गणक तथा सुपरीवेक्षकका लागि तीन गुणा बढी आवेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गणक तथा सुपरीवेक्षकका लागि तीन गुणा बढी आवेदन


२२ चैत्र २०७७, आइतबार


गलकोट । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय जनगणना– २०७८ का लागि बागलुङमा आवश्यक तयारी तीव्ररुपमा भइरहेको छ ।

केही हप्ता अगाडि बागलुङमा जिल्ला जनगणना कार्यालय स्थापना भएपछि तयारीलाई तीव्रता दिइएको हो । जनगणनाका लागि आवश्यक पर्ने गणक र सुपरीवेक्षकलाई तालीम दिने तयारी भइरहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ ।

सङ्घीयता कार्यान्वयनपछि हुन थालेको पहिलो जनगणनाले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारलाई नीति तथा बजेट निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ । जनगणना गर्न बागलुङमा ४०६ गणक र १०० सुपरीवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ ।

करारमा कर्मचारी भर्नाका लागि आह्वान गरिएको दरखास्तमा तीन गुणा बढी अर्थात् एक हजार ८३६ ले आवेदन दिएको तथ्याङ्क कार्यालय बागलुङका प्रमुख जनगणना अधिकारी मुकुन्दप्रसाद शर्माले जानकारी दिए। स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने व्यवस्था छ । तर भर्ना भने कुनै एक पदका लागि मात्र लिइने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गणकका लागि भने दश जोड दुई वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ ।

सङ्घीयतापछि हुन लागेको पहिलो जनगणनाले स्थानीय सरकारलाई उक्त तथ्याङ्कले ठूलो सहयोग पुर्याउने छ । विसं २०७८ को असार महिनाभित्र हुने गणना नेपालको जनगणनाको इतिहासमा ११० वर्षमा गर्न लागिएको १२औँ शृङ्खला भएको कार्यालयले बताएको छ । बागलुङका १८ प्रशिक्षकले गणक र सुपरीवेक्षकलाई तालीम दिन तयारी भएर बागलुङ आइसकेको गणना अधिकारी शर्माको भनाइ छ । उनका अनुसार जनगणनालाई सहज तुल्याउन जिल्लाको चार स्थानमा स्थानीय जनगणना कार्यालयसमेत स्थापना गर्ने तयारीमा रहेको छ ।

नागरिकलाई ८० प्रश्न
अहिलेको जनगणनालाई व्यवहारिक तथा वैज्ञानिक बनाउनका लागि ८० प्रश्न तयार गरिएको छ । जनगणनापछि सबै जानकारी प्राप्त गर्नका लागि ८० प्रश्न सोधिनेछ । जनगणनामा शुरुमा सुपरीवेक्षक घरमै पुगेर २५ प्रश्न सोध्नेछ भने त्यसपछि गणक गएर ५५ प्रश्न सोध्नुपर्नेछ । जनगणना अधिकारी शर्माका अनुसार सुपरीवेक्षकले घरमुली, जग्गा, कृषि र बैंक खाताको विवरणलगायतका प्रश्नको उत्तर ल्याउनेछ भने गणकले व्यक्तिगत खण्ड, पारिवारिक खण्ड र आर्थिक कारोबार खण्डका आधारमा प्रश्न गर्नेछ । यसका लागि सुपरीवेक्षकलाई १० मिनेट र गणकलाई ३० मिनेट समय लाग्नेछ ।

महिलाको सम्पत्ति विवरण आउने
यसपटकको जनगणनामा खाली रहेको घर, गोठकोसमेत विवरण आउने छ । नेपालमा महिलाको नाममा सम्पत्ति बनाउने प्रचलन बढ्दै गएको सन्दर्भमा महिलाको नाममा भएको एकल र संयुक्त सम्पत्ति विवरणसमेत जनगणनामा समावेश गरिने भएको छ । सरकारलाई नीति तथा कार्यक्रम ल्याउन सहज गराउने गरी बेरोजगार अवस्था, रोजगारी चाहे÷नचाहेकोलगायतका विवरणसमेत समावेश गरिनेछ ।

भौगोलिक कठिनाइका कारण अनुगमन, सामग्रीको सहजतालगायतलाई ध्यानमा राखेर जिल्लाका १० स्थानीय तह हेर्ने गरी चार स्थानमा स्थानीय जनगणना कार्यालय स्थापना गर्ने तयारीमा कार्यालय रहेको छ । जिल्लाको बरेङ गाउँपालिका र जैमिनी नगरपालिका हेर्ने गरी जैमिनी नगरपालिकामा, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका हेर्ने गरी बागलुङ नगरपालिकामा, ताराखोला गाउँपालिका, बडिगाड र गलकोट नगरपालिका हेर्ने गरी गलकोट नगरपालिकामा तथा तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका हेर्ने गरी ढोरपाटान नगरपालिकामा वैशाख १ गतेदेखि जनगणना कार्यालय स्थापना गरिनेछ ।

जनगणनाको प्राथमिक तथ्याङ्क गणना सकेको छ महिनामै आउनेछ । अहिले सरकारले महानगरपालिका र उपमहानगरपालिकामा डिजिटल माध्यमबाटै तथ्याङ्क सङ्कलन गर्नेछ भने नगरपालिका र गाउँपालिकामा कागजी फारम भर्नुपर्ने छ । अहिलेको जनगणनामा जन्म, मृत्यु, बसाइँसराइका साथै मातृ मृत्युदरको विषयमासमेत जानकारी लिइनेछ ।

गणकद्वारा प्रत्येक घरधुरीमा पुगेर मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु बसाइँसराइलगायत विवरण सङ्कलन गरिनेछ । दोस्रो चरणअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत साधन, पहुँच, क्षमता पूर्वाधार र विपद्सम्बन्धी विवरण सङ्कलन गरिनेछ । घर तथा घरपरिवार सूचीकरण फाराम २०७८ वैशाख २६ देखि जेठ १४ र मुख्य प्रश्नावली २०७८ जेठ २५ देखि असार ८ गतेसम्म विवरण भर्ने व्यवस्था छ । २०६८ को जनगणनाअनुसार बागलुङ जिल्लाको जनसङ्ख्या दुई लाख ६८ हजार ६१३ छ । नमूना जनगणनालाई प्रश्नको विषय, समय तथा गणकको सङ्ख्याका आधार मानिएको छ । जनगणनाको मुख्य आधार जन्म, मृत्यु, बसाइँसराइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस