ । के चाहिँ सत्य हो भने हामीहरू हेलचेक्र्याइँ गरेनौ र व्यक्तिगत र समूहगतरुपमा समुत्थानशील हुने गरी आफ्नो दैनिक व्यवहारहरू गर्‍यौँ भने कोभिड भइहालेपनि प्रतिरोध गर्न सकिन्छ र सन्चो हुन सक्छ । जीवनशैली र आनीबानी राम्रो भयो भने कोभिड १९ मात्र हैन यो जस्तै सङ्क्रामक रोग र श्वासप्रश्वाससँग सम्बन्धित रोगहरू र धेरैको ज्यान लिइरहेको क्यान्सर र डायवेटिजजस्ता रोगहरूसँग समेत लड्न सकिने निष्कर्ष स्वास्थ्य क्षेत्रका विज्ञहरूले निकालेका छन् । आउनुहोस् कोभिड-१९ लाई सबै मिलेर परास्त गरौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस