निजामती सेवालाई आकर्षक, कामयाबी र उच्च साखयुक्त तुल्याउनु आवश्यक -सचिव अर्याल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निजामती सेवालाई आकर्षक, कामयाबी र उच्च साखयुक्त तुल्याउनु आवश्यक -सचिव अर्याल


२५ चैत्र २०७७, बुधबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव एकनारायण अर्यालले निजामती सेवालाई आकर्षक, कामयाबी र उच्च साखयुक्त तुल्याउनु आवश्यक रहेको बताएका छन् ।

बुधवार सिंहदरवारमा आयोजित नेपाल सरकारका सचिवहरूबिच निजामती सेवाका विभिन्न पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सचिव अर्यालले श्रम बजारमा रहेका प्रतिभावान् जनशक्तिलाई निजामती सेवामा आकर्षण गर्ने र सेवामा रहेका प्रतिभाको संरक्षण, सम्बद्र्धन एवम् उपयोग गर्ने दायित्व नेपालको निजामती सेवाको रहेको उल्लेख गर्दै यसका लागि निजामती सेवालाई आकर्षक, कामयाबी र उच्च साखयुक्त तुल्याउनु आवश्यक भएको बताएका हुन् ।

आधुनिक उपकरण, आकर्षक कार्यालय र पूर्वाधारले मात्र प्रशासनको क्षमता निर्धारण नगर्ने उनको भनाई छ । सचिव अर्यालले सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको सङ्गठनमा कार्यरत जनशक्तिको क्षमता र उत्प्रेरणाको स्तर भएको जिकिर गरे ।

‘श्रम बजारमा रहेका प्रतिभावान् जनशक्तिलाई निजामती सेवामा आकर्षण गर्ने र सेवामा रहेका प्रतिभाको संरक्षण, संवर्द्धन एवम् उपयोग गर्ने दायित्व नेपालको निजामती सेवाको रहेको छ । यसका लागि निजामती सेवालाई आकर्षक, कामयाबी र उच्च साखयुक्त तुल्याउनु आवश्यक छ’, सचिव अर्यालले भने, ‘आधुनिक उपकरण, आकर्षक कार्यालय र पूर्वाधारले मात्र प्रशासनको क्षमता निर्धारण गर्दैन । यो आवश्यक हो तर पर्याप्त होइन, सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको सङ्गठनमा कार्यरत जनशक्तिको क्षमता र उत्प्रेरणाको स्तर हो ।’

सचिव अर्यालले निजामती प्रशासनको मूल जिम्मेवारी भनेको प्रत्येक नागरिकले चाहेको र खोजेको सेवा र सुविधा समयमै तोकिएको स्थानबाट उपलब्ध गराउनु रहेको बताए । सार्वजनिक सेवालाई प्रभावकारी रूपमा सरोकारवाला समक्ष सम्प्रेषण गर्न समकालीन निजामती प्रशासन प्रक्रियमूखीबाट नतिजामुखी स्वभावमा रूपान्तरण हुनुपर्ने अवस्था आएको उल्लेख गर्दै यसका लागि निजामती कर्मचारीमा सक्षमताको विकास एवम् सदाचारिता र उत्प्रेरणाको विकास हुनुपर्छ भन्ने कुरामा कुनै द्विविधा नभएकोसमेत सचिव अर्यालको भनाई छ ।

निजामती प्रशासनले राजनीतिलाई नीति तथा कानुन निर्माणमा स्वतन्त्र विज्ञको रूपमा सहयोग तथा पृष्ठपोषण प्रदान गर्ने र यसका लागि निजामती सेवामा क्षमतावान् एवम् प्रतिभावान् जनशक्तिको आवश्यकता पर्ने उनले बताए ।

भूमण्डलीकरणले ल्याएको परिवर्तनलाई बोध गरी आफ्नो कार्यक्षेत्रमा कौशलता प्रदर्शन गर्न सक्ने क्षमतावान् निजामती प्रशासनको अपरिहार्यता रहेको उल्लेख गर्दै सचिव अर्यालले भने ‘दिगो विकासका लक्ष्य एवम् नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति भएको सन्दर्भमा पूरा गर्नुपर्ने दायित्वलाई आत्मसात् गर्न निजामती सेवालाई व्यावसायिक र क्षमतावान् बनाउनु आवश्यक भएको छ ।’

उनले विकास प्रशासनका नवीन आयामहरूलाई नेपालको परिवेशमा ढाल्न सक्ने सक्षम र सुदृढ निजामती प्रशासन आजको आवश्यकता महसुस भएको सन्दर्भमा यिनै आवश्यकता पूर्तिका मार्गमा देखा परेका र भविष्यमा पर्न सक्ने चुनौतीको कुशलतापूर्वक सामना गर्न निजामती सेवाभित्र स्पष्ट मानव संसाधन योजना हुनु अनिवार्य देखिएको बताए ।

राज्य सञ्चालनको स्थायी संयन्त्रको रूपमा रहेको कर्मचारीतन्त्रको विकल्प भनेको सुधारिएको, व्यावसायिक, सदाचारी र उत्प्रेरित कर्मचारीतन्त्र नै भएको उनले बताएका छन् । ‘राज्य सञ्चालनको स्थायी संयन्त्रको रूपमा रहेको कर्मचारीतन्त्रको विकल्प भनेको सुधारिएको, व्यावसायिक, सदाचारी र उत्प्रेरित कर्मचारीतन्त्र नै हो भन्ने कुरामा दुई मत छैन’ सचिव अर्यालले भने ‘यिनै वस्तु तथ्यलाई हृदयङ्गम गर्दै कर्मचारी संयन्त्रलाई सक्षम, सुदृढ, जनउत्तरदायी, व्यावसायिक, नतिजामुखी एवम् उच्च मनोबलयुक्त तुल्याउनु नेपालको सार्वजनिक प्रशासनको प्रमुख दायित्व रहेको छ ।’

राजनीतिक उपलब्धिको रूपमा प्राप्त लोकतन्त्रका लाभहरूलाई आम नागरिकमा पु¥याउन कर्मचारी प्रशासनलाई दरिलो सेतुको रूपमा स्थापित गराउनु पर्ने चुनौती समेत खडा भएको सचिव अर्यालको भनाई थियो । परिवर्तित प्रशासनिक पर्यावरण र विश्वव्यापीकरणबाट प्राप्त नवीनतम प्रशासनिक अवसरको सदुपयोग गर्दै नेपालको प्रशासनिक प्रबन्धलाई समयानुकूल सुधार एवम् रूपान्तरण गर्नुपर्ने भएकोसमेत उनले बताए ।

रणनीतिक योजनाले मार्गदर्शन गरेबमोजिमका नीति एवम् क्रियाकलापहरूको कार्यान्वयनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रतिबद्ध रहेको सचिव अर्यालले बताए ।

१० वर्षे रणनीतिक योजनामा उल्लेखित क्रियाकलापहरू मन्त्रालयको एकल प्रयासले मात्र सम्भव नभएको बताउँदै यसका लागि सङ्घीय तथा प्रदेश मन्त्रालयहरू, स्थानीय तह, विकास साझेदार लगायतका सरोकारवालाहरूको सहयोग र पृष्ठपोषण उत्तिकै महत्त्वपूर्ण रहेको र रणनीतिक योजना एक गतिशील दस्ताबेज भएकाले निरन्तर सुधारका लागि सुझाव तथा पृष्ठपोषण सदैव मार्गदर्शनको रूपमा स्वीकार्य हुनेसमेत सचिव अर्यालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस