बौद्धिक चोरीको आरोपमा त्रिविका सात प्राद्यापकलाई कारबाही « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बौद्धिक चोरीको आरोपमा त्रिविका सात प्राद्यापकलाई कारबाही


१४ चैत्र २०७७, शनिबार


काठमाडौँ । बौद्धिक चोरीको आरोपमा त्रिविका सात जना प्राद्यापकलाई कारबाही गरिएकाे छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले बौद्धिक चोरी गर्ने एक प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकसहित सात जनालाई कारबाही गर्ने निर्णय गरेको हो ।

उनीहरुले फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेको भन्दै परिषद्ले कारबाही गर्ने निर्णय गरेको छ ।

त्रिविको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसका रसायनशास्त्रका प्राध्यापक परशुराम मिश्र, आंशिक प्राध्यापक रोहित देव, सहप्राध्यापक जनक अधिकारी, नरेन्द्र चौधरी, विमल कण्ठ र हरेराम मिश्रलाई परिषदले कारबाही गरेको छ ।

उनीहरुको हालसम्म विभिन्न जर्नलमा छापिएको आर्टिकल अमान्य हुने, दुई वर्षसम्म कुनै पनि अध्ययन–अनुसन्धानमा सहभागी हुन नपाउने, थेसिस गाइड तथा सुपरीवेक्षक बन्न नपाउने भएका छन् । आंशिक प्राध्यापक रोहित देवले दुई वर्ष कुनै पनि विश्वविद्यालय वा क्यापम्सहरूमा कक्षा लिन नपाउने भएका छन् ।

यो पहिलोपटक त्रिवि कार्यकारी परिषद्ले बौद्धिक चोरीको आरोपमा कारबाही गरेको हो ।

प्राध्यापक आरमेलीले आफ्नो सामग्री चोरी भएको इमेलमार्फत त्रिविमा उजुरी गरेपछि परिषद्ले त्रिवि केन्द्रीय क्याम्पस रसायन शास्त्र विभागका प्रा.डा रामचन्द्र बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले आरोपित सातै जनाले बौद्धिक चोरी गरेको प्रतिवेदन बुझाएको थियो । सकितिको सिफारिसमा नै कारबाही भएको हो।

परिषदले सातै जनाको विवरणसहित बौद्धिक चोरीको आरोपमा कारबाहीमा परेको सूचना देशैभरका आंगिक क्याम्पस तथा विभागहरुमा पत्राचार गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस