घुस अस्वीकार गर्ने ३४ ट्राफिक प्रहरी सम्मानित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घुस अस्वीकार गर्ने ३४ ट्राफिक प्रहरी सम्मानित


प्रशासन संवाददाता

१९ चैत्र २०७७, बिहिबार


काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने एक प्रहरी नायव निरीक्षक सहित ३४ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ ।

बुधवार एक कार्यक्रमको आयोजना गरी सात जनालाई नगदसहित वृत्ति विकासमा सहयोग पुग्ने गरी पुरस्कृत गरेको महाशाखाले जनाएको छ ।

पुरस्कृत हुनेहरुमा प्रहरी हवलदार भिम बहादुर बोहोरा र बसन्त कुमार गौतम, प्रहरी जवानहरु क्रमशः विनोद खनाल, अजय सुनार, राजेश कोइरी, लाल बहादुर बि.क. र शंकर कुमार पन्त रहेका छन् ।

‘नेपाल प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ एव निर्देशन दिँदै आएका छौँ, फलस्वरुप घुस दिन खोज्ने १३६ जना चालकहरुलाई पक्राउ गरी कारबाही गरिएको छ’ महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने ।

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारबाही पश्चात् हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दछन् । प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कारबाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी सङ्गठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको उनले बताए ।

आम सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र उल्लङ्घन पश्चात् हुने कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ ।

यस प्रकारका गलत संस्कारले नियम नमान्ने परिपाटीमा थप बल पुग्नुको साथै समग्र सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा समेत असर गर्ने महाशाखाको बुझाइ छ ।

यसरी आर्थिक पारदर्शिता एव शून्य सहनशीलता कायम गर्न र प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई कारबाहीको दायरामा ल्याउनेलाई पुरस्कृत एवं सम्मान गर्ने कार्यले अन्य प्रहरी कर्मचारीहरूमासमेत सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाको छ ।

चालु आर्थिक वर्षमा आर्थिक प्रलोभनमा पार्न खोज्ने १३६ जना सवारी चालकहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस