सुदूरपश्चिम सभामा लोक सेवा आयोगसम्बन्धी विधेयक दोस्रो पटक संशोधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिम सभामा लोक सेवा आयोगसम्बन्धी विधेयक दोस्रो पटक संशोधन


प्रशासन संवाददाता

१२ चैत्र २०७७, बिहिबार


धनगढी । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग गठन, काम कर्तव्य तथा अधिकारसम्बन्धी विधेयकमा दोस्रो पटक संशोधन गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले नियुक्त गरेका प्रदेश लोक सेवा आयोगका पदाधिकारीलाई सपथ खुवाउन बिहीबारको प्रदेशसभा बैठकबाट ऐनमा संशोधन गरिएको हो। यसअघि पनि पदाधिकारीको नियुक्तिमा समानुपातिक र समावेशी शब्द छुटेका कारण यस ऐन संशोधन गरिएको थियो।

प्रदेश सरकारले लोक सेवा आयोग गठन गर्दै पदाधिकारी नियुक्ति गरेपछि सपथ खुवाउने प्रावधान ऐनमै नभएपछि संशोधन गरिएको हो।

आयोगमा पदाधिकारी नियुक्त भइसकेका कारण सपथ खुवाउन ऐन संशोधन गर्न छोटो प्रक्रिया अपनाइएको छ। बिहीबार नै प्रदेशसभा सचिवालयमा दर्ता भएको विधेयक ७२ घण्टापछि मात्रै छलफलमा आउने थियो। प्रदेशसभा नियमावलीको नियम ११० निलम्बन गर्दै संशोधन विधेयक पारित गरिएको छ।

प्रदेश सरकारले चैत ९ गते पूर्वप्रशासक यज्ञराज बोहरालाई आयोगको अध्यक्षमा नियुक्त गरेको थियो। बोहरा कैलालीमा प्रमुख जिल्ला अधिकारी थिए। कैलालीबाट गृह मन्त्रालयमा सरुवा भएका बोहरा लोक सेवा आयोगको अध्यक्ष हुने भएपछि अवकाश हुनु एक महिना अगाडि राजीनामा दिएका थिए।

बोहरासँगै पूर्वप्रशासक लक्ष्मण खड्का र शिक्षिका भागरथी राना थारु आयोगको सदस्यमा नियुक्त भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस