सरकारले पुनर्निमाणका लागि विपद् कोषबाट पहिलो चरणमा ५० करोड दिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारले पुनर्निमाणका लागि विपद् कोषबाट पहिलो चरणमा ५० करोड दिने


प्रशासन संवाददाता

२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ। सरकारले बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुननिर्माणका लागि पहिलो किस्ताको रकम दिने निर्णय गरेको छ।

गत वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा गएको बाढीका कारण क्षति पुगेका घरको पुनर्निर्माणका लागि रकम दिने निर्णय गरेको हो ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनिकरणको राष्ट्रिय परिषद् बैठकले
विपद व्यवस्थापन कोषमा रहेको रकममध्ये ५० करोड रुपैयाँबाट तीन हजार घर पुनर्निमाणका लागि दिने निर्णय गरेको छ ।

मनसुसजन्य विपदका कारण घरमा क्षति पुगेका परिवारका लागि पुननिर्माण गर्न सहयोग सम्बन्धी कार्यविधि पहिल्यै बनिसकेको थियो ।

कार्यविधि अनुसार घर पुननिर्माणका लागि हिमाली जिल्लामा ५ लाख, पहाडीमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ प्रतिघर दिने उल्लेख छ ।

प्रधानमन्त्री ओलीले बैठकमा यस वर्ष आगलागीबाट क्षति पुगेका घरको पुनर्निमाणमा सहयोग गर्ने सम्बन्धमा पनि तयारी थाल्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले डढेलो नियन्त्रणका लागि सबै स्रोत र जनशक्ति प्रयोग गर्न विपद व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएका छन् । डढेलोका कारण वायु प्रदूषणसमेत बढिरहेको उल्लेख गर्दै ओलीले यसलाई ठूलो विपदको रुपमा लिएर नियन्त्रणका लागि गम्भिर बन्न निर्देशन दिएका हुन् ।

‘स्थानीय निकाय, वन उपभोक्ता समिति, सबै सुरक्षा निकायसहितको समन्वयमा हेलिकोप्टरदेखि अन्य स्रोत, साधन प्रयोग गरेर भए पनि डढेलो नियन्त्रणमा लिनुस्’, ओलीले भने, ‘कतिपयले जानीजानी आगो लगाउने पनि गरेका छन्, तिनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

आगो नियन्त्रणका लागि आवश्यक उपकरण र साधन स्थानीय तहसम्म व्यवस्था गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए । बैठकमा बाढीको पूर्वतयारीबारे पनि छलफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस